विजय लघुवित्तद्वारा बीमा बापतको रकम हस्तान्तरण

प्रतिक गोराथोकी

घोराही,१८ बैशाख । लघुवित्त वित्तीय संस्था लिमिटेड, शाखा कार्यालय घोराहीले आफ्ना एक सदस्यको परिवारलाई राहतस्वरूप बीमा वापतको रकम हस्तान्तरण गरेको छ।

संस्थाका अनुसार घोराही उपमहानगरपालिका–१९ सैघा निवासी जानका पुन मगरले २०७९ वैशाख २४ गते बाख्रा पालन व्यवसाय सञ्चालनका लागि रु ७ लाख कर्जा लिएकी थिइन् र नियमित रूपमा किस्ता तिर्दै आएकी थिइन्। यसैबीच उनका श्रीमान ईश्वर पुन मगरको २०८२ माघ १७ गते असामयिक निधन भएपछि बीमा सुविधा अन्तर्गत राहत प्रदान गरिएको हो।

संस्थाले कर्जा रकम रु ७ लाख र काज किरिया खर्च वापत रु १२ हजार ५ सय गरी कुल रु ७ लाख १२ हजार ५ सयमध्ये बाँकी कर्जा समायोजन गरी रु १ लाख ३ हजार ५ सय नगद रकम जानका पुन मगरलाई हस्तान्तरण गरेको जनाएको छ।

उक्त रकम हस्तान्तरण कार्यक्रममा घोराही उपमहानगरपालिका–१८ का वडा अध्यक्ष भरतमणि आचार्य, संस्थाका क्लस्टर नं. ११ का प्रमुख तथा असुली अधिकृत कुमारबहादुर थापा, शाखा प्रमुख किरण घिमिरे लगायत कर्मचारीहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा वडा अध्यक्ष अर्यालले यस्ता सामाजिक उत्तरदायित्वका कार्यले विपन्न तथा निमुखा वर्गलाई ठूलो राहत पुगेको उल्लेख गर्दै वित्तीय पहुँच विस्तार र साक्षरता अभिवृद्धिमा यस्ता पहल महत्वपूर्ण रहेको बताए।

त्यसैगरी शाखा प्रमुख किरण घिमिरेले संस्थाले यस्ता घटनामा परेका अन्य धेरै परिवारलाई समेत राहत प्रदान गर्दै आएको जानकारी दिए।
लघुवित्त वित्तीय संस्था नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको इजाजत प्राप्त संस्था हो। यसको केन्द्रीय कार्यालय धुलिखेलमा रहेको छ भने देशभर १३५ भन्दा बढी शाखामार्फत वित्तीय सेवा तथा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्दै आएको संस्थाले जनाएको छ।