दिगो वन व्यवस्थापन कार्यक्रम, दाङमा पाँच लाख क्युफिट काठ कटान अनुमति

लीलाधर वली
दाङ, २९ जेठ । दाङमा चालु आर्थिक वर्षमा करिब पाँच लाख क्युफिट काठ कटान हुने भएको छ । वन संवर्धन प्रणालीमा आधारित दिगो वन व्यवस्थापन कार्यक्रम अन्तर्गत जिल्लाका एक सय १२ वटा सामुदायिक वनबाट चार लाख ९० हजार छ सय ४७ दशमलव १८ क्युफिट काठ कटान गर्न थालेको हो ।

डिभिजन वन कार्यालय घोराही अन्तर्गत ४८ वटा सामुदायिक वनबाट एक लाख ९० हजार छ सय ४७ दशमलव २१ क्युफिट र डिभिजन वन कार्यालय देउखुरी अन्तर्गत ६४ वटा सामुदायिक वन उपभोक्ता समूहबाट तीन लाख क्युफिट काठ कटान गरी सङ्कलन गर्न थालिएको छ ।

वन संवर्धन प्रणालीमा आधारित दिगो वन व्यवस्थापन कार्यक्रम अन्तर्गत डिभिजन वन कार्यालय घोराही अन्तर्गत ४८ वटा सामुदायिक वनबाट एक लाख ९० हजार छ सय ४७ क्युफिट काठ र चार सय ७२ दशमलव ५० चट्टा दाउरा कटानका लागि अनुमति लिएको डिभिजन वन कार्यालय घोराहीका सूचना अधिकारी भक्तबहादुर चौधरीले जानकारी दिएका छन् ।

सूचना अधिकारी चौधरीका अनुसार अनुमति लिएका वन समूहले हालसम्म ९३ हजार आठ सय नौ दशमलव तीन क्युफिट काठ र तीन सय ४० दशमलव ४० चट्टा दाउरा कटानसँगै सङ्कलन गरी घाटगद्दी गरेका छन् । डिभिजन वन कार्यालयले कटान आदेश जारी गरेका सामुदायिक वनमा पर्ने रुखलाई विभिन्न चरणमा अनुगमन गरी कटान गर्न योग्य र मापदण्ड पूरा भएका रुखलाई व्यवस्थापनका लागि कटान अनुमति दिने गरेको सूचना अधिकारी चौधरी बताउँछन् ।

कटानका लागि अनुमति प्राप्त वन समूहले जेठ मसान्तभित्र रुख कटान गरिसक्नु पर्ने प्रावधान अनुसार अधिकांश वन समूहले अहिले कटान गरेको काठ घाटगद्दी गर्ने काम गरिरहेका छन् । उनका अनुसार वनमा तयार भएका साल, साझ, जामुनलगायतका रुखलाई कटान आदेश दिइएको छ ।

वन संवर्धन प्रणालीमा आधारित दिगो वन व्यवस्थापन कार्यक्रम अन्तर्गत जङ्गलमा तयार भएका रुख व्यवस्थापन गर्ने उद्देश्यले कटान अनुमति दिने गरेको भन्दै सूचना अधिकारी चौधरीले भने, ‘वन समूहको कार्ययोजना अनुसार तयार भएका र साना रुखलाई बढ्न समस्या गर्ने रुख पहिचान गरी कटानका लागि आदेश दिने गरिएको छ ।’

यसैगरी डिभिजन वन कार्यालय देउखुरी अन्तर्गत ६४ वटा सामुदायिक वन समूहबाट तीन लाख क्युफिट काठ कटानका लागि अनुमति प्राप्त गरेको सूचना अधिकारी दीपकदहित बताउँछन् । उनका अनुसार कटान अनुमति दिएका वन क्षेत्रमा डिभिजन वन कार्यालयका कर्मचारीले विभिन्न चरणमा अनुगमन गरी तयार भएका कटान गर्न योग्य र मापदण्ड पूरा भएका रुखलाई मात्रै कटानका लागि अनुमति दिने गरेको छ । कटान आदेश अनुसार रुख टान भए÷नभएको समेत अनुगमन गर्ने गरिएको सूचना अधिकारी दहित बताउँछन् ।

गत वर्ष दाङमा डिभिजन वन कार्यालय घोराही अन्तर्गत २९ वटा सामुदायिक वनबाट एक लाख ७६ हजार क्युफिट र देउखुरी अन्तर्गत ५१ वटा वन समूहबाट दुई लाख ५० हजार क्युफिट काठ कटान गरी सङ्कलन गरिएको थियो । यसरी कटान गरिएको काठ बिक्री गरेर सङ्कलन हुने आम्दानीको २५ प्रतिशत रकम प्रदेश सञ्चितकोषमा जाने र बाँकी ७५ प्रतिशत वन समूहले वन संरक्षण तथा व्यवस्थापन कार्यमा खर्च गर्नु पर्ने व्यवस्था छ । कटान गरेको काठ वन समूहले ५० प्रतिशत वन समूह र बाँकी ५० प्रतिशत बाहिर बिक्री गर्न सक्ने व्यवस्था रहेको छ ।