खेतुलाल स्मृति कप क्रिकेटको तयारी पूरा, उद्घाटन खेल स्युजा र बचेनीबीच हुने

दाङ,१९ जेठ । दोस्रो खेतुलाल नेपाली स्मृति कप क्रिकेट प्रतियोगिता–२०८३ को तयारी पूरा भएको छ । नेपाली कांग्रेस बंगलाचुली गाउँपालिका–४ वडा समितिको आयोजनामा जेठको २० गतेदेखि हुने दोस्रो खेतुलाल नेपाली स्मृति कप क्रिकेट प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको हो ।

प्रतियोगिताको उद्घाटन नेपाली कांग्रेस दाङका जिल्ला सभापति शंकरप्रसाद डाँगीले गर्ने कार्यक्रम रहेको नेपाली कांग्रेस बंगलाचुली वडा नं. ४ का वडा सभापति शिवराज परियारले जानकारी दिएका छन् । प्रतियोगिताको विजेताले नगद २० हजार रुपैयाँसहित कप, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले नगद १० हजारसहित कप, मेडल र प्रमाणपत्र हात पार्नेछ । प्रतियोगितामा बंगलाचुली गापालिका क्षेत्रका ८ टोली सहभागी रहेका छन् । समूह ‘ए’ मा स्युजा क्रिकेट टिम, जुम्लेपानी क्रिकेट टिम, काभ्रे श्रीवारी क्रिकेट टिम र बचेनी क्रिकेट टिम रहेका छन् भने समूह ‘बी’ मा बंगलाचुली क्रिकेट क्लब, श्रीवारी क्रिकेट टिम, छिप्पन क्रिकेट टिम र रोयल मुर्कुटी रहेका छन् ।

खेल व्यवस्थापन समितिका सदस्य टोपाराम अधिकारीका अनुसार प्रतियोगिताको उद्घाटन खेल स्युजा क्रिकेट टिम र बचेनी क्रिकेट टिमबीच हुनेछ । खेलक्षेत्रको विकाससँगै स्थानीयस्तरदेखि क्रिकेट प्रतिभालाई उजागर गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ ।

स्वर्गीय क्रिकेट खेलाडी समेत रहेका खेतुलाल नेपालीको स्मृति कप क्रिकेट प्रतियोगिता गरिएको हो । नेपाली कांग्रेस बंगलाचुली–४ का कार्यसमिति सदस्य तथा क्रिकेट खेलाडीसमेत रहेका नेपालीको २०८१ जेठ २० गते मोटरसाइकल दुर्घटनामा निधन भएको थियो ।