तुफानबाबु श्रेष्ठ
हाम्रो जीवनमा सफलता र असफलताको रेखा कसले कोर्छ रु के यो केवल भाग्यको खेल हो वा हाम्रा परिस्थितिहरूको उपज रु वास्तवमा, सफलता न त भाग्यको उपहार हो, न त अनुकूल परिस्थितिको मात्र परिणाम । यो त नितान्त हाम्रो ‘नजरिया’ अर्थात् दृष्टिकोणको प्रतिफल हो । एउटै घटना कसैका लागि हारको कारण बन्छ भने त्यही घटना कसैका लागि इतिहास रच्ने आधार बन्छ । यसै सन्दर्भमा, जुत्ता कम्पनीका दुई सेल्सम्यानको एउटा निकै घतलाग्दो र सान्दर्भिक कथा छ, जसले हाम्रो सोच्ने तरिका बदल्न मद्दत गर्छ ।
धेरै समय पहिलेको कुरा हो, एउटा नाम चलेको जुत्ता निर्माण गर्ने कम्पनीले आफ्नो बजार विस्तार गर्ने सोच बनायो । नयाँ सम्भावनाको खोजी गर्ने क्रममा कम्पनीले दुई दक्ष सेल्सम्यानलाई एउटा टाढाको टापुमा पठायो । उनीहरूको काम थियो– त्यहाँको बजारको अध्ययन गर्ने र कम्पनीलाई रिपोर्ट पठाउने ।
पहिलो सेल्सम्यान टापुमा उत्रने वित्तिकै अचम्ममा प¥र्यो । उसले देख्यो कि त्यहाँका मानिस त खाली खुट्टा हिँड्छन् । त्यहाँ कसैले पनि जुत्ता लगाएका थिएनन् । उसले तत्कालै निराश हुँदै कम्पनीलाई एउटा टेलिग्राम पठायो– ‘यहाँ व्यापारको कुनै सम्भावना छैन । यहाँ कोही पनि जुत्ता लगाउँदैनन्, त्यसैले यहाँ जुत्ता बेच्न असम्भव छ । म भोलि नै फर्कँदैछु ।’
केही समयपछि दोस्रो सेल्सम्यान पनि त्यही टापुमा पुग्यो । उसले पनि त्यही दृश्य देख्यो– मानिसहरू खाली खुट्टा हिँडिरहेका थिए । तर, उसको प्रतिक्रिया पहिलो सेल्सम्यानको भन्दा विल्कुलै फरक र उत्साहजनक थियो । उसले तुरुन्तै कम्पनीलाई एउटा सन्देश पठायो– ‘यहाँ त अचम्मको अवसर छ १ यहाँ अहिलेसम्म कसैले पनि जुत्ता लगाएका छैनन् । हामीले यहाँका मानिसहरूलाई जुत्ता लगाउन सिकाउन सक्यौँ भने पुरै टापु हाम्रो सबैभन्दा ठूलो बजार बन्नेछ । कृपया, छिटोभन्दा छिटो जुत्ताको ठूलो खेप पठाउनुहोस् १’ एउटै परिस्थिति, एउटै टापु र उस्तै मानिसहरू– तर दुई व्यक्तिको बुझाइमा आकाश–जमिनको फरक थियो । पहिलो सेल्सम्यानले ‘समस्या’ देख्यो र प्रयास नै नगरी हार स्वीकार ग¥यो तर दोस्रो सेल्सम्यानले त्यही अभावभित्र एउटा विशाल ‘अवसर’ देख्यो ।
यो कथाले हाम्रो वास्तविक जीवनको ऐना देखाउँछ । हामीमध्ये धेरैजसो मानिसहरू पहिलो सेल्सम्यान जस्तै हुन्छौँ । जब हामी नयाँ काम सुरु गर्छौँ वा कुनै कठिन परिस्थितिमा फस्छौँ, तब हामीलाई लाग्छ कि यहाँ केही हुन सक्दैन । हामी अभावलाई असफलताको आधार मान्छौँ । तर, इतिहास साक्षी छ– संसारका ठूला आविष्कार र व्यापारिक साम्राज्यहरू त्यहीँ खडा भएका छन् जहाँ मानिसहरूले अभाव र समस्या देखेका थिए ।
जसरी एउटा चित्रकारले खाली क्यानभासमा एउटा सुन्दर चित्र देख्छ, त्यसरी नै एक सकारात्मक व्यक्तिले शून्यतामा पनि सम्भावना देख्छ । हाम्रो नजरियाले नै हाम्रो संसार निर्माण गर्छ । यदि हामीले समस्या मात्र देख्यौँ भने हाम्रो दिमागले बहाना खोज्न थाल्छ । तर, यदि हामीले अवसर खोज्न थाल्यौँ भने हाम्रो दिमागले समाधानका उपायहरू निकाल्न थाल्छ ।
अन्त्यमा, परिस्थितिलाई बदल्न सधैँ हाम्रो हातमा नहुन सक्छ, तर त्यो परिस्थितिलाई हेर्ने आफ्नो दृष्टिकोण बदल्ने शक्ति हामी सबैमा हुन्छ । टापुका ती मानिसहरूका लागि जुत्ता एउटा नयाँ आवश्यकता थियो, जसलाई दोस्रो सेल्सम्यानले चिन्न सक्यो । त्यसैले, जीवनमा जब अवरोधहरू आउँछन्, तब नआत्तिनुहोस् । याद राख्नुहोस्, जहाँ अभाव छ, त्यहीँ नयाँ आविष्कारको सम्भावना लुकेको हुन्छ । तपाईँको नजरिया नै तपाईँको सफलताको मुख्य साँचो हो ।
रेडियो कार्यक्रम शान्त तलाउका प्रस्तोता