आर्थिक रुपान्तरणको युगलाई बेसले नेतृत्व गर्छ : चौधरी

दाङ, ३१ बैशाख  बेस संस्था (ब्याकवार्ड सोसाइटी एजुकेशन)को ३१ औं वार्षिक साधारणसभा बिहीबार सम्पन्न भएको छ।  दंगीशरण गाउँपालिका-३ चखौरामा सम्पन्न साधारणसभामा सहभागी बेसका प्रतिनिधि तथा अगुवाहरूले अब सामुदायको आर्थिक रुपान्तरणमा बेसका कार्यक्रमहरू केन्द्रित हुनुपर्नेमा जोड दिएका थिए।

बेसले संगठन बिस्तार गरेका विभिन्न जिल्लाका करिब ५ सयभन्दा धेरै प्रतिनिधिहरू सहभागी साधारणसभालाई सम्बोधन गर्दै संस्थापक अध्यक्ष डिल्लीबहादुर चौधरीले शिक्षाको अँध्यारोबाट थारू समुदायलाई उज्यालोतिर डोर्‍याउनका लागि जन्मिएको बेसले एउटा युग पार गरिसकेको बताउँदै अबको रणनीति समुदायको आर्थिक रुपान्तरण भएको बताए।

‘बेस एउटा सामाजिक संस्थामात्रै नभएर एउटा शैक्षिक अभियानबाट जन्मिएको सामाजिक आन्दोलनको एक हिस्सा हो। शिक्षासँगै कमैया/कम्लहरीमुक्ति र बालश्रमविरुद्धको आन्दोलनसँगै जन्मिएको बेसले अब एउटा युग पार गरिसकेको छ’ चौधरीले भने ‘अब समुदायको आर्थिक रुपान्तरणको बेला आएको छ। बेस अब हरेक घरघरमा आर्थिक रुपान्तरणको नारा र कार्यक्रमहरू बोकेर आउँछ।’

उनले थारूहरूको सभ्यता जीवितै राख्नेगरी थारू समुदायको परम्परागत सिप, मौलिक कला र संस्कार अनि संस्कृतीलाई समेत ब्यावसायीकीकरण गर्दै लैजानुपर्ने उनको भनाइ थियो। आदिवासीको परम्परागत सिपको विश्वबजारीकरण बढ्दै गइरहेको भन्दै चौधरीले नेपालका आदिवासी थारू समुदायको परम्परागत सिपलाई समेत अन्तर्राष्ट्रिय बजारमा चिनाउनुपर्ने बेला भइसकेको पनि उनले बताए।

‘हामी अब थारूहरूलगायत नेपालका हरेक आदिवासीको परम्परागत सिप र कलालाई अन्तर्राष्ट्रिय बजारसँग जोड्नेगरी रणनीतिहरू तय गरेका छौं’ उनले भने ‘यहाँका हरेक सरकारहरूले समेत त्यसका लागि नीति बनाउनुपर्ने जरूरी छ। अन्तर्राष्ट्रिय बजारमा हामी जोडिदैंछौं।’ त्यसका लागि आफ्नो परम्परागत सिप र कलालाई ब्यावसायिक कसरी बनाउने भन्नेबारेमा अब समुदायका हरेक अगुवाहरूले आफ्नो समुदायमा सचेतना पुर्‍याउनुपर्ने उनको भनाइ थियो।

त्यस्तै उनले कुनै बेला बालश्रमविरुद्ध अन्तर्राष्ट्रिय अभियानमासमेत जोडिएर आन्दोलन गरेको बेसको अबको दायित्व ‘बालबिवाहमुक्त नेपाल’ रहेको पनि बताए। चौधरीले सभ्य समाज निर्माणका लागि बेसले अब बालबिवाहविरुद्ध अभियान देशब्यापी बनाउने लक्ष्य राखेको पनि जानकारी दिए।

‘बालबिवाह कुनै व्यक्तिको मात्रै नभएर सिङ्गो देशकै भविष्यको बर्वादी पनि हुनसक्छ। त्यसैले बालबिवाह सामाजिक कलंकमात्रै नभएर कानुनी अपराधका रुपमा पनि कानुनले पहिचान गरिसकेको छ’ चौधरीले भने ‘बेसको अर्को अभियान भनेको अब नेपाललाई बालबिवाहमुक्त बनाउने हो।

‘बेसको सुरुवाती आन्दोलनको एक बाँकी अंश कमैयाको दीगो सामाजिक, आर्थिक र सामाजिक पुन:स्थापना हो। यो काम अझै बाँकी छ र बेसको अभिभारा पनि बाँकी छ’ चौधरीले भने ‘राज्यले पनि सुन्नुपर्छ, हामीले पनि सुनाउनुपर्छ। एउटा पुस्ता बित्नेबेला भइसकेको छ। अब मुक्त कमैयाको दीगो व्यवस्थापन हुनैपर्छ। बेस अब त्यो अभियानमा पनि अझ सशक्त भएर लाग्नेछ।’

साधारणसभा उद्घाटन शत्रमा बेसका केन्द्रीय बरिष्ठ उपाध्यक्ष यज्ञराज चौधरी, बेस पूर्बरुकुम जिल्ला समितिका अध्यक्ष कृष्णबहादुर बुढा, पश्चिम रुकुमका अध्यक्ष दशरथ नेपाली, बेस कञ्चनपुरका जिल्ला समितिका अध्यक्ष हवल्दार चौधरी, कैलालीका जिल्ला अध्यक्ष रामप्रसाद चौधरी, बर्दियाका जिल्लाअध्यक्ष शालिकराम चौधरी, बेस जिल्ला समिति दाङका कृष्णबहादुर चौधरी, केन्द्रीय पदाधिकारीका तर्फबाट जुना खड्का, नेपालमा बालबालिकाका लागि अधिकार (जेआरसिएन)का अध्यक्ष चन्द्रबहादुर चौधरी, पत्रकार तथा बरिष्ठ सहजकर्ता सुशील बस्नेत, बाँसगढी पालिका समिति अध्यक्ष मनिराम चौधरी, गढवाका रामलाल चौधरी, थारू सांस्कृतिक संरक्षण केन्द्रका उपाध्यक्ष शान्ता चौधरी, बेसका कार्यक्रम निर्देशक पिंकी डाँगी, मुक्त कमैया समाजका तर्फबाट भागीराम चौधरीलगायतले बेसको ३० वर्षे यात्रा र आगामी दिनमा तय गर्नुपर्ने रणनीतिका बारेमा सुझाव तथा शुभकामना मन्तब्य दिएका थिए।

साधारणसभाले महासचिव महासचिव लोकजन चौधरीले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन र कोषाध्यक्ष राजेश चौधरीले पेस गरेको आर्थिक प्रतिवेदनलाई सर्वसम्मत पारित गरेको थियो। बेसका उपाध्यक्ष डुफुलाल चौधरीले स्वागत मन्तब्य व्यक्त गरेको साधारणसभालाई बेसका कार्यकारी निर्देशक चुर्णबहादुर चौधरीले सहजीकरण गरेका थिए।