हाप्किडो संघको अध्यक्षमा विशाल थापा

दाङ, १९ वैशाख । दाङ जिल्ला हाप्किडो संघको अध्यक्षमा विशाल थापा चयन भएका छन् । शनिवार घोराहीमा भएको तेश्रो जिल्ला अधिवेशनले थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हा ।

नवनिर्वाचित संघको उपाध्यक्षमा बसन्ती बुढा मगर र दिपक रावत, सचिवमा खिमप्रसाद बोहरा, कोषाध्यक्षमा शरद पौडेल चयन भएका छन् । सदस्यहरूमा बसन्ता ठेडी मगर, सुजन बिक, बिना बिक, अनिल थापा मगर र दिपक वली चयन भएका छन् ।

नवनिर्वाचित अध्यक्ष थापाले हाप्किडो खेललाई स्थानीय तहदेखि विस्तार गर्दै खेलाडीहरूको क्षमता विकासलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता जनाएका छन् । उनले सबैको सहकार्यमा संघलाई सक्रिय र सशक्त रूपमा अघि बढाउने विश्वास व्यक्त गरेका थिए ।

खेलाडी विशाल थापाको अध्यक्षतामा भएको अधिवेशनको उद्घाटन गर्दै जिल्ला खेलकुद विकास समिति दाङका अध्यक्ष विवेक श्रेष्ठले खेलकुद क्षेत्रको संस्थागत विकास, खेलाडी उत्पादन तथा स्थानीय स्तरमै खेलकुद गतिविधि विस्तार गर्न संघहरूको भूमिका महत्वपूर्ण हुने बताए । साथै उनले हाप्किडो जस्ता आत्मरक्षा खेलहरूले युवालाई अनुशासित, आत्मविश्वासी र सक्षम बनाउन मद्दत गर्ने उल्लेख गरे ।

अधिवेशनको उद्घाटन कार्यक्रममा लुम्बिनी प्रदेश हाप्किडो संघका उपाध्यक्ष त्रिभुवन वर्तौला र घोराही नगर हाप्किडो संघकी अध्यक्ष रुपा बुढा मगरले हाप्किडो खेलको विकासका लागि प्रशिक्षक, खेलाडी तथा सम्बन्धित संघ–संस्थाबीच समन्वय र निरन्तर प्रशिक्षण आवश्यक रहेकोमा जोड दिएका थिए ।