गोरक्ष समाचारदाता
लमही, २५ वैशाख । एभरेस्ट बैंक लिमिटेड लमही शाखाले दृष्टिविहीनता न्यूनीकरणका लागि आर्थिक सहयोग गरेको छ ।
नेपाल नेत्रज्योति संघ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगन्ज अन्तर्गत सञ्चालित लमही आँखा अस्पताललाई एभरेस्ट बैंक लिमिटेडले पाँच लाख रकम सहयोग गरेको आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगन्जका प्रमुख प्रशासक डा सम्शेर थापाले जानकारी दिएका हुन् । बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत मोतियाविन्दुको शल्यक्रियाका लागि अस्पताललाई सो सहयोग गरेको हो ।
लमही आँखा अस्पतालमा कार्यक्रमको आयोजना गरेर बैंकका प्रदेश प्रमुख निरञ्जन कार्की, लमही शाखाका प्रबन्धक देवेन्द्र अर्यालसहित बैकका कर्मचारीले पाँच लाख रुपैयाँको चेक नेपाल नेत्रज्योति संघ दाङ शाखा उपभापति रेशमबहादुर खड्कासहितका अस्पताल प्रशासन समितिका पदाधिकारीलाई हस्तान्तरण गरेका थिए ।
सहयोग रकम हस्तान्तरण गर्दै प्रदेश प्रमुख कार्कीले बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत मोतियाविन्दुका बिरामीको शल्यक्रियाका लागि सो रकम उपलब्ध गराएको बताए । बैंकका शाखा प्रमुख देवेन्द्र अर्यालले बैंकले विभिन्न किसिमका सामाजिक कार्यमा सहयोग गर्दै आएको भन्दै लमही आँखा अस्पताललाई मोतियाविन्दुको शल्यक्रियाका लागि सहयोग गरेको र आगामी दिनमा बैंकले गर्न सक्ने थप सहयोग सहकार्य हुने बताए ।
सो अवसरमा नेपाल नेत्रज्योति संघ दाङका उपभापति रेशमबहादुर खड्काले दृष्टिविहीनता न्यूनीकरण लागि बैंकले गरेको यस कार्य अनुकरणीय भएको भन्दै धन्यवादसमेत दिएका थिए । कार्यक्रममा अस्पताल प्रशासनिक समितिका संयोजक लीला शाह, प्रमुख प्रशासक डा सम्शेर थापा, बरिष्ठ प्रशासकीय अधिकृत जसराज विश्वकर्माले अस्पताललाई आर्थिक सहयोग उपलब्ध गराएकोमा धन्यवाद दिँदै आगामी दिनमा थप सहयोग सहकार्यको अपेक्षा गरेका थिए ।
प्राप्त रकमबाट आर्थिक अभावका कारण मोतियाविन्दुको शल्यक्रिया गराउन नसकेका बिरामीको शल्यक्रिया गरिने प्रमुख प्रशासक डा. थापाले जानकारी दिए ।