दाङ,११ जेठ । महको प्रचारप्रसार र बजारीकरणलाई प्रवद्र्धन गर्ने उद्देश्यले दाङको घोराहीमा पहिलो पटक ‘मह महोत्सव–२०८३’ हुने भएको छ । नेपाल मौरी पालक महासंघ दाङको आयोजना तथा राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ, दाङको प्राविधिक सहयोगमा यहि जेठ १३, १४ र १५ गते तीन दिन महोत्सव हुन लागेको हो ।
नेपाल मौरीपालक महासंघ दाङले सोमवार घोराहीमा पत्रकार सम्मेलनको आयोजना गरेर मह महोत्सवका बारेमा जानकारी दिएको हो । महोत्सवमार्फत् स्थानीयस्तरमा उत्पादन हुने महको प्रचारप्रसार, उपभोक्तालाई महको महत्वका बारेमा जानकारी तथा मौरीपालन व्यवसायका क्षेत्रमा देखिएका समस्या र सम्भावनालगायतका विषयमा छलफल गर्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको नेपाल माहुरी पालक महासंघ दाङका अध्यक्ष दिनेश वलीले जानकारी दिनुभएको छ । जिल्लामा पहिलो पटक आयोजना गर्न थालिएको महोत्सवले मौरीपालन क्षेत्रमा लागि किसानलाई सिकाई आदानप्रदानसँगै स्थानीय उत्पादनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारसँग जोड्न सहयोग पु¥याउने अपेक्षा गरिएको छ ।
महोत्सवमा मौरीपालनसम्बन्धी प्राविधिक जानकारी प्रदान गरिनुका साथै माहुरीपालनका क्षेत्रका देखिएका चुनौती र सम्भावनाबारे अन्तरक्रिया तथा छलफलसमेत गरिने राष्ट्रिय कृषि आधुनिकरण कार्यक्रम कार्यान्वयन एकाई दाङका प्रमुख कोमल शाहीले बताउनुभएको छ । उहाँका अनुसार दाङमा चार सय ५० बढी किसान व्यवसायिक रुपमा माहुरीपालनमा जोडिएको र बार्षिक रुपमा तीन सय १५ मेट्रिक टन मह उत्पादन गरेको छ । माहुरीपालन र मह उत्पादनका दृष्टिले चितवनपछि दोश्रो जिल्लाका रुपमा दाङ रहेपनि प्रचारप्रसार नहुँदा ओझेलमा रहेकाले प्रचारप्रसारसँगै किसानहरुका विचमा अनुभव आदानप्रदान गर्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको राष्ट्रिय कृषि आधुनिकरण कार्यक्रम कार्यान्वयन एकाई दाङका प्रमुख शाहीले बताउनुभयो ।
महोत्सवमा मौरीपालनका लागि आवश्यक सामग्री, उपकरण तथा प्रविधिको प्रदर्शनी र बिक्री पनि गरिनेछ । मह महोत्सवको उद्घाटनका दिन घोराही बजारमा प्रभातफेरी कार्यक्रमको समेत आयोजना गरिएको मौरीपालक महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष रामहरी शर्माले जानकारी दिनभएको छ । मौरीपालक महासंघ दाङका अध्यक्ष दिनेश वलीको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा राष्ट्रिय कृषि आधुनिकरण कार्यक्रम कार्यान्वयन एकाई दाङका प्रमुख कोमल शाही, नेपाल पत्रकार महासंघ दाङ शाखा अध्यक्ष सन्तोष सुवेदीले महोत्सवलाई सफल बनाउनका लागि सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो । कार्यक्रमको सहजीकरण सरस्वती सुवेदीले गर्नुभएको थियो ।