दाङमा रासायनिक मल अभाव, मलका लागि रातभर लाइनमा

लीलाधर वली÷नुमाकान्त पौडेल

दाङ, ३० जेठ । वर्षे धान खेतीको तयारीमा रहेका दाङका किसान रासायनिक मलको अभावले समस्यामा परेका छन् । धान खेतीसँगै ब्याड राख्न र मकै बालीमा मल राख्ने समय भइसक्दासमेत पर्याप्त मल पाउन नसकेको किसानको गुनासो छ ।

वर्षे खेतीका लागि धानको व्याड राखेर रोप्ने तयारीमा जुट्नु भएका घोराही उपमहानगरपालिका–१ पन्त टोल निवासी नवराज पन्तले मल पाउन नसकेको बताउँछन् । हिउँदे खेतीका लागि लगेर बचेको मल प्रयोग गरेर धानको ब्याड राखे पनि धान रोप्नका लागि आवश्यक पर्ने मल नहुँदा बिहान दुई बजेदेखि घोराही–२ रामपुरमा रहेको जैविक विविधता कृषि सहकारी संस्थाको कार्यालयमा लाइनमा बसेको बताए । ‘बिहिबार सहकारी संस्थामा मल आएको रहेछ, मल आज बाँड्ने भएकाले बिहान ४ बजेदेखि नै लाइनमा बसेका छौँ’, किसान पन्तले भने, ‘ढिलो आउँदा मल नपाइने हो कि भनेर बिहानै आएर गेटमा बसेका छौँ ।’ पन्तले मकैसँगै धान खेतीका लागि १८ बोरा मल चाहिने भए तापनि अहिलेसम्म मल नपाएको बताए ।

पन्त जस्तै घोराही–२ निमुरिया निवासी किसान गोबर्धन गिरी रामपुरमै रहेको साना किसान कृषि सहकारी संस्थाको कार्यालयमा दुई बोरा युरिया मलका लागि बिहिबार राति ११ः०० बजेदेखि नै लाइनमा बसेको बताउँछन् । मल पाउने आशमा गाउँका किसान साँझै सहकारीको कार्यालयमा बस्न आएपछि आपूm पनि सँगै आएको बताए । ‘धान खेतीका लागि मल नभएर हुँदैन, ढिला गरे पछि झन मल के हुने हो थाहा छैन’, उनले भने, ‘अहिले सहकारीमा मल आएकाले राति ११ः०० बजे नै आएर लाइनमा बसेका छौँ ।’

कृषि सामग्री कम्पनीले थोरै मल दिने र मल वितरण गर्दागर्दै सकिने भए तापनि किसान धेरै मल पाउने आशाले रातभरि नै लाइनमा आएर बसेको साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष गुरुप्रसाद खनाल बताउँछन् । उनका अनुसार सहकारीले किसानलाई आधा बोराका दरले युरिया मल वितरण गरेको छ । मल थेरै आउँदा किसानलाई बाँड्नै समस्या हुने गरेको भन्दै अध्यक्ष खनाल भन्छन्, ‘कृषि सामग्री कम्पनीले किसानको माग अनुसार मल दिँदैन, कोटा अनुसार एक पटकमा सय बोरा बराबरको मल दिन्छ । त्यो मलले किसानलाई पुग्दैन ।’

कृषि ज्ञान केन्द्र दाङका अनुसार जिल्लाको ६५ हजार नौ सय ८० हेक्टर खेतीयोग्य जमिनमध्ये करिब ३९ हजार हेक्टरमा धान खेती हुने गर्दछ । त्यसका लागि युरिया, डिएपी र पोटास गरी ३२ हजार आठ सय २१ मेट्रिकटन रासायनिक मल आवश्यक पर्छ । कृषि सामग्री कम्पनी लिमिटेड घोराही शाखाका प्रमुख डेबिट हमालका अनुसार हालसम्म घोराहीबाट युरिया एक हजार आठ सय ९८ दशमलव ९० मेट्रिकटन, डिएपी एक हजार एक सय ९८ दशमलव ५० मेट्रिकटन र पोटास एक सय छ दशमलव १५ मेट्रिकटन बिक्री भएको छ । यसैगरी कार्यालयको गोदाममा युरिया आठ सय ५६ दशमलव ८० मेट्रिकटन, डिएपी सात सय पाँच दशमलव ८५ मेट्रिक टन र पोटास ८९ मेट्रिकटन मौजदात छ ।

कृषि सामग्री कम्पनी तुलसीपुर शाखामा भने दाङका लागि रासायनिक मल मौजदात नरहेको जनाएको छ । शाखा प्रमुख लीलाधर वलीका अनुसार तुलसीपुर शाखाबाट युरिया दुई हजार नौ सय ९५ दशमलव ५९ मेट्रिकटन, डिएपी एक हजार नौ सय २१ दशमलव चार सय मेट्रिकटन र पोटास ४७ दशमलव शून्य पाँच मेट्रिकटन बिक्री भएको छ । दाङसहित सल्यान जिल्लासमेत हेर्दै आएको शाखामा सल्यानका लागि युरिया एक सय २२ दशमलव तीन सय, डिएपी दुई सय एक दशमलव ९५० मेट्रिक टन र पोटास ५९ दशमलव ०५० मेट्रिकटन रहेको छ ।

यसैगरी कृषि सामग्री कम्पनी लमही शाखाले युरिया तीन सय मेट्रिक टन, डिएपी ४३ मेट्रिकटन र पोटास २६ दशमलव छ मेट्रिकटन मल सहकारीमार्फत् किसानलाई वितरण गरेको छ । कार्यालयको गोदाममा भएको मल बिक्री गरिरहेको जनाएको छ । साल्ट टे«डिङ कर्पाेरेसन लिमिटेड घोराही शाखा प्रमुख रामबाबुप्रसाद गुप्ताका अनुसार कम्पनीले किसानलाई दुई हजार दुई सय ६९ दशमलव १० मेट्रिकटन, डिएपी दुई हजार तीन सय ४८ दशमलव शून्य पाँच मेट्रिकटन र पोटास दुई सय ४० मेट्रिकटन वितरण गरेको छ ।

कार्यालयको गोदाममा युरिया एक सय ५८ दशमलव ६५ मेटिकटन, डिएपी ९४ दशमलव १० मेट्रिकटन र पोटास ५४ दशमलव ९० मेट्रिकटन मौजात रहेको छ । कार्यालय प्रमुखका अनुसार गतपुस महिनादेखि दाङमा रासायनिक मलको नियमित आपूर्ति हुन नसक्दा धान खेतीका लागि मलको समस्या देखिएको छ ।