दाङ,२७ जेठ । स्लो स्कुटी रेस प्रतियोगितामा लक्ष्मी गैरे प्रथम भएकी छिन् । दाङ महिला जेसीजले ‘जेसीज सप्ताह–२०२६’ अन्तर्गत पाँचौ दिन बुधबार घोराहीमा भएको स्लो स्कुटी रेस प्रतियोगितामा ५० मिटरको दुरी ५२ सेकेण्डमा पार गर्दै प्रथम भएकी हुन ।
१६ जना सहभागी भएको प्रतियोगितामा ५१ सेकेण्डमा दुरी पार गर्दै अनिता ढकाल दोस्रो र ४९ सेकेण्डमा दुरी पार गर्दै शितलना बुढा मगर तेस्रो भएकी हुन । प्रतियोगितामा प्रथम हुनेलाई शिल्डसहित हेलमेन्ट पुरस्कार प्रदान गरिएको थियो । सवारी दुर्घटना न्युनिकरण गर्ने उद्देश्यले जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङसँगको सहकार्यमा आयोजना गरिएको प्रतियोगिताका बिजेतालाई पुरस्कार प्रदान गर्दै जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक डा हेमबहादुर केसीले सवारी दुर्घटना न्यूनीकरणका लागि सचेतना आवश्यक रहेको बताए ।
प्रहरीले सञ्चालन गर्नुपर्ने सचेतनाको काम दाङ महिला जेसीजले गरेको भन्दै यस्ता कार्यक्रमका लागि आगामी दिनमा समेत सहकार्य हुने बताएका थिए । दाङ महिला जेसीज अध्यक्ष अर्चना शर्माको अध्यक्षता तथा र घोराही उपमहानगरपालिका–१५ का अध्यक्ष रमेश पाण्डे, त्रिभुवननगर जेसीज अध्यक्ष मिनराज भाटलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रम संयोजक पिया रोकाको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा जेसीज सप्ताहका बारेमा मुल संयोजक एवं कार्यकारिणी उपाध्यक्ष आराधना सिंह ठकुरीले जानकारी गराएकी थिइन । एजुकेशनल डाइरेक्टर आकृति शर्माले जेसीज आस्थापाठ गराएको कार्यक्रमको सहजीकरण कार्यकारिणी उपाध्यक्ष भीमा डिसीले गरेकी थिइन । सप्ताहव्यापी कार्यक्रमअन्तर्गत दाङ महिला जेसीजले छेठौ दिन विहीवार घोराही उपमहानगरपालिका–२ सुर्केडागीस्थीत सरयु रात्री प्राविमा अध्ययनरत बालबालिकालाई शैक्षिक सामग्री सहयोग गर्ने कार्यक्रम रहेको छ ।
उज्यालो भविष्यका लागि हातेमालो शैक्षिक सामाग्री सहयोग कार्यक्रम गर्न थालिएको हो । दाङ महिला जेसीजले जेठ २३ देखि ३० गतेसम्म विभिन्न सामाजिक तथा सचेतनामूलक कार्यक्रम गरी ‘जेसीज सप्ताह–२०२६’ मनाउन थालेको छ ।