गोरक्ष समाचारदाता
दाङ, ३ जेठ । कोरोना संकट व्यवस्थापन केन्द्र दाङको बैठकले जिल्लामा क्वारेन्टाइनको क्षमता तत्काल बढाउने निर्णय गरेको छ । त्यसका लागि सम्बन्धित स्थानीय तहका प्रमुखहरुले आइतवारैदेखि आ–आफ्नो तयारीमा जुट्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
केन्द्रका संयोजक तथा प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालको संयोजकत्वमा बसेको बैठकमा जिल्लाका सबै पालिकाका प्रमुखहरुको सहभागिता रहेको थियो । बैठकमा दाङ जिल्लामा भारतीय सीमाबाट आउनेको संख्या कम्तिमा ६ हजारसम्म पुग्ने अनुमान प्रस्तुत गरिएको थियो । यसअघि विहीवार दाङ आएका मुख्यमन्त्री शंकर पोख्रेलले दाङमा भारतीय भूमिबाट कम्तिमा ६ हजार नेपाली दाङ भित्रिने बताएका थिए । साथै त्यसै अनुरुप क्वारेन्टाइनको क्षमता बढाउन समेत स्थानीय सरकारलाई निर्देशन दिएका थिए ।
‘बैठकले कोरोनाका सम्भावित संक्रमितलाई राख्न हरेक स्थानीय तहमा क्वारेन्टाइनको क्षमता बढाउने निर्णय गरेको छ’—बैठकको निर्णय सुनाउँदै प्रमुख जिल्ला अधिकारी रिजालले भने । पछिल्लो प्रक्षेपणले दाङ जिल्लामा रहेका एउटा वडाले कम्तिमा ८० जना राख्नसक्ने क्वारेन्टाइन निर्माण गर्नुपर्ने छ । हाल जिल्लामा कोरोनाका सम्भावित संक्रमितलाई राख्न जम्मा २ सय ८८ बेडको मात्रै व्यवस्थापन गरिएको छ ।
बैठकमा यो क्षमतालाई विस्तार गरी जिल्लामा रहेका दशवटै स्थानीय तहहरुले कम्तिमा २ सय सम्भावित संक्रमितलाई राख्नसक्ने क्षमताका क्वारेन्टाइन निर्माण गर्ने सहमति भएको छ । जिल्लाका सबै पालिका प्रमुखहरुले आ–आफ्नो क्षेत्रमा क्वारेन्टाइनको क्षमता बढाउने विषयमा सहमति जनाएका थिए । यसैगरी बैठकमा सबै पालिकाहरुले भारतीय सीमानाकाबाट फर्कने व्यक्तिहरुको अभिलेख राख्नेमा पनि सहमति भएको छ । हरेक व्यक्तिको अभिलेखका आधारमा सबैको अनिवार्य रुपमा कोरोना परीक्षण समेत गर्नेमा स्थानीय पालिकाहरु सहमत भएको पनि बैठकपछि प्रमुख जिल्ला अधिकारीले बताएका छन् । कहाँ, कति क्षमताको क्वारेन्टाइन निर्माण गर्ने भन्ने विषयमा भने स्थानीय पालिकाहरुले केही दिनमै निर्णय गर्ने छन् । सरकारले भारतीय सीमामा अलपत्र नेपालीलाई स्वदेश फर्काउने भन्दै मुलुकभरिका क्वारेन्टाइनहरु खाली गर्न निर्देशन दिएपछि जिल्लामा अझै पनि सञ्चालनमा आएका सबै क्वारेन्टाइनहरु खाली हुनसकेका छैनन् ।
यसैगरी बैठकले लकडाउनलाई थप कडाई गर्ने र अनावश्यक भीडभाड र आवागमनमा रोक लगाउने पनि निर्णय गरेको छ । क्रमांगत विकास निर्माणका योजनाहरुलाई भने सुचारु गर्दै राष्ट्रिय गौरबका योजनाहरुको निर्माण कार्यलाई पनि निरन्तरता दिने निर्णय गरेको छ । नागरिकलाई अत्यावश्यक दैनिक उपभोग्य सामग्रीहरुको आपूर्तिका लागि सहज व्यवस्थापन गर्दै बजारमा कृत्रिम अभाव सिर्जना गरी कालोबजारी गर्नेलाई कारवाही गर्नेजस्ता विषयमा पनि वृहत छलफल भएको थियो ।
क्वारेन्टाइन थप्न सकिन्छ : पालिकाहरु
पालिकाहरुले आवश्यक परेमा क्वारेन्टाइनको संख्या थप्न सकिने जनाएका छन् । क्वारेन्टानको लागि विद्यालय नै उपयुक्त भएको पालिकाहरुले जनाएका छन् । विद्यालयमा क्वारेन्टाइन बनाउँदा बेञ्च नै प्रयोग गरेर बेड बनाउन सकिने भएकाले त्यो नै उपयुक्त भएको एक पालिका अध्यक्षले बताए । हाल सञ्चालनमा भएका अधिकांश क्वारेन्टाइन विद्यालयका भवनमा छन् । घोराही उपमहानगरपालिकाको मात्र विद्यालय बाहिर क्वारेन्टाइन निर्माण गरेको छ । कोरोना संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) को शनिवार बसेको बैठकले जिल्लाका प्रत्येक पालिकामा क्वारेन्टाइनको संख्या बढाउने निर्णय गरेको थियो ।
बैठकले प्रत्येक पालिकामा न्यूनतम २ सय बेडको तयारी गर्ने निर्णय गरेको थियो । त्यो निर्णयसँगै क्वारेन्टाइन निर्माणको काम अघि बढाएका पालिकाले जनाएका छन् । ‘क्वारेन्टान निर्माणको लागि सभावित स्थानहरु पहिचान गरेका थियौँ, अब बेड निर्माणको तयारी सुरु भएको छ’ राजपुर गाउँपालिका अध्यक्ष लोकराज केसीले भने ‘दुई/तीन दिनमा थप क्वारेन्टाइन सञ्चालनमा आउने छन् ।’ पालिकाले यस अघि २६ बेडको क्वारेन्टाइन सञ्चालनमा ल्याएको थियो । विद्यालयको भवनलाई नै क्वारेन्टाइनमा प्रयोग गर्न लागेको उनले बताए । ‘वडा–वडामा विद्यालय भवन छन् । सम्बन्धित ठाउँका मान्छेलाई सम्बन्धित वडाका विद्यालयमा निर्माण गरेका क्वारेन्टाइनमा राख्दा सहज हुन्छ’–उनले भने–‘बेड बनाउँदा गाउँबाट कपडा लिन सकिन्छ । त्यो भएमा सहज समेत हुन्छ ।’
बंगलाचुली गाउँपालिकाले पनि प्रत्येक वडामा क्वारेन्टाइन निर्माण गर्ने भएको छ । गाउँपालिकाको कार्यपालिकाको बैकठले प्रत्येक वडामा क्वारेन्टाइन निर्माण गर्ने निर्णय गरेको हो । यस अघि पालिकाले एउटा विद्यालय र विपन्न परिवारलाई राख्नको लागि निर्माण गरेको घरमा गरेर ३० बेडको क्वारेन्टाइन सञ्चालन गरेको छ ।
क्वारेन्टाइनका लागि विद्यालय भवन वाहेक अन्य सामुदायिक भवनहरु पनि प्रयोग गर्न सकिने भएका कारण ठाउँको समस्या नहुनेमा पालिकाहरु ढुक्क छन् । तर निर्धारित मापदण्डअनुसारको र त्यहाँ बस्नेलाई आवश्यक सुविधा उपलब्ध गराउन चुनौती भने यसपछि पनि कायम रहने छ । निर्माण भएका क्वारेन्टाइनका बेडहरु त्यति व्यवस्थित हुन नसकेको गुनासो आइरहेको छ । त्यसैगरी सरसफाई र त्यहाँ बस्नेहरुको सुविधाका सम्बन्धमा पनि प्रशस्त गुनासो सुनिएको छ । नयाँ क्वारेन्टाइन निर्माण गर्दा यी चुनौतीहरुलाई पनि सम्बोधन गर्नुपर्ने छ ।