३० जना विद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग

घोराही, १२ जेठ । घोराहीका दुई विद्यालयका ३० जना बालबालिकालाई शिक्षामा सहयोग पु¥याउने उद्देश्यले शैक्षिक सामाग्री वितरण गरिएको छ । घोराही उपमहानगरपालिका वडा न. ५ दलजितपुरमा रहेको महेन्द्र आधारभुत विद्यालय र घोराही–१३ मा रहेको प्रज्ञान एकेडेमीमा अध्ययनरत विद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग गरिएको हो ।

नेपाल महिला सामुदायिक सेवा केन्द्र दाङमा संस्थापक अध्यक्ष बिमला योगीले स्थापना गरेको ‘बिमला योगी बालिका शिक्षा तथा स्वास्थ्य कार्यक्रम’ अन्तरगत विद्यार्थीलाई शैक्षिक सामाग्रीहरु प्रदान गरिएको हो । महेन्द्र आधारभुत विद्यालयका २० र प्रज्ञान एकेडेमीका १० जना गरेर ३० जना विद्यार्थीहरुलाई विद्यालय पोशाक, कपी, कलम लगायत सामाग्री सहयोग गरिएको हो । साथै उनीहरुको भर्ना एवं वार्षिक शुल्क विद्यालयलाई बुझाइएको छ ।

नेपाल महिला सामुदायिक सेवा केन्द्रका संस्थापक अध्यक्ष बिमला योगी र सचिव शिवा योगीको उपस्थितिमा विद्यालयमै पुगेर शैक्षिक सामाग्री प्रदान गरिएको थियो । प्रज्ञान एकेडेमीका प्रिन्सिपल बीरेन्द्र चन्दको अध्यक्षतामा भएको कार्यक्रममा १० जना बालबालिकालाई शैक्षिक सहयोग प्रदान गरिएको थियो भने महेन्द्र माविमा सहायक प्रधानाध्यापक निर्मला हमालको अध्यक्षतामा भएको कार्यक्रममा विद्यार्थीलाई शैक्षिक सामाग्रीहरु प्रदान गरिएको थियो ।

त्यस अवसरमा छात्राहरुलाई महिला स्वःरोजगार केन्द्रले उत्पादन गरेको सेनेटरी प्याड वितरण गरिएको थियो । महेन्द्र माविका ६० जना छात्राहरुलाई सेनेटरी प्याड वितरण गरिएको थियो । त्यसअवसरमा कार्यक्रम संयोजक कल्पना डाँगीले सस्थागत जानकारीसहित छात्रालाई सेनेटरी प्याड प्रयोगबारे जानकारी गराउनुभएको थियो । साथै उनले नेपाल महिला सामुदायिक सेवा केन्द्र दाङले जिल्लाका विद्यालयहरुमा ग्रीन क्लव गठन गरेर विभिन्न क्रियाकलाप सञ्चालन गरिरहेको जानकारी दिएकी थिइन ।