कराते खेलको विकास र खेलाडीको क्षमता अभिवृद्धिका लागिे प्रतियोगिता : अध्यक्ष बस्नेत[ अन्तर्वार्ता]

अनुशासित र स्वास्थ्य हुनका लागि खेलकुदको महत्वपूर्ण भूमिका छ । सरकारले पनि ‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नारा लिँदै आएको छ तर जहिले पनि सीमित बजेटका कारण पूर्वाधारको अभाव, खेलाडीहरूको उचित प्रशिक्षण र वृत्ति विकासमा प्रत्यक्ष असर परिरहेको छ । चालु आर्थिक नेपाल सरकारले आगामी आर्थिक वर्षका लागि खेलकुद क्षेत्रमा चार अर्ब बढी बजेट विनियोजन गरेको छ । बजेट कम हुनुका प्रमुख कारण प्राथमिकताको अभाव, राष्ट्रिय प्राथमिकतामा शिक्षा र स्वास्थ्य जस्ता क्षेत्र पर्ने भएकाले खेलकुद सधैँ ओझेलमा पर्ने गरेको छ । निजी क्षेत्रले खेलकुदमा व्यावसायिक लगानी गर्न आकर्षित हुन सकिरहेको छैन ।
खेलकुदले नै राष्ट्रलाई अन्तराष्ट्रिय क्षेत्रमा चिनाउने गर्छ । विभिन्न जिल्लामा विभिन्न विधाका खेलाडी छन् तर तीनको लागि आवश्यक प्रशिक्षणका लागि पूर्वाधार र अन्य सेवासुविधा अन्य राष्ट्र सरह नेपालमा हुन सकेका छैन । विकास भनेको बाटो पुलपुलेसा भौतिक निर्माण मात्र हो भन्ने बुझ्नाले पनि खेलकुललगायत अन्य मानवीय विकासमा बजेटले प्राथमिकता पाउदैन । त्यसमा पनि प्रत्यक्ष स्वास्थ्यसँग जोडिएको खेल क्षेत्रमा लगानी लगाउनु पर्ने हुन्छ । खेलकुद अन्तर्गत कराँते मार्सलआर्ट विधामा पर्ने एउटा खेल हो । यो आत्मरक्षाका लागि पनि खेलिन्छ । सुरुवातमा आत्मरक्षाबाट सुरु भएको यो कलाले विस्तारै खेलको रूप लिएको हो । अहिले यो खेल ओलम्पिकमा पनि समावेश भएको छ । त्यसकारण यसलाई राष्ट्रको प्रतिष्ठासँग जोडिएको खेल भनिन्छ ।
पहिलो पटक दाङको तुलसीपुरमा नेपाल कँराते महासंघ लुम्बिनी प्रदेशले प्रथम अन्तर्राष्ट्रिय स्कुलस्तरीय लुम्बिनी प्रदेश कप कराँते प्रतियोगिता २०८३ को आयोजना गर्न लागेको छ । यसै सन्दर्भमा नेपाल कँराते महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष पदमबहादुर बस्नेतसँग प्रतियोगिताको तयारी तथा खेलक्षेत्रका विषयमा गोरक्षकर्मी बालाराम खड्काले गरिएको संक्षिप्त कुराकानि ।
— स्वागत छ यहाँलाई साता वार्तामा ? 
धन्यवाद यहाँ अनि यहाँको पत्रिकालाई प्रतियोगिताको तयारी तथा अन्य खेलकुद सम्बन्धी कुराहरू राख्ने अवसर दिएकोमा ।
— खेलकुद क्षेत्रको समग्र अवस्था कस्तो छ ? 
नेपालमा विभिन्न विधाका खेलाडी रहेका छन् । समग्रमा नेपालमा विभिन्न खेलमा खेलाडीको कमी छैन । खेलकुदको प्रतिको आकर्षण पनि छ तर त्यो व्यवसायिक हुन भने अलि सकेको छैन । अनुशासित र स्वास्थ्य हुनका लागि खेलकुदको महत्वपूर्ण भूमिका छ ।
‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नारा छ  तर खेलकुद क्षेत्रलाई प्राप्त बजेट नुहँदा तथा खेलाडीले पनि आफ्नो जिपिकोपार्जन यही खेल क्षेत्रमा नै लागेर गर्न सक्ने अवस्था भने रहेको छैन । बजेटका कारण पूर्वाधारको अभाव, खेलाडीको उचित प्रशिक्षण र वृत्तिविकास हुन सकेको छैन् ।
जिल्लामा प्राप्त भौतिक कुरा पनि छैनन् तर यति हुँदा हँुदै पनि सीमित साधन स्रोतकाबिच पनि विभिन्न खेललाई अगाडि बढाउनु पर्ने अवस्था छ । यसका तीनै तहका सरकारले पनि खेलकुदको विकासमा लाग्नु पर्ने हुन्छ । खेलकुद क्षेत्र सधै ओझेलमा पर्ने गरेकाले यसलाई पनि विशेष प्राथमिकतामा राखेर अगाडि बढ्नु पर्ने हुन्छ । खेलकुदले नै राष्ट्रलाई अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउने गर्छ ।
सोही अनुसार राज्यले पनि लगानी लगाउनु पर्ने मैले देखछु । अहिले नेपालबाट अन्य अन्तर्राष्ट्रिय क्षेत्रमा जानुभएका खेलाडीको महत्व तथा त्यहाँ उहाँहरूले आर्थिक उपार्जन पनि राम्रो गर्नुभएको छ तर नेपालमा त्यस्तो छैन ।
— कराँते खेल कस्तो हो ? किन आवश्यक छ ? 
यो कराँते मार्सलआर्ट विधामा पर्ने खेल हो । यो आत्मरक्षाका लागि पनि खेलिन्छ । सुरुवातमा आत्मरक्षाबाट सुरु भएको यो कलाले रिुस्तारै खेलको रूप लिएको हो । अहिले यो खेल ओलम्पिकमा पनि समावेश भएको छ । त्यसकारण यसलाई राष्ट्रको प्रतिष्ठासँग जोडिएको खेल भनिन्छ । कराँतेले अन्तर्राष्ट्रिय खेलकुदमा नेपालको नाम राख्न महत्वपूर्ण भूमिका निर्वाहसमेत गरेको छ । यसले खेलाडीलाई प्रतिबद्ध, अनुशासित र सफल बन्न प्रोत्साहित गर्छ । शारीरिक तथा मानसिक विकासका लागि पनि यो खेल महत्वपूर्ण छ ।
आत्मरक्षा, आत्मविश्वास र अनुशासन यसको प्रमुख उद्देश्य हो । मार्सलआर्ट खेल्दा रक्तसञ्चार र श्वासप्रश्वासको संयोजन राम्रो हुनाले वौद्धिक विकासमा यसको प्रत्यक्ष प्रभाव रहन्छ । बढ्दो उमेरका बालबालिकाको शारीरिक विकास राम्रो हुन्छ, लचकता बढ्छ । स्मरणशक्ति पनि तेजिलो बनाउँछ । साथै, सामाजिक रूपमा नेतृत्वदायी भूमिका निर्वाह गर्न सघाउँछ । कराँते खेल्ने व्यक्तिलाई थकानका कारण निद्रा लाग्छ । अल्छीपन हटाउँछ । युवालाई कुलतबाट जोगाउँछ ।
उनीहरू स्वस्थ प्रतिस्पर्धामा विश्वास गर्छन् र यसैमा ध्यान केन्द्रित गर्छन् । त्यसैले यसलाई सिर्जनात्मक विधा भनिन्छ । गुरु र अग्रजलाई सम्मान गर्ने संस्कार विकास गर्न ठूलो भूमिका खेल्छ । जो मान्छे पहिला आक्रामक हुन्छ, त्यो मान्छे पनि मार्सलआर्ट सिकेपछि क्रमशः अनुशासित हुँदै जान्छ । शारीरिक अभ्यास नगरेका व्यक्तिले भन्दा कसरत गर्नेले पौष्टिक आहारमा ध्यान दिनु पर्ने हुन्छ ।
खानामा रुचि बढाउँछ । सन्तुलित रूपमा खाने बानीको विकास गराउँछ । समय व्यवस्थापनमा सहयोग गर्छ । शरीरलाई सन्तुलित राख्छ र रोगप्रतिरोधात्मक क्षमताको विकास गराउँछ ।
— प्रथम अन्तर्राष्ट्रिय स्कुलस्तरीय लुम्बिनी प्रदेश कप कँराते प्रतियोगिता २०८३ कहिलेदेखि कहाँ सुरु हुँदैछ ? 
प्रथम अन्तर्राष्ट्रिय स्कुलस्तरीय लुम्बिनी कप कराँते प्रतियोगिता २०८३ नेपाल कराते महासंघ लुम्बिनीले जेठ २८ गतेदेखि ३१ गतेसम्म तीन दिनसम्म प्रतियोगिता सञ्चालन गर्न लागेको छ ।
कँरातेतर्फ नयाँ पुस्ताको ध्यानाकर्षण गराउन, विभिन्न देशका बिचमा भाइचारा कायम राख्न तथा खेल पर्यटनका माध्यमबाट दाङसहित नेपालको विकासमा टेवा पु¥याउने उद्देश्यका साथ गौतमबुद्धको जन्मस्थल लुम्बिनी प्रदेशको दाङमा प्रथम अन्तर्राष्ट्रिय स्कुलस्तरीय लुम्बिनी कप कराँते प्रतियोगिता आयोजना गर्न लागिएको हो ।
तुलसीपुर उपमहानगरपालिका–६ स्थित बहुउद्देश्यीय कबर्ड हलमा प्रतियोगिता आयोजना गर्ने हामीले तयारी गरेका छाँै । सोही अनुसार हामी तयारीमा लागेका छौँ ।
— यो प्रतियोतिमा कुन–कुन देश र कहाँ र कस्ता खेलाडीहरू आउँदैनन् ?
यस प्रतियोगितामा नेपाल, भारत, बंगलादेश, भुटान, अफगानिस्तान, पाकिस्तान तथा श्रीलङ्काका खेलाडीको सहभागिता रहने छ । विद्यालयस्तरका खेलाडीलाई अन्तर्राष्ट्रिय प्रतिस्पर्धाको अनुभव दिलाउने, कराँते खेलको विकास तथा खेलाडीको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
प्रतियोगिताले विद्यालयस्तरमा कराँते खेलको विकास, खेलाडीको प्रतिभा पहिचान तथा अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा महत्वपूर्ण योगदान पु¥याउने विश्वास हामीले दिएका छौँ । नेपाल तथा विदेशका गरी ६ सय खेलाडी तथा प्रशिक्षक तुलसीपुर आउने छन् । त्यसमा नेपालसहित विदेशका समेत गरी झन्डै ८० विद्यालयका खेलाडी सहभागी हुनेछन् ।
प्रतियोगितामा भाग लिनका लागि हालसम्म भारत, बंगलादेश र भुटानका खेलाडीले आफ्नो नाम दर्ता गराइसक्नुभएको छ । अरू खेलाडीले नाम दर्ता गराउँदै हुनुहुन्छ । सबैभन्दा धेरै झन्डै ८० हाराहारीमा भारतका खेलाडी, त्यसपछि बंगलादेश र भुटानका खेलाडीले प्रतियोगितामा भाग लिनका लागि आआफ्नो देशको प्रतिनिधित्व गर्दैै नाम दर्ता गराइसक्नुभएको छ महिला पुरुष दुवैका लागि २५ केजी तौल समूहदेखि ८४ केजी तौल समूहका खेलाडीले खुल्ला प्रतिस्पर्धा गर्न पाउने छन् ।
— प्रतियोगिताको लागि आर्थिक कति लाग्ने अनुमान छ ? 
प्रतियोगिता आयोजना गर्न करिब साढे ४४ लाख जति खर्च लाग्ने अनुमान गरिएको छ । यो रकम मध्य करिब पाँच लाख जति लुम्बिनी प्रदेश खेलकुद मन्त्रालय, नेपाल कराँते महासंघ लुम्बिनी लगायतकाले सहयोगमा जोहो गरिने भएको छ ।
हामीले केही नाम दर्ता शुल्क पनि लिने छौँ । यस्तै प्रतियोगिताका लागि व्यवसायिक र विज्ञापन दाताको खोजी गर्ने बारेमा पनि छलफल भइरहेको छ । यो समग्र लुम्बिनी प्रदेश यसमा पनि दाङ, तुलसीपुरमा हुने भएकाले यसमा सबै साथ सहयोग गर्नुहुनेछ भन्नेमा हामी विश्वस्त छौँ ।
— यो प्रतियोगिता गर्नुको उद्देश्य लक्ष्य के छ ? 
पहिलो कुरा त यही कै आठोपिठो खाएर देशको पहिचान विभिन्न देशका खेलाडीसँग अन्तर्राष्ट्रियस्तरमा आफ्नो खेल क्षमता स्वदेशमै खेलाडीले देखाउन पाउने छन् । यस प्रतियोगितामार्फत् विद्यालयस्तरमा लुकेर रहेका प्रतिभावान खेलाडीको खोजी गरी उनीहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्न सक्षम बनाउने, खेलकुदमार्फत् राष्ट्रको गौरव बढाउने तथा देशको पहिचान स्थापित गर्ने लक्ष्य राखिएको छ ।
साथै खेलाडीमा अनुशासन, आत्मविश्वास, नेतृत्व क्षमता, नैतिकता तथा सकारात्मक सोचको विकास गरी योग्य र सक्षम जनशक्ति निर्माणमा सहयोग पु¥याउनु यस कार्यक्रमको प्रमुख उद्देश्य हो । धुनिक युगमा बढ्दो मानसिक तनाव, सामाजिक विकृति, लागुऔषध दुव्र्यसन तथा अन्य कुलतबाट युवापुस्तालाई जोगाई खेलकुदतर्फ आकर्षित गर्नु पनि यस प्रतियोगिताको महत्वपूर्ण लक्ष्य हो ।
खेलकुदका माध्यमबाट युवाको शारीरिक, मानसिक, वौद्धिक तथा नैतिक विकास गरी स्वस्थ समाज निर्माणमा योगदान पु¥याउने उद्देश्य राखिएको छ । यस प्रतियोगिताले विभिन्न जिल्ला, नगर तथा गाउँपालिकास्तरमा रहेका खेलाडी, प्रशिक्षक, क्लब, संघसंस्था तथा खेलप्रेमीबिच समन्वय, सहयोग, मित्रता तथा भाइचाराको सम्बन्ध विस्तार गर्न सहयोग पु¥याउने विश्वास लिइएको छ ।
साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका प्रतियोगितामा सहभागिता जनाउन सक्ने दक्ष खेलाडी उत्पादन गरी नेपालको खेलकुद क्षेत्रको विकासमा योगदान पु¥याउने लक्ष्य रहेको छ । खेलकुदको माध्यमबाट राष्ट्रिय एकता, सामाजिक सद्भाव, शान्ति, सहिष्णुता तथा आपसी सम्मानको भावना अभिवृद्धि गर्दै देशको संस्कृति, सभ्यता र पहिचानलाई अन्तर्राष्ट्रिय जगतमा प्रवद्र्धन गर्ने उद्देश्य पनि यस प्रतियोगिताले लिएको छ ।
यसका साथै प्रतियोगिता आयोजना हुने क्षेत्रका धार्मिक, सांस्कृतिक तथा पर्यटकीय सम्पदाको प्रचार(प्रसार गरी आन्तरिक पर्यटन प्रवर्धनमा टेवा पु¥याउने लक्ष्य राखिएको छ । भगवान् श्री गौतमबुद्धको जन्मस्थल लम्विनी, चमेरी गुफा, सुपादेउराली क्षेत्र, बागेश्वरी मन्दिर, पाण्डवेश्वर मन्दिर, धारापानी बाह्रकुने दह लगायतका पर्यटकीय तथा धार्मिकस्थलको परिचय राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा विस्तार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।