गजलकार मनोज थापाको एकल रचना वाचन

दाङ, २७ चैत । गजलकार मनोज थापा मगरको एकल रचना वाचन कार्यक्रम घोराहीमा सम्पन्न भएको छ । राप्ती साहित्य परिषद् दाङ शाखाको नियमित मासिक एकल रचना बाचन कार्यक्रमअन्तर्गत ८४ औं श्रीङखलामा शुक्रबार युवा गजलकार थापाको एकल रचना वाचन आयोजना गरिएको हो ।

घोराहीमा आयोजना गरिएको कार्यक्रममा गजलकार थापाले समसामयिक विषयवस्तु, मायाप्रेम, वैदेशिक रोजगारीले निम्त्याएका समस्या लगायत विविध पक्ष समेटिएका करिब डेढ दर्जन गजल वाचन गरेका थिए । उनका गजलहरूमा सामाजिक यथार्थ, युवापुस्ताको मनोभावना र वर्तमान परिस्थितिको प्रभाव झल्किएको थियो ।

राप्ती साहित्य परिषद् दाङ शाखाका अध्यक्ष यम रेग्मीको अध्यक्षता तथा परिषद्का केन्द्रीय पूर्वअध्यक्ष एवं सल्लाहकार पुरुषोत्तम खनालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा परिषद्का केन्द्रीय अध्यक्ष कमलमणि देवकोटा, राप्ती साहित्य परिषद् रुकुम पूर्वका पूर्वअध्यक्ष कमानसिंह विष्ट, लेखक संघ दाङका अध्यक्ष खगराज न्यौपाने लगायतले मन्तव्य व्यक्त गर्दै थापाको सिर्जनशीलता र गजल लेखनमा देखिएको परिपक्वताको प्रशंसा गरेका थिए ।

वक्ताहरूले साहित्यले समाजलाई दिशा दिन सक्ने उल्लेख गर्दै यस्ता कार्यक्रमले नयाँ पुस्तामा सिर्जनात्मक चेतना अभिवृद्धि गर्ने विश्वास व्यक्त गरेका थिए । राप्ती साहित्य परिसद दाङ शाखाका उपाध्यक्ष सुरेशकुमार पाण्डेयको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण परिषद्का सदस्य बिना रोकाले गरेकी थिइन् । कार्यक्रममा साहित्यप्रेमी, स्रष्टालगायतको उपस्थिति रहेको थियो ।