प्रेरणाको विन्दु : क्षमताको पहिचान

तुफानबाबु श्रेष्ठ

आजको समय तुलना, प्रतिस्पर्धा र देखावटी सफलताले भरिएको समय बनेको छ । मानिसहरू अरूको उपलब्धिसँग आफूलाई तुलना गर्दै आफ्नो अस्तित्वलाई कमजोर ठान्न थालेका छन् । सामाजिक सञ्जालमा अरूको चमक देखेर धेरै मानिसहरू भित्रभित्रै आफूलाई असफल, कमजोर र महत्वहीन सम्झिरहेका छन् । तर, प्रकृतिको नियम के हो भने, हरेक जीव, हरेक वस्तु र हरेक मानिस कुनै न कुनै विशेष उद्देश्य लिएर जन्मिएको हुन्छ । केवल त्यो क्षमता चिन्न बाँकी हुन्छ । यस्तै गहिरो सन्देश बोकेको एउटा प्रेरणादायी प्रसंग छ ।

जङ्गलको एउटा सुन्दर भागमा विशाल पोखरी थियो । वरिपरि रङ्गीचङ्गी फूलहरूले ढाकिएको बगैँचा थियो । मानिसहरू टाढा–टाढाबाट त्यो सुन्दरता हेर्न आउँथे र फूलहरूको प्रशंसा गरेर फर्किन्थे । त्यही बगैँचामा एउटा गुलाबको पात पनि थियो । उसले हरेक दिन मानिसहरूलाई फूलको सौन्दर्यमा मोहित भएको देख्थ्यो, तर कसैले आफूलाई ध्यान नदिएको महसुस गथ्र्यो ।

विस्तारै त्यो पातको मनमा हीन भावना बढ्न थाल्यो । उसलाई लाग्न थाल्यो–‘सायद म कुनै कामको छैन ।’ अरूको चमकसँग आफूलाई तुलना गर्दा ऊ भित्रभित्रै कमजोर बन्दै गयो । तर जीवन सधैं एउटै अवस्थामा रहँदैन । एकदिन जङ्गलमा भयानक हुरी चल्यो ।

सुन्दर फूलहरू भुइँमा झरे । त्यो पात पनि चुँडिएर पोखरीमा पुग्यो । त्यही पोखरीमा एउटा सानो कमिला डुब्न लागेको थियो । आफ्नो ज्यान जोगाउन संघर्ष गरिरहेको कमिलालाई देखेर पातले भन्यो– ‘नडराऊ, मेरो माथि आऊ ।’ कमिला पातमाथि चढ्यो र केही बेरपछि सुरक्षित किनारामा पुग्न सफल भयो । ज्यान जोगिएको खुसीमा कमिलाले भावुक हुँदै धन्यवाद दियो । त्यो क्षण पातको जीवनकै सबैभन्दा ठूलो अनुभूति बन्यो । उसले पहिलो पटक बुझ्यो– ‘म पनि कसैको जीवन बचाउन सक्ने रहेछु ।’

वास्तवमा, यही नै जीवनको गहिरो सत्य हो । हरेक मानिसमा कुनै न कुनै विशेषता हुन्छ । कसैको प्रतिभा तुरुन्तै देखिन्छ, कसैको समय आएपछि उजागर हुन्छ । आज धेरै युवाहरू एउटा असफलतापछि आफूलाई कमजोर ठान्छन् । कोही पढाइमा पछि परेर निराश छन्, कोही आर्थिक अभावले थिचिएका छन्, कोही अरूको सफलतासँग तुलना गरेर आत्मविश्वास गुमाइरहेका छन् । तर, एउटा कुरा सम्झनुपर्छ– सूर्य पनि रातभर अन्धकारपछि मात्र उदाउँछ ।

यदि त्यो पातले आफूलाई सधैं बेकार ठानेर हार मानेको भए, सायद उसले आफ्नो वास्तविक मूल्य कहिल्यै थाहा पाउने थिएन । त्यसैले जीवनमा कहिल्यै आफूलाई सानो नठानौँ । कहिले काहीँ साधारण देखिने व्यक्तिले नै असाधारण काम गरेर संसार बदलिदिन्छ ।

हामीभित्र लुकेको क्षमता जागृत गर्न आत्मविश्वास, धैर्यता र सही अवसर चाहिन्छ । आफूलाई अरूसँग होइन, आफ्नै सम्भावनासँग तुलना गर्न सिक्नुपर्छ । किनकि ईश्वरले कसैलाई पनि निरर्थक बनाएर पठाएका हुँदैनन् । त्यसैले, परिस्थिति जस्तोसुकै भए पनि आफ्नो अस्तित्वलाई सम्मान गरौँ । आफूभित्र रहेको शक्ति पहिचान गरौँ ।