नौमती बाजाको संरक्षणसँगै आम्दानी गर्दै महिला

लीलाधर वली
दाङ, २६ जेठ । घोराही उपमहानगरपालिका–१३ डुम्बरगाउँका महिलाले लोपोन्मुख नौमती बाजा संरक्षणसँगै आम्दानी गर्दै आएका छन् ।
युनिक नौमती बाजा संरक्षण संस्था दर्ता गरेर दमाह, झ्याली, ट्याम्को, ढोलक, सहनाई, कर्नाल, नरसिंगा बाजा बजाउँदै मौलिक संस्कृति जोगाउने अभियानमा जुटेका महिलाले बाजा बजाएर आम्दानीसमेत गर्दै आएका छन् ।

नौमती बाजा बजाएर परम्परागत कला सस्कृतिको संरक्षणसँगै आर्थिक रूपमा आम्दानीसमेत भइरहेको युनिक नौमती बाजा संरक्षण संस्थाकी अध्यक्ष दिलकुमारी घर्ती मगर बताउँछिन् । अध्यक्ष घर्ती मगरका अनुसार गाउँघरसँगै घोराहीका विभिन्न क्षेत्रमा हुने मेला, महोत्सव, धार्मिक कार्यक्रम, विवाह, ब्रतबन्धलगायतका शुभकार्यमा संस्थामार्फत् विगत चार वर्षदेखि नौमती तथा पञ्चे बाजा बजाउँदै आएका छन् ।

मोबाइलमा युट्युबमार्फत् महिलाहरूले नौमती बाजा बजाएको भिडियो देखेपछि आफूहरू पनि नौमती बाजा बजाउन आकर्षित भएको भन्दै अध्यक्ष घर्ती मगर भन्छिन्, ‘मोबाइलमा युटुवमार्फत् गीत हेर्ने क्रममा महिलाले पञ्चे बाजा बजाएको देखेको थिएँ । त्यसले आकर्षित गरेपछि गाउँमा सल्लाह गरेर प्रशिक्षक बोलाई बाजा बजाउन सिकेका हौँ ।’

बाजा बजाउन बाहिर हिँड्दा सुरुमा थोरै लाज लागे पनि अहिले नलाग्ने बताउँछिन् । विवाह तथा अन्य शुभकार्यमा बाजा बजाउन दाङका विभिन्न ठाउँसँगै रोल्पा र प्यूठानसम्म उनीहरू जाने गरेका छन् । मेला, महोत्सव, विवाहलगायतका कार्यमा बाजा बजाउन जाँदा २० देखि २५ हजार रुपैयाँ लिने गरे पनि सामाजिक कार्यसँग सम्बन्धित धार्मिक कार्यक्रमबाट भने तोकेर पैसा नलिने गरेको अध्यक्ष घर्तीको भनाइ छ ।

संस्थामा आबद्ध २६ जना महिलाले नौमती तथा पञ्चे बाजा बजाउनेदेखि नयाँ सिक्न चाहनेलाई तालिमसमेत दिने गरेको युनिक नौमती बाजा संरक्षण संस्थाकी सदस्य भीमसरा बोहरा बताउँछिन् । उनका अनुसार बाजा बजाएर प्राप्त भएको आम्दानीको १० प्रतिशत रकम संस्थाको कोषमा जम्मा गर्ने र बाँकी रकम कार्यक्रममा सहभागी सदस्यबिच बाँडफाँट गर्ने गरेका छन् ।

‘बिहे, पूजापाठलगायतका धार्मिक कार्य अनुसार आम्दानी हुने गरेको छ’, उनले भनिन्, ‘बाजा बजाएर घरव्यवहार चलाउने पैसा आउने गरेको छ ।’ संस्थाकी सदस्य खुमा रोकाका अनुसार सिजनमा महिनामा १५÷१६ हजार रुपैयाँ प्रत्येक सदस्यले आम्दानी गर्ने गरेका छन् । विवाहको सिजनमा एकै महिनामा चार लाख ५० हजारसम्म आम्दानी गरेको भन्दै सदस्य रोका भन्छिन्, ‘बिहेलगायत धार्मिक गतिविधि हुने समयमा एकै महिनामा चार लाख बढी पनि आम्दानी हुने गरेको छ तर यो सधैँभरि हुने आम्दानी होइन । समग्रमा महिनामा १५÷१६ हजार हुन्छ ।’

बाजा बजाउनेदेखि सिक्न चाहेका महिला दिदीबहिनीलाई तालिमदेखिसँगै डुमरगाउँमा पछिल्लो समय दमाह, ट्याम्को, ढोलकलगायतका बाजा बनाएर बिक्री गर्न थालेको बताउँछिन् । बाजा बजाउनेदेखि तालिम दिने र आवश्यक परेकालाई बाजा बिक्री गर्नका लागि बाजा बनाउन थालेपछि आफू जस्ता महिला दिदीबहिनीलाई १२ महिना काम गर्ने अवसर मिलेको बताउँछिन् ।

बाजा मर्मतसँगै नयाँ बाजा बनाउन तत्काल पुरुष कर्मचारी राखेको र बनाउन सिकेपछि आफैँ गर्ने तयारी रहेको सदस्य रोकाको भनाइ छ । यसरी काम गर्दा व्यक्तिगत रूपमा आम्दानीसँगै संस्थागत रूपमा १० लाख रुपैयाँ बढीको सम्पत्ति समेत जोडिसकेको अध्यक्ष घर्ती मगर बताउँछिन् । उनका अनुसार संस्थामा २६ जना महिला आवद्ध रहेका छन् ।