दाङ,३० वैशाख । दाङको दिर्घकालीन विकास र समृद्धिसँग जोडिएका महत्वपूर्ण भौतिक पूर्वाधार निर्माणका लागि आगामी आर्थिक वर्ष २०८३÷०८४ को बजेटमा पर्याप्त रकम विनियोजन गर्न घोराही बनाऔं अभियानले सरकारसँग माग गरेको छ ।
अभियानका संयोजक सविन प्रियासन नेतृत्वको टोलीले जिल्ला प्रशासन कार्यालय दाङमार्फत प्रधानमन्त्री बालेन शाहलाई ज्ञापनपत्र बुझाउँदै टरिगाउँ विमानस्थल स्तरोन्नति, औद्योगिक क्षेत्र निर्माण, मल उद्योग स्थापना, खेल स्टेडियम निर्माण, कोइलाबास भन्सार सञ्चालन तथा रणनीतिक सडक निर्माणका लागि बजेट सुनिश्चित गर्न आग्रह गरेको हो ।
ज्ञापनपत्र प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालमार्फत प्रधानमन्त्रीलाई पठाइएको छ । ज्ञापनपत्रमा दाङ जिल्लाको विकासले पछिल्ला वर्षमा गति लिएपनि जिल्लाको दिर्घकालीन हितसँग जोडिएका केही महत्वपूर्ण संरचना अझै निर्माण हुन नसकेको उल्लेख गर्दै विशेषगरी तुलसीपुरस्थित टरिगाउँ विमानस्थल देशकै पुराना विमानस्थल भएपनि नियमित हवाई सेवा सञ्चालन हुन नसकेको भन्दै आगामी बजेटमा यसको स्तरोन्नतिका लागि आवश्यक रकम छुट्याउन माग गरिएको छ ।
विमानस्थल विस्तार गरी ७२ सिटे जहाज नियमित सञ्चालन हुने वातावरण निर्माण गर्नुपने, घोराही उपमहानगरपालिका–३ मा प्रस्तावित औद्योगिक क्षेत्र निर्माणका लागि पर्याप्त बजेट विनियोजन गर्न तथा कृषि क्षेत्रमा देखिएको रासायनिक मल अभाव समाधान गर्न मल उद्योग स्थापना प्रक्रिया अघि बढाउन सरकारसँग आग्रह गरिएको छ । त्यसैगरी ज्ञापनपत्रमा दाङको एक मात्र भन्सारका रुपमा रहेको कोइलाबास भन्सारलाई व्यवस्थित सञ्चालन गर्नुपर्ने, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई चार सय शय्यामा विस्तार गर्न बजेट सुनिश्चित गरी टेन्डर आह्वान गर्नुपर्ने, घोराही–होलेरी–रोल्पा, घोराही–मुर्कुटी–प्यूठान, घोराही–स्वर्गद्वारी, तुलसीपुर–सुर्खेत, तुलसीपुर–कपुरकोटलगायत सडक निर्माण तथा पुनर्निर्माणका लागि बजेट विनियोजन गर्न आग्रह गरिएको छ ।
निर्माणाधिन अवस्थामा रोकिएको हापुर–रक्षाचौर सडक निर्माण कार्य पुनः सञ्चालन गर्नुपर्ने, खेलकुद पूर्वाधार विकासअन्तर्गत लमही र घोराहीका क्रिकेट मैदानलाई सुविधासम्पन्न स्टेडियमका रूपमा विकास गर्नुपर्ने, तुलसीपुरको बेलझुण्डी र घोराहीको बाहुनडाँडास्थित फुटबल मैदानलाई स्तरोन्नतिका लागि बजेट माग गरिएको घोराही बनाऔ अभियानका संयोजक सविन प्रियासनले जानकारी दिनुभएको छ ।
ज्ञापनपत्र बुझाउन नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सचिव समेत रहनुभएका अभियान संयोजक प्रियासनसँगै नेपाल पत्रकार महासंघ दाङ शाखा अध्यक्ष सन्तोष सुवेदी,नेपाल पत्रकार महासंघ दाङ शाखा पूर्वअध्यक्ष केएल बुढाथोकी, अधिकारकर्मी लक्ष्मी आचार्य, अनिता पोख्रेल, घोराही बनाऔ अभियानका उपसंयोजक विनोद केसीलगायतको सहभागीता रहेको थियो ।