‘मुस्लिम समुदायसँगै समग्र दाङको विकास प्राथमिकतामा : प्रतिनिधिसभा सदस्य सिद्धिकी

दाङ, २४ बैशाख । प्रतिनिधिसभा सदस्य साजिदा सिद्धिकीले मुस्लिम समुदायको अधिकार संरक्षणसँगै समग्र दाङको विकासका लागि सक्रिय भूमिका खेल्ने बताएकी छिन् । मुस्लिम आयोगले बिहीबार घोराहीमा आयोजना गरेको ’मुस्लिम समुदायको सशक्तिकरणका लागि सरोकारवालासँगको अन्तरक्रिया कार्यक्रम’लाई सम्बोधन गर्दै प्रतिनिधिसभा सदस्य सिद्धिकीले मुस्लिम समुदायलाई शिक्षासँगै आयआर्जनसँग जोडेर माथि उठाउनुपर्नेमा जोड दिएकी हुन ।

मुस्लिम समुदाय अझै पनि शिक्षा, स्वास्थ्य, रोजगारी तथा राजनीतिक पहुँचका हिसाबले पछाडि रहेको उल्लेख गर्दै उनले राज्यले विशेष नीति तथा कार्यक्रममार्फत समुदायको सशक्तिकरणमा ध्यान दिनुपर्ने बताइन् । संविधानले सबै नागरिकलाई समान अधिकार सुनिश्चित गरे पनि व्यावहारिक कार्यान्वयन अझै चुनौतीपूर्ण रहेको भन्दै उनले मुस्लिम महिलाहरूको शिक्षा र नेतृत्व विकासमा विशेष ध्यान दिनुपर्नेमा जोड थियो । उनले भनिन,“समुदायको विकासका लागि शिक्षा सबैभन्दा ठूलो आधार हो, त्यसैले बालबालिका र महिलाको शिक्षामा लगानी बढाउनुपर्छ ।’’ साथै उनले लुम्बिनी प्रदेशमा मुस्लिम समुदायका विद्यार्थीका लागि विश्वविद्यालय स्थापना, टरिगाउँ एयरपोर्टको स्तरवृद्धि, दाङ–स्वर्गद्वारी सडक निर्माणलगायतका विकास आयोजना र मानवअधिकारसम्बन्धी विषयलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिवद्धता व्यक्त गरिन ।

कार्यक्रममा संविधानसभा सदस्य अनारकली मियाले संविधानले कानुनी रूपमा अधिकार सुनिश्चित गरेपनि व्यावहारिक रूपमा अनुभूति हुन नसकेको बताउँदै सबै पक्ष मिलेर मुस्लिम समुदायलाई आर्थिक र सामाजिक रूपमा माथि उठाउन लाग्नुपर्नेमा जोड दिइन् । घोराही उपमहानगरपालिकाका प्रतिनिधि नरुलाल चौधरीले स्थानीय तहले सबै समुदायलाई समेटेर विकास कार्यक्रम अघि बढाइरहेको बताउँदै मुस्लिम समुदायका युवालाई स्वरोजगार तथा सीप विकाससँग जोड्न नयाँ बजेटमार्फत सम्वोधन गरिने बताए । समुदायभित्रका विवादहरू समुदायभित्रै मिलाउन र क्षमता विकास तथा रोजगारका विषयमा स्थानीय सरकारले सहयोग गर्ने उनको भनाइ थियो । घोराही उपमहानगरपालिकाकी उपप्रमुख डिसीले महिला तथा बालबालिकाको सहभागिता बढाउन स्थानीय सरकारले विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको उल्लेख गर्दै मुस्लिम समुदायकी महिलालाई पनि नेतृत्व तहमा अघि ल्याउनुपर्ने बताइन् ।

प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र सामुदायिक एकतालाई बलियो बनाउन यस्ता अन्तरक्रिया कार्यक्रम प्रभावकारी हुने बताउँदै सबै समुदायबीच आपसी समझदारी र सहकार्य कायम राख्न आग्रह गरेका थिए । नेपाल पत्रकार महासंघका केन्द्रीय निवर्तमान अध्यक्ष विपुल पोख्रेलले सञ्चारमाध्यमले मुस्लिम समुदायका सकारात्मक पाटाहरूलाई प्राथमिकताका साथ उठाउनुपर्नेमा जोड दिएका थिए । नेपाल पत्रकार महासंघको दाङ शाखाका अध्यक्ष सन्तोष सुवेदीले मुस्लिम समुदायका सवालहरू सञ्चारमाध्यममार्फत प्रभावकारी रूपमा उठाउने प्रतिबद्धता व्यक्त गरेका थिए ।

मुस्लिम आयोगका कार्यवाहक अध्यक्ष महमदिन अलिको अध्यक्षतामा भएको कार्यक्रममा वक्ताहरूले मुस्लिम समुदायका सवालहरू राज्यका विभिन्न निकायसम्म पु¥याउने र नीति निर्माण तहमा समुदायको पहुँच विस्तार गर्ने काममा मुस्लिम आयोगले नेतृत्वदायी भूमिका खेल्नुपर्नेमा जोड दिए । समुदायको पहिचान, भाषा, संस्कृति र धार्मिक स्वतन्त्रताको संरक्षण गर्दै सामाजिक तथा आर्थिक सशक्तिकरणमा सबै पक्षले सहकार्य गर्नुपर्नेमा जोड दिएका थिए । साथै सहभागीले बदरामा शिक्षकको व्यवस्था नभएको, सशक्तिकरणका लागि बजेट नछुट्याउने गरेको र मृतकको शव गाड्नका लागि समेत उचित स्थान नहुँदा समस्या परेको गुनासो गरेका थिए ।

कार्यक्रममा मुस्लिम आयोगका सदस्य मिर्जा अरशद बेग, मोहम्मद समसुल हक, समुदायका अगुवा बदुरदिन राई र रजिब उल्लाह खानलगायतले भाषा तथा संस्कृतिको संरक्षणसँगै नागरिकतासम्बन्धी समस्या समाधानका लागि आयोगले पहल गर्नुपर्नेमा जोड दिएका थिए । मुस्लिम आयोगका सदस्य समसुल हकको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण मिनराज आचार्यले गरेका थिए । कार्यक्रममा विभिन्न व्यक्तिलाई सम्मान गरिएको थियो ।