मेरो खुशी : खेलकुदबाट चिनिन पाउँदा …

गाउँले जीवन, सीमित साधन तर खेलाडी बन्ने अदम्य सपना । यही अवस्था र चाहनाकाबिच हुर्किएकी १७ वर्षीया गरिमा चौधरीले छोटो समयमै मेहनत र लगनशीलताले आफ्नो पहिचान बनाउँदै आएकी छिन्– एउटी सफल एथलेटिक्स खेलाडीको रूपमा ।

घोराही उपमहानगरपालिका–१७ चौघेरा निवासी चौधरीले खेल्न थालेको करिब पाँच वर्षको अवधिमा नगर, जिल्ला, प्रदेश हुँदै राष्ट्रियस्तरसम्मका विभिन्न प्रतियोगिता खेल्दै दर्जनौँ पदक जित्दै एथलेटिक्समा उज्ज्वल भविष्यको सङ्केत गरेकी छिन् । साधारण परिवारमा जन्मिएकी चौधरीले खेलकुदको माध्यमबाट आफ्नो र परिवारको जीवनमा नयाँ रंग भरेकी छिन् ।

घोराही–१७ चौघेरामा रहेको गोरक्षरत्ननाथ माध्यमिक विद्यालयमा अध्ययनका क्रममा गरिमाले सुरुमा आईटिएफ तेक्वान्दो खेलेकी थिइन् । खेलकुदप्रतिको रुचिले गरिमालाई तानिरहेको थियो । विद्यालयका खेल प्रशिक्षक अर्जुन घिमिरेले उनको दौड देखेपछि त्यहीँबाट उनको जीवन फेरियो । आईटिएफ तेक्वान्दो खेल्दै गरेकी गरिमालाई प्रशिक्षक घिमिरेले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी गराए ।

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीकाबिचमा हुने प्रतियोगिता हो । खेल प्रशिक्षकको त्यही निर्णयले गरिमाको एथलेटिक्स यात्राको ढोका खोलिदियो । ‘खेलप्रतिको रुचिले आईटिएफ तेक्वान्दो खेलमा लागेकी थिएँ, खेल्दै गर्दा गुरुले दौड देखेर राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी गराइदिनुभयो’, आफ्नो सुरुवातको कथा सुनाउँदै गरिमा भन्छिन्,‘त्यसपछि आइटिएफ तेक्वान्दो बढी दौड र लमजम्पतिरै छ । सफलता पनि प्राप्त गर्दै आएको छु ।’

२०७८ सालमा भएको नगरस्तरीय राष्ट्रपति रनिङ शिल्डमा उत्कृष्ट प्रदर्शन गरेपछि गरिमा जिल्ला हुँदै प्रदेशस्तरीय प्रतियोगितामा पुगिन् । २०७९ सालमा बुटवलमा भएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा पहिलो पटक जिल्ला बाहिर खेल्ने अवसर पाइन् । त्यो उनका लागि अविस्मरणीय क्षण बन्यो । प्रतियोगिता चलिरहँदा ज्वरोले थलिएकी गरिमाले अरू विधामा सहभागी हुन पाइनन्– तर हार मानिनन् ।

२०० मिटर दौडमा सहभागी भएर रजत पदक जितिन् । ‘प्रतियोगिता चलिरहँदा ज्वरो आयो, अरू विधामा सहभागी हुन पाइनँ’,उनी भन्छिन्,‘तर दुई सय मिटर दौडमा रजत पदक जित्दाको क्षण साँच्चै खुसी लागेको थियो, किनकि जिल्ला बाहिर खेलेको त्यो मेरो पहिलो खेल थियो ।’

गोरक्षरत्ननाथ माध्यमिक विद्यालय चौघेराबाट जिल्लास्तरीय रनिङ शिल्डमा पहिलो पटक दुई स्वर्ण र एक रजत गरी तीन पदक जितेकी गरिमाले त्यसयताका हरेक जिल्लास्तरीय रनिङ शिल्ड प्रतियोगितामा १०० मिटर सिङ्गल, २०० मिटर सिङ्गल, १०० मिटर रिले, ४०० मिटर रिले र लङजम्पमा गरी पाँच पदक जित्दै आएकी छिन् । भर्खरै बेलझुण्डीमा सम्पन्न भएको १६औँ दाङ जिल्लास्तरीय रनिङ शिल्ड प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै गरिमाले घोराही उपमहानगरपालिकालाई पहिलो बन्न महत्वपूर्ण भूमिका खेलिन् ।

उक्त प्रतियोगितामा उनले १०० मिटर दौड, २०० मिटर दौड, ४८१०० मिटर रिले र ४८४०० मिटर रिलेमा स्वर्ण तथा लङजम्पमा रजत पदक जितिन् । प्रतियोगितामा गरिमा उत्कृष्ट खेलाडी बनेकी थिइन् । अघिल्ला वर्षहरूमा पनि पदक जित्दै आएकी बताउँछिन् ।

२०८२ चैतमा गण्डकी प्रदेशको पोखरामा भएको ‘एथलेटिक्स नेसनल च्याम्पियनसिप–२०८२’ मा लुम्बिनी प्रदेशस्तरीय टिमबाट प्रतिस्पर्धा गर्दै उनले दुई रजत पदक जितिन् । पदकसँगै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रशिक्षक, कोच र वरिष्ठ खेलाडीहरूसँगको भेटले पनि उनलाई थप हौसला मिलेको छ । ‘खेलमा सहभागी भएपछि पदक जित्नु हरेक खेलाडीको लक्ष्य हुन्छ । सँगसँगै वरिष्ठ खेलाडीसँग प्रतिस्पर्धा गर्दा धेरै प्राविधिक कुराको ज्ञान हुन्छ, जुन मैले पोखरामा भएको प्रतियोगिताबाट सिक्ने अवसर पाएँ ।

स्वर्ण पदक जित्न नसके पनि त्यहाँ अग्रजहरूबाट पाएको हौसला मेरा लागि ठूलो प्रेरणा हो’, गरिमा भन्छिन् । खेलका लागि नियमित अभ्याससँगै जिम, खानपिन र खेल्ने सामाग्रीमा ध्यान दिन गुरुहरूले आग्रह गरे पनि घरको अवस्थाका कारण धेरै कुरा सक्ने अवस्था नरहेको बताउँछिन् । खेलमा उत्कृष्ट प्रदर्शनकै कारण गरिमाले कक्षा ८ देखि नै निःशुल्क अध्ययन गर्ने अवसर पाएकी छिन् ।

कक्षा १ देखि १० सम्म गोरक्षरत्ननाथ माध्यमिक विद्यालयमा आध्ययन गरेकी चौधरीले कक्षा ११ देखि घोराही उपमहानगरपालिका–१५ रतनपुरमा रहेको गुरुकुल एकेडेमीमा अध्ययनरत छिन् । पूर्ण निःशुल्क छात्रवृत्तिमा म्यानेजमेन्ट सङ्कायमा कक्षा १२ मा अध्ययनरत गरिरहेकी उनी भन्छिन्,‘रनिङ र लङजम्पमा प्राप्त गरेको सफलताले पदक र प्रमाणपत्रसँगै निःशुल्क अध्ययन गर्ने वातावरण समेत बनाइदिएको छ, यो मेरा लागि ठूलो खुसीको कुरा हो । खेलकुदमा गरेको सफलताले निःशुल्क पढ्ने अवसर जुटाएको छ ।’

यति सफलताका बाबजुद गरिमा चुनौतीबाट मुक्त छैनन् । जिल्लामा नियमित प्रशिक्षणको अभाव र खेल सामग्रीको कमीले उनलाई बेलाबखत निरुत्साहित बनाउँछ तर उनले हार मानेकी छैनन्। ‘राष्ट्रियस्तरका प्रतियोगितामा सहभागी हुँदा राम्रो जुत्ता हुँदैन, प्रशिक्षण पनि समस्या हुन्छ । अभावकाबिच खेल्नुपर्छ’,उनले भनिन्,‘नियमित राम्रो नियमित प्रशिक्षणसँगै दौड्नका लागि राम्रो सामग्री हुनसके अझै प्रगति गर्न सक्छु झै लाग्छ ।’

एथलेटिक्ससँगै गरिमाले आईटिएफ तेक्वान्दो खेलेर समेत पदक जितेकी छिन् । जिल्लादेखि नगर हुँदै राष्ट्रियस्तरका विभिन्न प्रतियोगिता खेलेको बताउँछिन् । खेलकुदले गरिमालाई नाम र माया मात्र दिएको छैन– परिवारमा खुसी र गर्व पनि भरेको छ । ‘मैले खेलमा प्राप्त गरेको सफलताबाट ममी र दिदीलाई गर्व लाग्छ’,उनले भनिन्,‘उहाँहरू खुसी हुनु नै मेरो पनि खुसी हो ।’ राष्ट्रिय टिममा परेर देशका लागि खेल्दै अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्ने सपना बोकेकी गरिमा अहिले पनि त्यही लक्ष्यतर्फ अविचल रूपमा अघि बढिरहेकी छिन् ।

२०६५ सालमा आमा उर्मिला चौधरी र बुबा सुकदेव चौधरीकी कान्छी सन्तानका रूपमा जन्मिएकी गरिमा घोराही उपमहानगरपालिका–१७ चौघेरामा बस्दै आएकी छिन् । गरिमाकी दिदी ज्योतिमा काठमाडौँमा सिए अध्ययनरत छिन् भने आमा उर्मिलाले भेटेनरीसम्बन्धी पसल सञ्चालन गर्दै आएकी छिन् ।

प्रस्तुति : लीलाधर वली