अनुगमनमा म्याद गुज्रिएका औषधी तथा सामग्री बरामद

टेकबहादुर पुन
लमही, १८ वैशाख । लमही बजारका विभिन्न पसलमा गरिएको अनुगमनमा म्याद गुज्रिएका औषधी तथा अन्य सामग्री बरामद गरिएको छ । लमही नगरपालिकाको आयोजनामा गरिएको अनुगमनका क्रममा एग्रोभेट, फलफूल पसल तथा मेडिकलहरूमा अनियमितता फेला परेको हो ।

अनुगमन टोलीले बजारका ११ वटा पसलमा निरीक्षण गर्दा म्याद नाघेका औषधी, बिउबिजन तथा अन्य सामग्री बरामद गरेको जनाएको छ । बरामद सामग्रीको कूल मूल्य २१ हजार ९२ रुपैयाँ रहेको र ती सामग्री नष्ट गरिएको उपभोक्ता हित संरक्षण शाखाका प्रमुख शिवराज न्यौपानेले जानकारी दिए ।

केही व्यवसायीलाई सचेत गराइएको र पुनः दोहोरिए कारबाही गरिने चेतावनी दिइएको छ । अनुगमन टोलीको नेतृत्व उपभोक्ता हित संरक्षण शाखाका प्रमुख न्यौपानेले गरेका थिए । टोलीमा स्वास्थ्य शाखा प्रमुख नारायण शर्मा, पशु सेवा शाखाका डा. सन्देश वली, कृषि ज्ञान केन्द्र घोराहीका कृष्णप्रसाद शर्मालगायतका प्राविधिकको सहभागिता थियो । वडा प्रहरी कार्यालय, उद्योग वाणिज्य संघ, चेम्बर अफ कमर्स, होटल व्यवसायी समिति र नेपाल पत्रकार महासंघका प्रतिनिधिलगायतको सहभागिता रहेको थियो ।

अनुगमनका क्रममा उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर पार्ने सामग्री बिक्रीका लागि राखिएको पाइएपछि सम्बन्धित व्यवसायीलाई निर्देशन दिइएको छ । ‘म्याद गुज्रिएका सामग्री बिक्री गर्नु कानुनविपरीत मात्र नभई मानव स्वास्थ्यसँग प्रत्यक्ष खेलवाड हो’, प्रमुख न्यौपानेले भने । यस्ता कार्य दोहोरिए कारबाही गरिने उनले चेतावनी दिए ।

नगरपालिकाले आगामी दिनमा पनि अनुगमनलाई निरन्तरता दिने जनाएको छ । बजारलाई व्यवस्थित, सुरक्षित र उपभोक्तामैत्री बनाउन नियमित अनुगमन आवश्यक रहेको सरोकारवालाले बताएका छन् ।