युनिशाको अर्धशतकमा दाङ यु–१९ महिला टोली १०१ रनले विजयी

दाङ, १३ जेठ । लुम्बिनी प्रदेशस्तरीय यु–१९ महिला क्रिकेट छनोट प्रतियोगितामा दाङको टोलीले विजयी सुरुवात गरेको छ । नवलपरासी जिल्लाको भुमही क्रिकेट मैदानमा जारी वाई–वाई लुम्बिनी प्रदेशस्तरीय यु–१९ महिला क्रिकेट छनोट प्रतियोगिताअन्तर्गत दोस्रो दिनको चौथो खेलमा दाङ यु–१९ महिला टोलीले बर्दियाको यु–१९ महिला टोलीलाई १०१ रनको फराकिलो अन्तरले पराजित गर्दै बिजयी सुरुवात गरेको हो ।

टस जितेर पहिले ब्याटिङ रोजेको दाङले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै १२६ रनको प्रतिस्पर्धात्मक योगफल तयार गरेको थियो। दाङको ब्याटिङमा युनिशा सारु मगरले अविजित ५१ रनको उत्कृष्ट इनिङ्स खेलिन् । उनले ६८ बलमा ६ चौका प्रहार गर्दै आफ्नो अर्धशतक पूरा गरिन्। यस्तै रितु रावलले २५ रन, सुप्रिया बुढाले ९ रन तथा शिरिसा चौधरीले २ रन जोडिन् ।

बर्दियाका तर्फबाट सुजाता नेपाली र कृष्णा क्षेत्रीले समान १–१ विकेट लिए। १२७ रनको लक्ष्य पछ्याएको बर्दिया यू–१९ महिला टोली दाङको कसिलो बलिङसामु टिक्न नसक्दा १०.२ ओभरमा सबै विकेट गुमाएर मात्र २५ रनमा समेटिएको थियो। बर्दियाका लागि लक्ष्मी सिंहले ४ रन बनाउँदा रुपा पाठक र स्वेच्छा विकले समान २–२ रन जोडेका थिए ।

दाङको जितमा आशना चौधरीले उत्कृष्ट बलिङ गर्दै २ ओभरमा ४ रन खर्चेर ३ विकेट लिइन्। यस्तै शिरिसा चौधरी र समीक्षा खत्रीले समान २–२ विकेट तथा रितु रावलले १ विकेट हात पारिन्। ब्याटिङतर्फ अविजित अर्धशतक प्रहार गर्दै टोलीको जितमा महत्वपूर्ण योगदान पुर्‍याएकी युनिशा सारु मगर खेलको ‘प्लेयर अफ द म्याच’ घोषित भइन्।