लीलाधर वली÷नुमाकान्त पौडेल
दाङ, २५ वैशाख । घोराही उपमहानगरपालिका–१० नारायणपुर क्षेत्रमा खानेपानीको स्रोत घट्दै जाँदा उपभोक्ता समस्यामा परेका छन् । पानीको स्रोतका रूपमा रहेका डिपबोरिङमा आएको कमीका कारण उपभोक्तालाई नियमित रूपमा पानी उपलब्ध गराउन कठिनाइ भएको नारायणपुर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाले जनाएको छ । जनसङ्ख्या बढ्दै गएको नारायणपुर क्षेत्रमा पानीको स्रोत ५० प्रतिशतले घट्दा पानी वितरणमा सङ्कट देखिन थालेको हो ।
पानीको स्रोत घट्दा संस्थाले यस अघि दैनिक करिब २३ लाख लिटर पानी वितरण गर्दै आएकोमा अहिले करिब आधामा झरेर १२ लाख लिटरमा सीमित भएको नारायणपुर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका अध्यक्ष कुलप्रसाद रजौरे ‘श्रवण’ जानकारी दिएका छन् । पानीको स्रोतमा कमी आउँदा चार हजार २९ घर उपभोक्ता प्रत्यक्ष प्रभावित भएका छन् ।
गर्मी समयसँगै पानीको माग बढिरहेको अवस्थामा पानीको आपूर्ति घट्दा समस्या हुने गरेको घोराही उपमहानगरपालिका–१० निवासी उपभोक्ता सीता केसी बताउँछिन् । धारामा पर्याप्त पानी नआउँदा भान्सा तथा सरसफाइ जस्ता दैनिक कार्यमा समेत कठिनाइ भइरहेको छ ।
‘पहिले घरमा निरन्तर पानी आउँथ्यो, समस्या थिएन’, उनले भनिन्, ‘तर अहिले बिहान÷साँझ पानी आउने गरे पनि कम आउँछ, जसले गर्दा भाँडामा पानी सङ्कलन गरेर राख्नु पर्ने बाध्यता छ ।’ पानीको स्रोतमा कमी आएसँगै पानी भर्नका लागि धेरै समय धारा खोल्नु पर्ने र उपभोक्तालाई शुल्क बढी तिर्नु पर्ने बाध्यता भएको उपभोक्ताले गुनासो गर्दै आएका छन् ।
जलवायु परिवर्तनसँगै पछिल्लो समय पानीको स्रोत घट्दै गएको र त्यसको असर अहिले नारायणपुर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाले भोग्नु परेको संस्थाका अध्यक्ष रजौरे बताउँछन् ।
पानीका मुहान सुक्दै जानु नै अहिले देखिएको समस्याको मुख्य कारण भएको भन्दै अध्यक्ष रजौरेले भने, ‘अहिले नारायणपुर क्षेत्रमा पानी वितरणका लागि मुख्य स्रोतका रूपमा रहेका वीपी बाटिकाका दुई वटा र झारबैरामा रहेको डिपबोरिङमा पानीको स्रोत आधाले घटेको छ । जसले गर्दा पर्याप्त मात्रामा पानी वितरण गर्न सकेका छैनौँ ।’
गत वर्षसम्म यस्तो समस्या नदेखिएको भन्दै यो वर्ष नारायणपुर क्षेत्रमा खानेपानीको समस्या बढी देखिएको संस्थाका उपाध्यक्ष रेशमबहादुर बस्नेत बताउँछन् । पानीको स्रोतमा आएको कमीसँगै उपभोक्ताको माग अनुसार वितरण गर्न नसकिएको उनको भनाइ छ । पर्याप्त पानी वितरण गर्न नसक्दा उपभोक्तामा असन्तुष्टि बढाएको छ ।
नारायणपुर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाले घोराही उपमहानगरपालिका वडा नं. ८, ९, १०, ११ र १२ का विभिन्न बस्तीमा पानी वितरण गर्दै आएको छ । पानी वितरणका लागि पाँच वडाका विभिन्न स्थानमा ११ वटा डिपबोरिङ सञ्चालनमा रहेका छन् भने अर्घु, झारबैरा र मर्फाडाँडामा ओभरहेड ट्याङ्की निर्माण गरेर उपभोक्तालाई पानी वितरण गर्दै आएको छ । नारायणपुर क्षेत्रमा देखिएको खानेपानी समस्या समाधानका लागि तत्काल नयाँ डिपबोरिङ निर्माण गर्नु आवश्यक रहेको अध्यक्ष रजौरे बताउँछन् ।
नारायणपुर क्षेत्रमा दीर्घकालीन रूपमा खानेपानीको समाधानका लागि ‘दक्षिण बबई लिफ्टिङ खानेपानी आयोजना’ अघि बढाएको भन्दै अध्यक्ष रजौरेले तत्काल देखिएको खानेपानी समस्या समाधानका लागि नयाँ डिपबोरिङ निर्माण वा हापुर खोलामा निर्माण गरिएको सम्बेल (जमिनमुनिको पानी सङ्कलन गर्ने ठाउँ)लाई सञ्चालनमा ल्याउनु आवश्यक रहेको बताए । ‘दक्षिण बबई लिफ्टिङ खानेपानी योजनालाई अघि बढाएको छौँ, यो योजनामा बजेट परेर सम्पन्न हुन समय लाग्ने देखिन्छ’, अध्यक्ष रजौरेले भने, ‘गर्मी समयमा नारायणपुर क्षेत्रमा देखिएको खानेपानीको सङ्कट समाधानका लागि नयाँ डिपबोरिङ निर्माणसँगै हापुर खोलामा निर्माण गरिएको सम्बेललाई सञ्चालन गर्नु पर्ने आवश्यकता छ ।’
डिपबोरिङका लागि खानेपानी तथा ढल निकास आयोजना नेपालगन्जसँग बजेट माग गरिएको तर बजेट अभाव देखाउने गरेको बताए । दक्षिण बबई लिफ्टिङ खानेपानी योजना अन्तर्गत बबई नदीबाट पानी ल्याई दुन्द्रा, मर्फाडाँडा, वनगाउँ हुँदै नारायणपुर बजार क्षेत्रमा वितरण गर्ने योजना रहेको छ । यसका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भइसकेको र बजेट सुनिश्चिताका लागि सम्बन्धित निकायमा प्रस्ताव पठाइएको अध्यक्ष रजौरे बताउँछन् ।