सन्दर्भ : विश्व योग दिवस
ब्रह्माकुमार माधव तिमिल्सेना
प्रस्तावना
चिकित्सा विज्ञान, पोषण, सरसफाइ तथा जनस्वास्थ्यमा भएको प्रगतिका कारण मानिसको औसत आयु उल्लेखनीय रुपमा बढेको छ । तर, दीर्घायु मात्र पर्याप्त छैन; स्वस्थ, सक्रिय, आत्मनिर्भर र सम्मानजनक जीवनयापन अझ महत्वपूर्ण विषय बनेको छ ।
संयुक्त राष्ट्रसंघको World Population Ageing Report (२०२३) अनुसार सन् २०५० सम्म विश्वमा ६० वर्ष वा सोभन्दा माथिका व्यक्तिहरुको सङ्ख्या २.१ अर्ब पुग्ने अनुमान गरिएको छ । यसले स्वस्थ वृद्धावस्थालाई विश्वव्यापी प्राथमिकताको विषय बनाएको छ ।
यसै सन्दर्भमा विश्व स्वास्थ्य सङ्गठनले सन् २०२१–२०३० लाई ‘स्वस्थ वृद्धावस्थाको दशक’ घोषणा गर्दै शारीरिक, मानसिक, सामाजिक तथा भावनात्मक क्षमता कायम राख्न जोड दिएको छ । ध्ज्इ ले प्रतिपादन गरेका स्वस्थ वृद्धावस्थाका लक्ष्यहरु प्राप्त गर्न योग र राजयोगले महत्वपूर्ण योगदान पु¥याउन सक्छन् । यही सान्दर्भिकतामा अन्तर्राष्ट्रिय योग दिवस २०२६ को मूल विषय Yoga for Healthy Ageing तय गरिएको छ ।
योग केवल शारीरिक व्यायाम नभई शरीर, मन र आत्माबीच सन्तुलन स्थापित गर्ने समग्र जीवनशैली हो । विशेषतः वृद्धावस्थामा देखिने शारीरिक समस्या, मानसिक तनाव, सामाजिक एक्लोपन तथा जीवनप्रतिको निराशा कम गर्न योग र ध्यान प्रभावकारी माध्यमका रुपमा स्थापित हुँदै गएका छन् । ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालयद्वारा प्रदान गरिने राजयोग ध्यानले आत्मचेतना, मानसिक शान्ति, आत्मसम्मान र आध्यात्मिक सन्तुष्टिको विकासमार्फत स्वस्थ वृद्धावस्थाका लागि महत्वपूर्ण आधार प्रदान गर्दछ ।
स्वस्थ वृद्धावस्थाको अवधारणा र समकालीन चुनौती
मानव जीवनलाई बाल्यावस्था, किशोरावस्था, युवावस्था, प्रौढावस्था र वृद्धावस्था गरी विभिन्न चरणमा विभाजन गरिन्छ । यीमध्ये वृद्धावस्था जीवनको अन्तिम तथा अत्यन्त संवेदनशील चरण हो । प्राचीन पूर्वीय दर्शनले वृद्धावस्थालाई ज्ञान, अनुभव र परिपक्वताको कालखण्ड मानेको छ भने आधुनिक समाजमा यसलाई प्रायः निर्भरता, रोग तथा कमजोर स्वास्थ्यसँग जोडेर हेर्ने प्रवृत्ति पाइन्छ ।
तर वृद्धावस्था आफैँमा समस्या होइन; समस्या भनेको अस्वस्थ वृद्धावस्था हो । यदि व्यक्तिले शारीरिक, मानसिक, सामाजिक र आध्यात्मिक सन्तुलन कायम राख्न सकेमा वृद्धावस्था पनि सक्रिय, रचनात्मक र आनन्दमय हुन सक्छ भन्ने विभिन्न घटनाले देखाएको छ । यही अवधारणालाई आधुनिक स्वास्थ्य विज्ञानले Healthy Ageing अर्थात् स्वस्थ वृद्धावस्था नाम दिएको हो । वर्तमान समयमा आयुलाई स्वस्थ, सक्रिय, आत्मनिर्भर, मानसिक रुपमा सन्तुलित र सन्तुष्ट बनाउनु नै वर्मान समयको वास्तविक चुनौती हो ।
विश्व स्वास्थ्य सङ्गठनले स्वस्थ वृद्धावस्थालाई व्यक्तिको कार्यक्षमता, आत्मनिर्भरता र जीवनको गुणस्तरलाई अधिकतम रुपमा कायम राख्ने प्रक्रियाका रुपमा परिभाषित गरेको छ । यस अवधारणाले रोगको अनुपस्थितिलाई मात्र होइन, व्यक्तिको शारीरिक क्षमता, मानसिक सुदृढता, सामाजिक सम्बन्ध, भावनात्मक सन्तुलन तथा आध्यात्मिक सन्तुष्टिलाई समेत समेट्छ ।
यस दृष्टिकोणबाट हेर्दा स्वस्थ वृद्धावस्था प्राप्त गर्न औषधि र अस्पताल मात्र पर्याप्त हुँदैनन्; स्वस्थ जीवनशैली, सकारात्मक सोच, नियमित शारीरिक गतिविधि, सामाजिक सहभागिता तथा आन्तरिक शान्तिको आवश्यकता पर्दछ । योगले यिनै सम्पूर्ण पक्षहरुलाई एकीकृत रुपमा सम्बोधन गरिरहेकोले आजको विज्ञान प्रविधि तथा प्रचुर भौतिक उन्नति प्रगतिको यस कालखण्डका समेत विश्वव्यापी रुपमा यसको महङ्खव बढ्दै गएको अवस्था छ ।
योगको दार्शनिक र वैज्ञानिक आधार
योगको इतिहास हजारौँ वर्ष पुरानो छ । भगवद्गीता, वेद, उपनिषद् तथा पतञ्जलिको योग सूत्रमा योगका विभिन्न पक्षहरुको विस्तृत वर्णन पाइन्छ । ‘योग’ शब्द संस्कृत धातु ‘युज्’ बाट बनेको हो, जसको अर्थ जोड्नु, मिलाउनु वा एकीकरण गर्नु हो । तर, आधुनिक समयमा योगलाई प्रायः आसन र व्यायामसम्म सीमित गरिँदा यसको व्यापकतामा सङ्कुचन आएको पाइन्छ ।
योगमा यम, नियम, आसन, प्राणायाम, प्रत्याहार, धारणा, ध्यान र समाधि गरी अष्टाङ्गिक अभ्यास समावेश छन् । यी सम्पूर्ण आयामहरुले व्यक्तिको जीवनलाई सन्तुलित बनाउने कार्यमा समन्वयकारी भूमिका निर्वाह गर्दछन् ।
पतञ्जलिले योगलाई ‘योगश्चित्तवृत्ति निरोधः’ भनी परिभाषित गरेको छ । यसको अर्थ मनका चञ्चल वृत्तिहरुको नियन्त्रण हो । आधुनिक विज्ञानले पनि योगलाई केवल शारीरिक व्यायामको रुपमा नभई न्यूरोफिजियो लोजिकल, मनोवैज्ञानिक तथा व्यवहारिक परिवर्तन ल्याउने समग्र प्रणालीका रुपमा स्वीकार गर्न थालेको छ । अनुसन्धानहरुले देखाएका छन् कि नियमित योग अभ्यासले स्नायु प्रणालीमा सकारात्मक प्रभाव पार्दछ ।
विशेषतः स्वायत्त स्नायु प्रणाली Autonomic Nervous System मा सन्तुलन कायम राख्न योग प्रभावकारी साधन मानिन्छ । योग तथा ध्यानले “Parasympathetic Nervous System” लाई सक्रिय बनाउँदै शरीरलाई विश्रामको अवस्थामा पु¥याउँछ । यसले मुटुको धड्कन नियन्त्रण गर्ने, रक्तचाप घटाउने, तनाव कम गर्ने तथा निद्राको गुणस्तर सुधार गर्ने कार्य गरेको कुरा अनुसन्धानबाट खुल्न आएको छ ।
मस्तिष्कसम्बन्धी अध्ययनहरुले ध्यान अभ्यासले मस्तिष्कका स्मरणशक्ति, भावनात्मक नियन्त्रण तथा निर्णय क्षमतासँग सम्बन्धित क्षेत्रहरुमा सकारात्मक परिवर्तन ल्याउने देखाएका छन् । त्यसैले वृद्धावस्थामा स्मरणशक्ति क्षय तथा मानसिक अशान्ति कम गर्न योग एक उपयोगी साधनका रुपमा स्थापित भएको छ ।
स्वस्थ वृद्धावस्थामा राजयोगको योगदान
वृद्धावस्थामा शरीरमा मांसपेशी कमजोर हुने, हड्डीको घनत्व घट्ने, रक्तसञ्चार तथा प्रतिरक्षा प्रणालीको क्षमता कम हुने जस्ता स्वाभाविक परिवर्तनहरु देखा पर्छन्, जसले उच्च रक्तचाप, मधुमेह, मुटुरोग तथा अन्य दीर्घकालीन रोगहरुको जोखिम बढाउँछन् । यस्ता अवस्थामा योग र ध्यानले शारीरिक तथा मानसिक स्वास्थ्य संरक्षणमा महत्वपूर्ण भूमिका खेल्न सक्छन् ।
ब्रह्माकुमारीजद्वारा प्रवद्र्धित राजयोग ध्यानसम्बन्धी विभिन्न अध्ययनहरुले नियमित अभ्यासले मानसिक तनाव, चिन्ता तथा अवसाद कम गर्न, रक्तचाप नियन्त्रण गर्न, भावनात्मक स्थिरता, सकारात्मक सोच र आत्मसम्मान अभिवृद्धि गर्न सहयोग पु¥याउने संकेत गरेका छन् । न्यूरोसाइन्स सम्बन्धी अनुसन्धानहरुले ध्यान अभ्यासले स्मरणशक्ति, ध्यान क्षमता तथा भावनात्मक नियन्त्रणसँग सम्बन्धित मस्तिष्कीय कार्यमा सकारात्मक प्रभाव पार्न सक्ने देखाएका छन् ।
राजयोगको मूल दर्शन आत्मचेतना र परमात्म सम्बन्धमा आधारित छ । यस अभ्यासमा व्यक्ति आफूलाई शान्त, पवित्र र शक्तिशाली आत्माका रुपमा अनुभव गर्दै परमात्मासँग मानसिक सम्बन्ध स्थापित गर्ने प्रयास गर्दछ । कठिन शारीरिक आसन वा श्वास नियन्त्रण आवश्यक नपर्ने यो ध्यान पद्धतिले वृद्धावस्थामा देखिने एक्लोपन, निराशा र असुरक्षाको भावनालाई कम गरी आत्मविश्वास, आशा र आन्तरिक सन्तुष्टि बढाउन सहयोग पु¥याउन सक्छ । यद्यपि राजयोगका दीर्घकालीन प्रभावबारे थप वैज्ञानिक अनुसन्धान आवश्यक रहेको तथ्यलाई पनि स्वीकार गर्नुपर्छ ।
आध्यात्मिक स्वास्थ्य र वृद्धावस्था
वृद्धावस्थामा धेरै व्यक्तिहरु एक्लोपन, चिन्ता, निराशा तथा अवसादबाट प्रभावित हुने गर्छन् । परिवार संरचनामा आएको परिवर्तन, सामाजिक भूमिकाको कमी र आर्थिक असुरक्षाले मानसिक तनाव बढाउन सक्छ । साथै यस चरणमा जीवनको उद्देश्य, अस्तित्वको अर्थ, मृत्युको वास्तविकता तथा आत्मिक सन्तुष्टि सम्बन्धी प्रश्नहरु पनि महत्वपूर्ण बन्न थाल्छन् ।
आधुनिक चिकित्सा विज्ञानले आध्यात्मिक सन्तुष्टि र मानसिक स्वास्थ्यबिच घनिष्ठ सम्बन्ध रहेको स्वीकार गरेको छ । विभिन्न अनुसन्धानले आध्यात्मिक चेतना, सकारात्मक दृष्टिकोण, आशा तथा आत्मस्वीकृतिले जीवनको गुणस्तर अभिवृद्धि गर्ने देखाएका छन् । आध्यात्मिकता कुनै धार्मिक अनुष्ठानमा मात्र सीमित नभई जीवनको अर्थ, आत्मपहिचान, मूल्य प्रणाली तथा आन्तरिक शान्तिको खोजहरुसँग सम्बन्धित छ ।
यस सन्दर्भमा राजयोग ध्यान विशेष महङ्खवपूर्ण देखिन्छ । राजयोगले व्यक्तिलाई आफूलाई शरीरभन्दा भिन्न शान्त, पवित्र र चेतनशील आत्माका रुपमा अनुभूति गर्न तथा मन, बुद्धि र संस्कारबिच सन्तुलन स्थापित गर्न प्रेरित गर्दछ । आत्माका गुणहरुलाई आत्मसात् गर्दै शान्ति, प्रेम, आनन्द र शक्तिका स्रोत परमात्मा शिवको स्मरण गर्नु राजयोगको मूल अभ्यास हो । ब्रह्माकुमारीज दर्शनअनुसार यस आध्यात्मिक सम्बन्धले व्यक्तिमा आन्तरिक शक्ति, मानसिक शान्ति र आत्मिक सन्तुष्टि विकास गर्न सहयोग पु¥याउँछ, जुन स्वस्थ वृद्धावस्थाका लागि महत्वपूर्ण आधार मानिन्छ ।
नेपालमा स्वस्थ वृद्धावस्थाको चुनौती र अवसर
राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालको कुल जनसङ्ख्या दुई करोड ९१ लाख ६४ हजार ५७८ रहेको छ । यसमध्ये ६० वर्ष वा सोभन्दा माथिका ज्येष्ठ नागरिकहरुको सङ्ख्या करिब २९ लाख ७७ हजार पुगेको छ, जुन कुल जनसङ्ख्याको १०.२१ प्रतिशत हो । यसले नेपाल पनि तीव्र रुपमा वृद्ध समाजतर्फ उन्मुख भइरहेको सङ्केत गर्दछ ।
आयु वृद्धि, प्रजनन दरमा कमी तथा जनसाङ्ख्यिकीय संरचनामा आएको परिवर्तनका कारण आगामी दशकहरुमा ज्येष्ठ नागरिकहरुको अनुपात अझ बढ्ने अपेक्षा गरिएको छ । यस्तो अवस्थामा स्वस्थ, सक्रिय र सम्मानजनक वृद्धावस्था सुनिश्चित गर्न योग, ध्यान तथा मानसिक स्वास्थ्य प्रवद्र्धनका कार्यक्रमहरुको महत्व झन् बढ्दै गएको छ ।
वैदेशिक रोजगार, सहरीकरण, संयुक्त परिवार प्रणालीको क्रमिक विघटन तथा सामाजिक संरचनामा आएको परिवर्तनका कारण धेरै ज्येष्ठ नागरिकहरु एक्लोपन, भावनात्मक असुरक्षा तथा सामाजिक तिरस्कारको अनुभव गरिरहेका छन् । विशेष गरी ग्रामीण क्षेत्रबाट युवाशक्ति बाहिरिनु तथा परिवारका सदस्यहरु विदेश वा शहर केन्द्रित हुनुले वृद्धजनको मानसिक स्वास्थ्यमा प्रतिकूल प्रभाव पारेको देखिन्छ । यस्तो परिस्थितिमा योग तथा राजयोगजस्ता कम खर्चिला, सहज र समुदायमै अभ्यास गर्न सकिने उपायहरुले स्वस्थ वृद्धावस्थाको प्रवर्धनमा महङ्खवपूर्ण भूमिका खेल्न सक्छन् । नेपालको सांस्कृतिक तथा आध्यात्मिक परिवेशले पनि योग र ध्यान अभ्यासलाई सहज रुपमा स्वीकार गर्ने आधार प्रदान गरेको छ ।
निष्कर्ष
स्वस्थ वृद्धावस्था २१औँ शताब्दीको प्रमुख सामाजिक तथा स्वास्थ्यसम्बन्धी चुनौतीमध्ये एक हो । स्वस्थ वृद्धावस्था प्राप्त गर्न केवल चिकित्सा उपचार पर्याप्त हुँदैन । स्वस्थ वृद्धावस्था केवल दीर्घायु प्राप्त गर्नु मात्र होइन, शारीरिक स्वास्थ्य, मानसिक सन्तुलन, सामाजिक सहभागिता तथा आध्यात्मिक सन्तुष्टिसहित जीवनको गुणस्तर कायम राख्ने समग्र प्रक्रिया हो ।
विश्वव्यापी रुपमा बढ्दो वृद्धजन जनसङ्ख्या तथा बदलिँदो सामाजिक परिवेशका कारण स्वस्थ, सम्मानित र सक्रिय वृद्धावस्था सुनिश्चित गर्नु आजको महङ्खवपूर्ण आवश्यकता बनेको छ । योगले शारीरिक स्वास्थ्य, मानसिक शान्ति र भावनात्मक सन्तुलन अभिवृद्धि गर्न योगदान पु¥याउँछ भने राजयोगले आत्मचेतना, सकारात्मक सोच, आत्मसम्मान तथा परमात्मासँगको आध्यात्मिक सम्बन्धमार्फत् व्यक्तिलाई आन्तरिक शक्ति र सन्तुष्टि प्रदान गर्दछ ।
विशेषतः ब्रह्माकुमारीद्वारा प्रवद्र्धित राजयोग ध्यानले वृद्धावस्थालाई निर्बलता वा निराशाको चरणका रुपमा नभई आत्मिक उन्नति, अनुभवको परिपक्वता र आन्तरिक आनन्द प्राप्त गर्ने अवसरका रुपमा हेर्न प्रेरित गर्दछ । यसर्थ, विश्व योग दिवस २०२६ को “Yoga for Healthy Ageing” विषयवस्तुले योग र राजयोगको समन्वित अभ्यासमार्फत् स्वस्थ, सम्मानित, सक्रिय र आनन्दमय वृद्धावस्थातर्फ अग्रसर हुन विश्व समुदायलाई महङ्खवपूर्ण सन्देश प्रदान गर्दछ । ओम् शान्ति ।
सन्दर्भ सामग्री
1.World Health Organization (2020). Decade of Healthy Ageing (2021-2030).
2.World Health Organization (2024) Healthy Ageing Framework.
3.United Nations (2023) World Population Ageing Report.
4.Patanjali. Yoga Sutra.
5.Bhagavad Gita.
6.Government of Nepal, National Statistics Office. National Population Census (2021).
7.Brahma Kumaris World Spiritual University. Raj yoga Meditation Course Materials.
8.International Journal of Yoga.
9.Journal of Aging and Health.
10.Harvard Medical School. Meditation and Healthy Ageing Studies.
लेखक ब्रह्माकुमारीज मधुवन आध्यात्मिक पुनर्जागरण केन्द्र, दाङका प्रवक्ता हुन् ।