दाङ,३१ जेठ । विद्यालयस्तरबाट फुटबल खेलको विकाससँगै युवा खेलाडीको पहिचान गर्ने उद्देश्यले दाङमा जिल्लास्तरीय अन्तर विद्यालय कप फुटबल प्रतियोगिता–२०८३ हुने भएको छ ।
हापुर युथ क्लबको आयोजना तथा दाङ जिल्ला फुटबल रेफ्री संघको प्राविधिक सहयोगमा घोेराही उपमहानगरपालिका–१२ हापुर बिजौरी खेल मैदानमा हुने प्रतियोगितामा कक्षा ८ सम्मका अध्ययनरत विद्यार्थी सहभागी हुन पाउनेछन् । जिल्लाभरका विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थी सहभागी हुन पाउने प्रतियोगिताका पहिलो चरणका खेलहरु घोराही, हापुर, नारायणपुर र तुलसीपुर क्षेत्रमा सञ्चालन हुने भएका छन् ।
प्रतियोगिताअन्तर्गत घोराही क्षेत्रका खेलहरू असार ९ गतेदेखि घोराहीमा, हापुर नारायणपुर क्षेत्रका खेलहरू असार १५ गतेदेखि हापुर बिजौरी खेलमैदानमा र तुलसीपुर क्षेत्रका खेलहरू घोराही र हापुरमा खेल सकिएपछि खेलाइने आयोजक हाफु युथ क्ल्वका अध्यक्ष बिनोद विकले जानकारी दिएका छन् । उनका अनुसार क्षेत्रगत चरणबाट छनोट भएका टोलीहरूबीच अन्तिम प्रतिस्पर्धा गराई जिल्लास्तरीय च्याम्पियनको टुंगो लगाइनेछ ।
प्रतियोगिताको विजेताले ५५ हजार ५ सय ५५ नगदसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले २५ हजार ५ सय ५५ नगदसहित कप, मेडल र प्रमाणपत्र पाउनेछ । उत्कृष्ट खेलाडीलाई विधागत रुपमा विशेष पुरस्कार प्रदान गरिने आयोजक हापुर युथ क्ल्वले जनाएको छ ।प्रतियोगितामा सहभागी हुन चाहने विद्यालयले असार ८ गतेसम्म टिम दर्ता गरिसक्नुपर्नेछ भने टोली दर्ता शुल्क ४ हजार ५ सय निर्धारण गरिएको छ ।
आयोजक हापुर युथ क्लवका अनुसार प्रतियोगिताले विद्यालय तहका प्रतिभावान खेलाडीको पहिचान, फुटबलप्रति आकर्षण वृद्धि तथा जिल्लाको खेलकुद विकासमा टेवा पुग्ने अपेक्षा गरिएको छ।