गोरक्ष समाचारदाता
दाङ, १८ वैशाख । नेपाल जेसीजको आयोजना तथा त्रिभुवननगर जेसीजको आतिथ्यतामा ‘जेसीज नेपाल बिजनेस एकेडेमी २०२६’ तालिम दाङमा सुरु भएको छ । व्यवसाय गरिरहेका तथा व्यवसाय विस्तारको तयारीमा रहेका युवालाई लक्षित गर्दै आयोजना गरिएको उक्त तालिमले व्यवसाय प्रवर्धनमा व्यावहारिक सहयोग पु¥याउने विश्वास आयोजकले लिएका छन् ।
त्रिभुवननगर जेसीजका अध्यक्ष मिनराज भाटका अनुसार व्यवसायमा देखिने समस्या समाधान गर्ने उपाय, व्यवसाय विस्तारका रणनीति, आवश्यक सिप तथा क्षमता विकासका विषयमा तालिम केन्द्रित रहने छ । ‘व्यवसायलाई दिगो र प्रतिस्पर्धी बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको हो’, उनले भने ।
देशका विभिन्न क्षेत्रबाट आएका युवा व्यवसायीको सहभागिता रहेको तालिमले अनुभव आदानप्रदानको अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ । उद्घाटन कार्यक्रममा बोल्दै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका निमित्त उपकुलपति प्राध्यापक श्याम लम्सालले हरेक क्षेत्रमा सफल नेतृत्वको आवश्यकता औल्याए ।
नेतृत्व कमजोर हुँदा विभिन्न समस्या उत्पन्न हुने गरेको उनको भनाइ थियो । पछिल्लो समय देशमा अवसर छैन भन्ने नकारात्मक सोच विकास हुँदै गएको उल्लेख गर्दै उनले त्यसलाई परिवर्तन गरी उपलब्ध सम्भावनाको सदुपयोग गर्नु पर्नेमा जोड दिए । ‘सम्भावनाको खोजी र त्यसको उपयोगबारे घरघरमा सचेतना फैलाउन जरुरी छ’, उनले भने ।
नेपाल जेसीजका अध्यक्ष जीवन कार्कीले व्यवसायीहरूको आवश्यकता पहिचान गरी तालिम आयोजना गरिएको बताए । तालिमबाट सहभागीलाई व्यवसाय प्रवर्धन र व्यवस्थापनमा महत्वपूर्ण सहयोग पुग्ने उनले विश्वास व्यक्त गरे । कार्यक्रममा प्राडा सन्देशराज श्रेष्ठले भविष्यका सम्भावना पहिचान गर्दै अगाडि बढ्नु पर्ने धारणा राखे ।
‘अवसर आफैँ खोज्नुपर्छ र त्यसको सही उपयोग गर्न सक्नुपर्छ’, उनले भने । कार्यक्रममा नेपाल जेसीजका कार्यकारिणी उपाध्यक्ष विकेशलाल श्रेष्ठ, राजन शर्मा पौडेल, त्रिभुवननगर जेसीजका पूर्व अध्यक्ष तथा ‘नेपाल जेसीज बिजनेस एकेडेमी २०२६’ का निर्देशक ओविन्द्रबहादुर महरालगायतले व्यवसाय प्रवर्धनका विभिन्न पक्षमा धारणा राखेका थिए ।
त्रिभुवननगर जेसीजका अध्यक्ष भाटको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण नेपाल जेसीजका महासचिव अमर घिमिरेले गरेका थिए । चार दिनसम्म सञ्चालन हुने तालिममा व्यवसाय व्यवस्थापन, नेतृत्व विकास, बजार विस्तार, नवप्रवर्तन र उद्यमशीलतासम्बन्धी विभिन्न सत्र समावेश गरिएको छ ।
आयोजकका अनुसार तालिमले युवा व्यवसायीलाई व्यावहारिक ज्ञान प्रदान गर्दै प्रतिस्पर्धी बजारमा टिक्न सक्ने क्षमता अभिवृद्धि गर्ने लक्ष्य राखिएको छ । सहभागीबिच नेटवर्किङको अवसर सिर्जना गर्दै दीर्घकालीन सहकार्यको वातावरण बनाउने अपेक्षा गरिएको छ ।