नारायणप्रसाद श्रेष्ठ
जीवनको हरेक क्षणमा आउने जति पनि उतारचढावहरु छन्, तिनको कहीँ न कतैबाट समाधान भइरहेको पाइन्छ । समस्याले सफलता चुमिरहेको हुन्छ । जुन समस्या जसरी समाधान भइरहेको हुन्छ ।
त्यसरी नै त्यसले भविष्यप्रति पनि सकारात्मक संकेत दिइरहेको हुन्छ, समस्याको समाधानले जसरी मानव समुदायमा सुख र उल्लासमयको वातावरण बनाएको हुन्छ, त्यसरी नै त्यही वातावरणको प्रभावले उसको भविष्य गतिशील पनि बनेको हुन्छ । त्यसैले भन्ने गरिन्छ– समय बलवान छ ।
वर्तमानमा जे जस्तो कार्य भए गरेको हुन्छ त्यही कार्यको कर्मवद्ध विकासले नै भविष्यको आधार तयार हुनसक्छ । समय अनुकूल जुन परिवेश उद्घाटन भइरहेको हुन्छ त्यही परिवेशले भविष्यको संकेत पनि गरिरहेको हुन्छ । तसर्थ भविष्यलाई उज्ज्वल र सफलता उन्मुख बनाउनु छ भने वर्तमानमा अनुशासित एवम् धैर्य र लगनशील भई समयलाई सदुपयोग गर्न जान्नुपर्दछ ।
वर्तमानमा हामीलाई हाम्रो परिवेशले जे जस्ता कर्म र व्यवहार गर्न सिकाउँछ त्यही कार्य योजनाले हाम्रो भविष्यको गोरेटो पनि निर्धारण गरेको हुन्छ । त्यसैले भनिन्छ वर्तमान नै भविष्यको आधार हो । आजभोलि सञ्चार माध्यममा पटक–पटक समाचार सम्प्रेषण हुने गरेको छ । भौतिक निर्माण पटक–पटक हुनसक्छ ।
घर आज नवने भोलि बन्न सक्छ । विकास आज नभए भोलि हुनसक्छ तर बच्चा आज नबने भोलि राम्रो बन्न सक्दैन । यो विषय निकै सान्दर्भिक र सत्यमा आधारित भएर प्रचार भइरहेको देखिन्छ । आजको बच्चा भोलि के हुनसक्छ भनी अभिभावक, समाज र राष्ट्रले नसोचे बच्चाको भविष्य मात्र होइन सामाजिक बनोट तथा राज्यको संरचनामा समेतमा उथुलपुथल हुनसक्छ ।
सामाजिक परिवेश, रहनसहन सबै भयाभय अवस्थामा गुज्रनु पर्ने स्थिति पनि आउन सक्छ । किनकि बच्चाले वर्तमानमा जे सिक्छ त्यसैको आधारमा उसले आफूलाई प्रदर्शन गरिरहेको हुन्छ । समाजमा रहेका संस्कार र परिवेश अहिले जुन अवस्थामा विकसित हुँदै गएको छ त्यसरी नै भविष्य पनि निर्धारण हुन पुगेको हुन्छ ।
किनभने वर्तमान नै भविष्यको आधार भएकोले यो कुरालाई सवैले मनन गर्न जरुरी हुन्छ । बच्चा अरुको नक्कल गर्न तथा सिको गर्न निकै चनाखो हुन्छन् यदि उनीहरुलाई समयमै असल संस्कार र व्यवहार सिकाइएन भने उसको भावी कार्यदिशा गन्तव्यविहीन भई गलत कार्यतर्फ उन्मुख हुनसक्छ । संगत गुनाको फल दुवै मिठो र अमिलो हुनसक्छ । यदि साना बच्चाहरुलाई समयतालिका अनुसार शिक्षा दिक्षा र अनुशासन सिकाइएन भने उसले निर्वाह गर्ने आचरण अनैतिक पनि हुनसक्छ ।
अर्को कुरा मेहनत र पसिनाले सिर्जना गरिएका र सिर्जित जति पनि कर्महरु हुन्छन् ती सबै मानवीय आचरण र व्यवहारवाट प्रमाणित भएका हुन्छन् । त्यसैले भोलिको अस्तित्व कायम गर्न आजै सोच्न जरुरी हुन्छ । वर्तमानको कार्य र व्यवहार नै भविष्यको आधार हो भनी आफू र आफ्नो परिवेशलाई सकारात्मक मार्गतर्फ उन्मुख गराउनुपर्छ ।
हामीले भोलिको लागि जे जस्ता योजना, सामाजिक आर्थिक राजनीतिक संस्कार सिकाउँछौँ, त्यही आदर्श अनुरुप भविष्य निर्धारण हुने हुनाले त्यसको गहिरो अध्ययन र विश्लेषण हुन जरुरी छ । स्वार्थ र अहंकारले ल्याउने परिणाम दुःखद् हुने कुरा विगत केही समय अगाडि हामी स्वयम् सबैले देखिसकेका छौँ ।
त्यसैले भविष्यमा असल संस्कार र आचरण सिक्ने तथा नैतिक र चरित्रवान विचार प्रदर्शन गर्ने क्षमताको विकासको लागि हामीले समयलाई सदुपयोग गर्न सिक्नुपर्छ । सामाजिक मूल्य र मान्यताभित्र स्थापित हुने संस्कृति र संस्कारलाई भविष्यसँग गाँसेर प्रत्येकले आफूलाई प्रदर्शन गर्न जान्नुपर्दछ । यसरी प्रदर्शन गर्दा कुन समय महत्वपूर्ण छ । कुन कर्म र व्यवहार गर्दा समाज, राष्ट्र, सम्वृद्धि बन्छ त्यसको गहिरो अध्ययन गर्नुपर्दछ ।
विगतको इतिहास र वर्तमान समयको सामाजिक बनोटलाई हेर्दा अहिले मानव जीवनमा स्वार्थ र म पनको अहंकार प्रशस्तै देखिएको अवस्था छ । म शब्दले सामाजिक सुदृढीकरणसँगै कलंक पनि निम्त्याइएको अवस्था छ । म बाहेक अरु भन्ने शब्द नै छैन भन्ने गरी सोचको विकास भएको देखिन्छ । म को अस्तित्व के हो ? म ले के जनाइरहेको छ ? त्यसतर्फ खासै ध्यान नदिई केवल ममत्वतर्फ मात्र मानिसको विचार प्रदर्शन भइरहेको देखिन्छ ।
व्यक्तिवादी सोच र चिन्तन हावी भइरहेको छ । म ठूलो, म जान्ने, म नै सबै हो भनी जुन किसिमको व्यक्तिवादी स्वार्थ चिन्तन अहिले प्राथमिकतामा परेको छ । यसले निश्चय पनि सामाजिक आर्थिक सांस्कृतिक एवम् राजनीतिक क्षेत्र धमिलिएको छ । यदि यस्तै स्थिति रहिरहने र स्वार्थ र अहंकारले परिपोषित म वाद विकसित भइरहने हो भने हाम्रो भविष्य कस्तो हुने हो ?
अहंकार घमण्डलाई यदि म भित्र विकसित गर्दै लैजाने ? र अरु केही होइनन् म बाहेक र मेरो विचार बाहेक अरु योग्य छैन भन्ने हाम्रो सोच बढाउने हो भने राष्ट्रिय अस्तित्व कति स्वच्छ र पवित्र भएर उदाउने हो ?
त्यसैले विगत समयदेखि मौलाउँदै गरेको हाम्रो परिवेशलाई अब नयाँ दिशा दिन जरुरी देखिन्छ । वर्तमानलाई भविष्यको आधारसँग गाँसेर चाहे त्यो राजनीतिक, सांस्कृतिक, आर्थिक होस्, चाहे त्यो प्रशासनिक क्षेत्र होस्, सबै क्षेत्रमा भए गरेका त्रुटिपूर्ण कार्यलाई सच्याउँदै नयाँ आधार तयार गरेर भविष्यको गोरेटोलाई सुनिश्चित गर्न हामी सबै लागिपर्नुपरेको छ । यो वर्तमानले खोजेको सत्य हो ।
लोकतान्त्रिक शासन पद्धतिभित्र हुर्केको हाम्रो सामाजिक, राजनीतिक परिवेशलाई, अब भविष्यसँग गाँसेर नयाँ आधारहरु तयार गर्दै अघि बढ्न समयले भनिरहेको छ । विगत केही समय अगाडिदेखि जनतामा भएको उकुसमुकुस अहिले वर्तमानमा छरपष्ट भएको छ । हिजोको सामन्ती सोच र एकाधिकारवादी चिन्तन डगमगाएको छ । म र मेरो भन्ने व्यक्तिवादी चिन्तनभित्र रहेको राज्य प्रणालीमा फेरवदल भएको छ ।
अब भर्खरै स्थापित यो जगलाई बनाइराख्न उचित विचार र मेहनतको जरुरी छ । निर्माण भइरहेको जगमा हिजोकै सामन्ती सोच र एकाधिकारवादी चिन्तन र अहंकार हावी हुने हो र म र व्यक्तिवादी चिन्तनभित्र राज्य प्रणाली विकसित हुने हो भने हाम्रो नेपाल समृद्ध नेपालको सपना कतातिर मोडिने हो ?
आफ्नो स्थायी घर पनि नबनाउने अरुलाई पनि घर बनाउन नदिने जहाँ गए जता हात हाले पनि भत्काउने नीति प्रदर्शन गर्ने हो र सामाजिक परिवेश र संस्कारमा गलत नजिर कायम गर्दै जाने हो भने हाम्रो राष्ट्रिय छवि कता पुग्ला ? तसर्थ जनताको नाममा शासन गर्ने नेतृत्व पंक्ति चाहे त्यो पक्ष होस् चाहे त्यो विपक्ष होस् ।
ती सबैले जनतालाई विखण्डन गर्नेतर्फ नलागि सच्चा र इमान्दार भएर यो राष्ट्र हाम्रो हो । हामीबाट नै यसको विकास हुनसक्छ, हामीले नगरे यो कसले गराउने हो, अहिले नगरे कहिले गर्ने हो भन्ने जस्ता कुरालाई सकारात्मक चिन्तनका साथ आत्मसात गरी अघि बढाउनु परेको छ ।
भोलिको सुन्दर नेपाल शान्त र सभ्य नेपाल, विदेशीको आकर्षक पर्यटकीय गन्तव्य नेपाल तथा हिमाल पहाड तराई र प्राकृतिक सुन्दरता र जडीबुटीले ओतप्रोत नेपाल स्वच्छ र पवित्र हृदय लिएर बाँचेको नेपालीको पवित्र मन, सगरमाथाको देश नेपाल, स्वच्छ र पवित्र नदी बग्ने हाम्रो नेपाललाई स्वच्छ हराभरा र पवित्र बनाउन अब सबै जुट्नु पर्ने बेला भएको छ ।
नेपालको सुन्दरतामाथि गिद्दे दृष्टि राख्ने अवसरवादीको चंकुलबाट नेपाल र नेपालीको अस्तित्वलाई बचाई भोलिको सुन्दर नेपाल निर्माणमा सबैले हातेमालो गर्नुपरेको छ । सुन्दर शान्त नेपालको भविष्य नारामा होइन, कर्ममा प्रमाणित हुने परिस्थितिको जन्म वर्तमानको माग हो । हामी नै भविष्यका आधार हौ भनी शिक्षा, स्वास्थ्य तथा भौतिक आधार लगायत अन्य विकासका आधारहरु हामीबाटै सम्भव छ भन्ने पवित्र विचार जगाई कर्म र व्यवहारमा निस्वार्थ भाव अहिलेको आवश्यकता हो भनी हामी सबै जुटौँ ।
राष्ट्रिय स्वाभिमानलाई बचाउन र जनताका आधारभूत आवश्यकताको परिपूर्ति गर्दै उनीहरुले खोजेको सुशासनयुक्त समृद्ध राष्ट्रको चाहनालाई पूरा गर्न स्वच्छ र पवित्र हृदयले संकल्पित बनौँ । आफू हुँदा सबै ठिक अरु हुँदा सबै बेठिक भन्ने स्वभाव र मानसिकताले देशको अवस्था कस्तो हुने रहेछ भन्ने कुरा हिजोको परिवेशले हामी सबैलाई जानकारी गराएकै छ ।
त्यसैले वर्तमानमा देखिएको राजनीतिक रस्साकसी गरेर होइन राष्ट्र र राष्ट्रिय अखण्डता स्वाधीनता र नेपाल र नेपालीको इच्छा र चाहनाले मागेको चाहनाअनुसार समृद्ध नेपालको परिकल्पनामा अब । हामी सबैको दायित्व बढेको छ । शान्तिप्रिय नेपाली आकांक्षामा ठेस पुग्ने कार्य कोही कसैबाट हुनु राम्रो पक्ष होइन ।
जनताको इच्छा र आकांक्षा विपरित सीमित स्वार्थ र आर्थिक प्रलोभनमा परि लुटपुटिने चरित्र राष्ट्रको लागि दुर्भाग्य मानिन्छ । जुन इच्छा र आकांक्षा बोकेर जनताले वर्तमानलाई प्रयोग गर्न अभिमत दिएका छन् त्यही सोच र चिन्तनलाई सबै मिलेर अब हाम्रो राष्ट्र समृद्ध राष्ट्र बनाउन लागि पर्नु परौँ । समय आउँछ पर्खदैन, समय घर्किसकेपछिको औषधी काम लाग्दैन भनी समयलाई चिनेर वर्तमानले भविष्य निर्धारण गर्न सक्नेतिर ध्यान केन्द्रित गरी सकारात्मक चिन्तनका साथ अघि बढ्ने मार्ग निर्देशन गर्न हामी सबै लागि परौँ समयले यही भनिरहेको छ । चेतना भया ।