दाङ,१२ जेठ । महको प्रचारप्रसार तथा बजारीकरण प्रवद्र्धन गर्ने उद्देश्यले दाङको घोराहीमा तीन दिने मह महोत्सव–२०८३ सुरु भएको छ । नेपाल मौरी पालक महासंघ दाङको आयोजना तथा राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ दाङको प्राविधिक सहयोगमा घोराही उपमहानगरपालिका–१५ स्थीत कर्मचारी मिलन केन्द्रको सभाहलमा महोत्सव सुरु भएको हो ।
मह महोत्सवको उद्घाटन गर्दै लुम्बिनी प्रदेशका भूमि व्यवस्था तथा कृषि मन्त्री दिनेश पन्थीले देशको आर्थिक समृद्धि र रोजगारी सिर्जनाका लागि कृषि क्षेत्रको महत्वपूर्ण भूमिका रहेको बताए । मौरीपालन पनि कृषि क्षेत्रकै एउटा पाटो भएको भन्दै मन्त्री पन्थीले परम्परागत रूपमा मात्र मौरीपालन गरेर नपुग्ने भन्दै व्यवसायिक रूपमा घारदेखि उत्पादनसम्म सुधारमा ध्यान दिनुपर्ने आवश्यकता रहेको बताए । मौरीपालनबाट उत्पादन बढाउनका लागि परम्परागत घारदेखि गुणस्तर सुधार गर्न आवश्यक रहेको भन्दै मन्त्री पन्थीले भने,‘गुणस्तरीय मह उत्पादन गरी स्वदेशसँगै विदेशमा निर्यात गर्ने गरी किसानले व्यवसाय विस्तार गर्नुपर्छ । त्यसका लागि लुम्बिनी प्रदेश सरकारले किसानलाई अभिभावकत्व प्रदान गर्दै सहयोग गर्न तयार छ ।’
कृषि ज्ञान केन्द्र दाङका प्रमुख नवराज भण्डारीले मह उत्पादनमा दाङ चितवनपछिको दोस्रो जिल्ला भए पनि बजारीकरणमा भने पछि परेको बताए । उनले त्यसका लागि किसानले गुणस्तरीय मह उत्पादन गर्दै प्रशोधन गरेर राष्ट्रिय तथा अन्तराट्रिय क्षेत्रमा निर्यात गर्न आवश्यक रहेको भन्दै किसान त्यही अनुसार अघि बढ्नुपर्नेमा जोड थियो । कार्यक्रममा बोल्ने वक्ताहरूले मौरीपालनमा संलग्न किसानको संख्या बढ्दै गए पनि मह उत्पादनमा आएको कमी चिन्ताको विषय बनेको बताउँदै बाह्रै महिना उत्पादन कायम राख्न मौरीको चरण क्षेत्र विकास गर्नुपर्ने र जंगल क्षेत्रमा चिउरीलगायतका विरुवा रोप्नुपर्नेमा जोड थियो । राष्ट्रिय कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ दाङका प्रमुख कोमल शाहीका अनुसार दाङमा हाल चार सय भन्दा बढी किसान व्यावसायिक मौरीपालनमा संलग्न रहेका छन् । जिल्लामा वार्षिक तीन सय पन्ध्र टन भन्दा बढी मह उत्पादन भई दश करोड रुपियाँ बराबरको कारोबार हुने गरेको छ ।
नेपाल मौरी पालक महासंघ दाङका अध्यक्ष दिनेश वलीको अध्यक्षतामा भएको उद्घाटन समारोहमा विभिन्न वक्ताहरूले मौरीपालन व्यवसायको सम्भावना र चुनौतीबारे विचार व्यक्त गरेका थिए । घोराही उपमहानगरपालिका–१५ स्थित कर्मचारी मिलन केन्द्रको हलमा सुरु भएको महोत्सवको उद्घाटनपूर्व घोराही बजारमा ¥याली समेत निकालिएको थियो । तीन दिनसम्म चल्ने महोत्सवमा किसानले विभिन्न सिजनका उत्पादन गरेको महसँगै मौरीपालनसम्बन्धी सामग्री प्रदर्शनी र व्यवसायका चुनौती तथा सम्भावनाबारे छलफल हुने आयोजकले जनाएका छन् ।