calander

October 2025
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031  

Goraksha

National Daily

तेरौटेमा कांग्रेसको चुनावी सभा

दाङ,२ मंसिर । स्थानीय तह उपनिर्वाचन आउन १२ दिन मात्र बाँकी रहदा उम्मेदवारहरु चुनावी प्रचारमा व्यस्त रहेका छन । यसैक्रममा नेपाली कांग्रेस घोराही उपमहानगरपालिका वडा नं १६ ले घरदैलो तथा चुनावी कार्यक्रम अन्तर्गत सोमवार घोराही उपमहानगरपालिका वडा नं. १६ को तेरौटेमा घरदैलो तथा चुनावी सभा गरेको छ ।

उक्त सभालाई सम्वोधन गर्ने नेताहरु कर,मंहगी, अन्याय, अत्याचार र भ्रष्टाचारको अन्त्यका लागि नेपाली कांग्रेसलाई उपनिर्वाचनमा जिताउन आग्रह गरेका थिए । कम्युनिष्ट सरकारका कारण देशमा महंगी, भ्रष्टाचार,करको बृद्धिसँगै जनताले न्यायको अनुभुति गर्न समेत नसकेको बताएका थिए ।

कार्यक्रमलाई सम्वोधन गर्दै नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. डिला संग्रौलाले कर,मंहगी र भ्रष्टाचारको अन्त्यका लागि नेपाली कांग्रेसका उम्मेदवारलाई जिताउन आग्रह गरेकी थिइन । कार्यक्रमकी प्रमुख अतिथि रहेकी संग्रौलाले देश कम्युनिष्ट सरकारले दुई बर्ष चलाउँदा जनताले विकास अनुभुति गर्न समेत नसकेको बताइन । तेरौटे आफ्नो जन्मथलो भएको भन्दै प्रतिनिधिसभा सदस्य समेत रहेकी सांसद संग्रौलाले तेरौटेको विकास कांग्रेसले मात्र गर्न सक्ने बताइन ।

आफ्नो जन्मस्थल तेरौटेको विकासका त्यस्तै कार्यक्रममा राष्ट्रियसभा सदस्य अनिता देवकोटाले जनतालाई विकासको अनुभुति दिलाउनसँगै वडामा सुशासनको शासन स्थापना गर्नका लागि नेपाली काग्रेसका उम्मेदवारलाई निर्वाचनमा बिजयी बनाउन आग्रह गरिन । नेपाली कांग्रेस नयाँ नारा र भाषणमा मात्र सिमित रहने पार्टी भएको भन्दै व्यवहारमै जनतालाई परिवर्तनको अनुभुति दिलाउने पार्टी भएको समेत उनले बताइन ।

त्यस्तै कार्यक्रममा काठमाडौँ महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्कीले देशलाई बिखण्डनबाट जोगाउनकै लागि भएपनि जनताले कांग्रेसलाई मतदान गर्न आग्रह गरिन । कम्युनिष्ट सरकारका कारण देशमा हत्याहिंसा, बलात्कार, कर,मंहगीसँगै भ्रष्टाचार बढेको भन्दै उपप्रमुख खड्कीले यस्ता प्रवृतिको अन्त्यका लागि निर्वाचनमा कांग्रेसलाई जिताउन समेत आग्रह गरिन ।

त्यस्तै कार्यक्रममा नेपाली कांग्रेसका नेता तथा पूर्व सांसद राजु खनाल, नेपाली कांग्रेस क्षेत्र नं.२ का सभापति भुपबहादुर डाँगी, वडा नं. १६ का उम्मेदवार ताराबहादुर डाँगी, नेपाल महिला संघ दाङका अध्यक्ष गोमा रावत, नेपाली काग्रेस साविक क्षेत्र नं. १ का सभापति सुरेश पछाई,नेपाली कांग्रेस साविक क्षेत्र नं. ३ का क्षेत्रीय सभापति हर्कबहादुर खत्रीलगायतले चुनावीसभालाई सम्वोधन गरेका थिए ।
नेपाली कांग्रेसका नेता तुलसीराम रानाको अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रमको सहजीकरण नेपाली कांग्रेस क्षेत्र नं. २ का सचिव बद्री खड्काले गरेका थिए ।