बाबुआमालाई एउटै थलोमा राख्ने चाहना, २५ वर्षपछि पुनः भू–समाधि

टेकबहादुर पुन

देउखुरी, २२ वैशाख । लमही नगरपालिका–७ बनघुस्री खुटीमा एक अत्यन्तै भावुक, अनौठो तर सांस्कृतिक दृष्टिले महत्वपूर्ण घटना सार्वजनिक भएको छ । श्रीमतीसँगै छेउमै गाड्ने उद्देश्यले २५ वर्ष अघि मृत्यु भई गाडिएका श्रीमान्को कङ्काल खोजिएको छ ।

लमही–७ निवासी आइकुमारी गिरीको ६९ वर्षको उमेरमा शनिवार निधन भयो । उनको अन्त्येष्टि आइतवार गिरी जातिको परम्परा र रीतिरिवाज अनुसार गर्ने क्रममा, २०५८ सालमा निधन भएका उनका श्रीमान् स्वर्गीय रामलाल गिरीको कङ्काल खोजिएको हो ।

मृतकका छोरा ओमराज गिरीका अनुसार बुबाआमालाई एउटै स्थानमा सँगै राख्ने गहिरो चाहनाका कारण यो निर्णय गरिएको हो । ओमराजले भावुक हुँदै भने, ‘हामी सानैदेखि बुबाआमालाई सँगै देख्यौँ, सँगै दुःख–सुख बाँड्नुभएको देख्यौँ । आज आमालाई बिदा गर्दा बुबालाई अलग राख्न मनले मानेन, त्यसैले उहाँलाई पनि आमासँगै राख्ने निर्णय ग¥यौँ ।’

रामलालको निधन २०५८ सालमा भएको थियो । त्यतिबेला उनको भू–समाधि गरिएको स्थान र हाल श्रीमती आइकुमारीको भू–समाधि गरिएको स्थान फरक फरक ठाउँमा रहेकाले परिवारलाई दुवैलाई एउटै थलोमा राख्ने इच्छा पूरा गर्न कठिनाइ थियो ।

मृत्यु भइसकेका बुबाआमालाई मृत्युपछि पनि सँगै राख्ने चाहनाका कारण पुरानो समाधिस्थल खनेर कङ्काल खोज्ने निर्णय गरिएको अर्का छोरा अशोक गिरी बताउँछन् । छोरा अशोकले भने, ‘बुबा बित्दा हामी सानै थियौँ, धेरै कुरा बुझ्दैनथ्यौँ तर आमाले सधैँ बुबाको सम्झना गर्नुहुन्थ्यो । आज आमालाई पनि गुमाउँदा हामीलाई लाग्यो—उहाँहरूलाई फेरि अलग पार्नु हुन्न । जहाँ भए पनि सँगै रहून् भन्ने हाम्रो चाहना हो ।’

कङ्काल खोज्ने क्रममा स्व. रामलालको पूर्ण अवशेष फेला नपरे पनि शिर (खोपडी) भने फेला परेको थियो । सोही शिरलाई सम्मानपूर्वक पुनः प्रयोग गर्दै बुबाआमालाई एउटै स्थानमा तर फरक फरक खाडलमा गाड्ने कार्य गरिएको परिवारले बताएको छ ।

गिरी परम्परामा मृतकहरूबिच पनि पुनः भेटघाट हुनसक्छ भन्ने विश्वास रहेकाले त्यही विश्वासलाई पछ्याउँदै यसो गरिएको हुन सक्ने परम्पराका जानकारहरूले बताएका छन् । ‘पहिले यस्तो अभ्यास गर्ने गरिन्थ्यो, बसाइँ सराई तथा विभिन्न कारणले यो अभ्यास हट्दै गएको थियो’, जानकार शिवराज गिरी भन्छन्, ‘फेरि यसरी भू–समाधिको अभ्यास थालिनु परम्पराको सम्मान हो ।’

यो घटनाले स्थानीय समाजलाई पनि गहिरो रूपमा छोएको छ । बनघुस्री खुटीका स्थानीयले यसलाई केवल अनौठो घटना मात्र नभई सन्तानले बुबाआमाप्रति देखाएको सम्मान र प्रेमको उदाहरणका रूपमा हेर्छन् । एक स्थानीय शिवराज गिरीले भने, ‘आजभोलि सन्तानले बुबाआमाको हेरचाह नगर्ने कुरा धेरै सुनिन्छ तर यहाँ त २५ वर्षपछि पनि बाबुलाई सम्झेर आमासँगै राख्ने प्रयास गरिएको छ, यो साँच्चिकै ठुलो कुरा हो ।’

अर्का स्थानीय गगनसिंह पुनले भने, ‘यो दृश्य हेर्दा आँखा रसाए । जीवनभर सँगै बसेका श्रीमान–श्रीमतीलाई मृत्युपछि पनि सँगै राख्ने सन्तानको सोच पवित्र लाग्यो ।’ समाजका केही युवाहरूले पनि यसलाई संस्कार र सम्बन्धको गहिरो उदाहरणका रूपमा लिएका छन् । ‘हामीले किताबमा मात्र यस्तो माया पढेका थियौँ, आज आफ्नै गाउँमा देख्यौँ’, युवा हुर्मत गिरीले भने ।

नेपालका गिरी (योगी र सन्यासी परम्परासँग जोडिएको) जातिमा मृत्युपछि शवलाई गाड्ने परम्परा प्रचलित छ । यसलाई धार्मिक र आध्यात्मिक दृष्टिले पवित्र मानिन्छ । मृतकलाई सफा गरी कपडाले बेरेर निश्चित विधि अनुसार गाडिन्छ ।

कतिपय अवस्थामा समाधि दिने चलन पनि हुन्छ, जसले दिवङ्गत आत्मालाई शान्ति मिल्ने विश्वास गरिन्छ । यस समुदायमा परिवार बिचको सम्बन्धलाई मृत्युपछि पनि निरन्तर रहने विश्वास गरिन्छ । त्यसैले पतिपत्नीलाई सँगै राख्ने चाहना अस्वाभाविक मानिँदैन, बरू यसलाई प्रेम र समर्पणको प्रतीकका रूपमा लिइन्छ ।