गोरक्ष समाचारदाता
दाङ, १२ जेठ । सहिद कृष्ण सेन इच्छुकको २४औं स्मृति दिवसका अवसरमा दाङमा तीन जना पत्रकार पुरस्कृत भएका छन् । नेपाल पत्रकार महासंघ दाङ शाखा र प्रेस सेन्टर दाङ शाखाको संयुक्त आयोजनामा बुधवार घोराहीमा भएको कार्यक्रममा तीन जना पत्रकार पुरस्कृत भएका हुन ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङ शाखामा स्थापना गरिएको सहिद कृष्ण सेन इच्छुक स्मृति पत्रकारिता पुरस्कार पत्रकार जनक नेपालीलाई, प्रेस सेन्टर दाङ शाखामा स्थापना गरिएको सहिद कृष्ण सेन इच्छुक स्मृति पत्रकारिता पुरस्कार भुपेन्द्र वलीलाई र लोककुमारी रिजाल स्मृति पत्रकार पुरस्कार सन्तोष डाँगीलाई प्रदान गरिएको छ ।
नेपाल पत्रकार महासंघ दाङ शाखाका अध्यक्ष सन्तोष सुवेदीको अध्यक्षता तथा प्रेस काउन्सील नेपालका पूर्व अध्यक्ष एवं वरिष्ठ पत्रकार नारायणप्रसाद शर्माको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा वक्ताहरूले प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रतामाथि विभिन्न बहानामा अंकुश लगाउने प्रवृत्तिप्रति गहिरो चिन्ता व्यक्त गरेका थिए । साथै उनीहरुले अन्याय र अत्याचारविरुद्ध निर्भिक र निष्पक्ष रुपमा पत्रकारिता, साहित्य र राजनीतिका माध्यमबाट जीवन समर्पण गर्ने स्वर्गीय कृष्ण सेन इच्छुकबाट वर्तमान पुस्ताले धेरै कुरा सिक्न आवश्यक रहेकोमा जोड दिएका थिए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय उपाध्यक्ष उदय जिएम, पूर्व केन्द्रीय सदस्य अजयदिप शर्मा, प्रेस स्वतन्त्रता सेनानी सुशील गौतम, महासंघ लुम्बिनी प्रदेशका महासचिव पाण्डवप्रसाद शर्मा, दाङ शाखाका पूर्व अध्यक्षहरू प्रताप रेग्मी र केएल बुढाथोकी, अक्षयकोष स्थापनाकर्ता अर्जुन रिजाल,पुरस्कृत व्यक्तित्व भुपेन्द्र वलीले मन्तव्य व्यक्त गरेका थिए । प्रेस सेन्टर नेपाल दाङ शाखाका अध्यक्ष जनक नेपालीको स्वागत मन्तव्यबाट शुरू भएको कार्यक्रमको सञ्चालन नेपाल पत्रकार महासंघ दाङ शाखाका सचिव जेएन सागरले गरेका थिए ।