दाङ, २५ जेठ । आधुनिक जीवनशैली र मानसिक स्वास्थ्यबारे नागरिकलाई सचेतना आवश्यक रहेको एक कार्यक्रमका सहभागीले जोड दिएका छन् ।
‘जेसीज सप्ताह–२०२६’ अन्तर्गत तेश्रो दिन दाङ महिला जेसीजले घोराही उपमहानगरपालिका–१८ फुर्सेखालीस्थीत एकता महिला विकास बहुउद्देश्यीय सहकारी संस्थाका पदाधिकारी तथा सदस्यको उपस्थीतिमा आयोजना गरेको ‘आधुनिक जीवनशैली र मानसिक स्वास्थ्य’ विषयक कार्यक्रमका सहभागीले मानसिक स्वास्थ्य गम्भीर समस्याका रुपमा देखिएको भन्दै यसबाट बच्नका लागि नागरिकमा सचेतना आवश्यक रहेकोमा जोड दिएका थिए ।
दाङ महिला जेसीज वर्ष २०२६ की अध्यक्ष अर्चना शर्माको अध्यक्षता तथा घोराही उपमहानगरपालिका–१८ का वडा अध्यक्ष भरतमणि अर्यालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका इमरजेन्सी मेडिसिन विभागका प्रमुख डा विकास गौचनले आधुनिक जीवनशैलीका प्रभाव, मानसिक स्वास्थ्यका चुनौती र त्यसको व्यवस्थापनका उपायबारे प्रशिक्षण दिएका थिए । कार्यक्रममा एकता महिला विकास बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष रेवा रेग्मी, घोराही चेम्बर अफ कमर्सका उपाध्यक्ष लक्ष्मी गिरीलगायतले मानसिक स्वास्थ्यप्रति समाजमा अझ बढी सचेतना आवश्यक रहेको धारणा व्यक्त गरेका थिए ।
कार्यक्रम संयोजक दीपा पुनको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा जेसीज सप्ताहका मूल संयोजक आराधना सिंह ठकुरीले सप्ताहव्यापी कार्यक्रमबारे जानकारी गराएकी थिइन । सुलोचना शर्माले जेसीज आस्थापाठ गराएको कार्यक्रममा कार्यकारिणी उपाध्यक्ष भीमा डिसीले धन्यवाद ज्ञापन गरेकी थिइन । कार्यक्रमको सहजीकरण महासचिव बसन्ती सुवेदीले गरेकी थिइन ।
दाङ महिला जेसीजले जेठ २३ देखि ३० गतेसम्म विभिन्न सामाजिक तथा सचेतनामूलक कार्यक्रम गरी ‘जेसीज सप्ताह–२०२६’ मनाउन थालेको छ । सप्ताहव्यापी कार्यक्रमअन्तर्गत चौथो दिन मगलवार घोराहीस्थित अम्बिकेश्वरी क्याम्पसमा ‘युवासँग वित्तीय साक्षरता’ विषयक कार्यक्रम आयोजना गरिएको दाङ महिला जेसीजले जनाएको छ ।