जडिबुटी बोकेर अस्पताल पुगे धामीझाँक्री…

परम्परागत चिकित्सा पद्धतिको अनुसन्धान हुँदै
खेमराज रिजाल
दाङ, २७ चैत । जिल्लाका विभिन्न भूभागमा झारफुक, तान्त्रिक तथा स्थानीय जडिबुटी प्रयोग गरेर बिरामीको उपचार गर्ने वैद्यहरू बिहिबार आफूले प्रयोग गर्ने जडिबुटी लिएर अस्पताल पुगेका छन् । झारफुक र जडिबुटीको प्रयोगका माध्यमद्वारा बिरामीको स्वास्थ्योपचार गरिने परम्परागत चिकित्सा पद्धतिको विषयमा अनुसन्धानका लागि बोलाइएपछि उनीहरू त्यहाँ पुगेका हुन् ।

राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र काठमाडांैले दाङका विभिन्न क्षेत्रमा यसरी औषधोपचार गर्ने धामी–झाँक्री, वैद्य तथा गुरुवाहरूलाई भेला पारी उनीहरूले प्रयोग गर्ने ५० बढी प्रजातिका जडिबुटीको नमुना समेत सङ्कलन गरेको छ । प्रादेशिक आयुर्वेद चिकित्सालय बिजौरीमा जिल्लाका सय बढी त्यस्तो उपचारमा संलग्न व्यक्तिलाई भेला पारी उनीहरूले झारफुकसँगै प्रयोग गर्ने जडिबुटी समेतको नमुना सङ्कलन गरेर अनुसन्धान सुरु गरिने आयुर्वेद रिसर्च सेन्टरका डा जितेन्द्र श्रेष्ठले बताएका छन् । उनीहरूलाई आयुर्वेद उपचारबारे सङ्क्षिप्त प्रशिक्षणसमेत दिइएको छ ।

‘दाङ जिल्लाभरी वैद्यहरूले झारफुकसँगै के कस्ता जडिबुटी प्रयोग गर्दछन् भनेर नमुना सङ्कलन गरी त्यसलाई वनस्पति विभागबाट प्रमाणित गराएर ती जडिबुटीको प्रभावकारिताको अनुसन्धान गर्ने उद्देश्यले यो कार्यशालाको आयोजना गरिएको हो, सहभागी करिब ५० बढी वैद्यले आफूले प्रयोग गर्ने जडिबुटी पनि हामीलाई नमुनाका रूपमा दिनुभएको छ’, आयोजक राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रका डा श्रेष्ठले गोरक्षलाई भने । यहाँ सङ्कलन भएका जडिबुटीहरू केन्द्रीय वनस्पति विभागमा प्रमाणीकरण गर्ने र थप जडिबुटी पहिचान गर्ने उद्देश्यले दाङमा यो अभियान थालिएको डा श्रेष्ठको भनाइ थियो ।

परम्परागत धामी, झाँक्री, वैद्य, गुरुवा, तान्त्रिकलगायतलाई तालिम एवम् आयुर्वेद चिकित्सा पद्धतिमा जोड्दै आवश्यक परामर्श दिन र जडिबुटीको अध्ययन एवम् अनुसन्धान गर्ने र प्रवर्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताइएको छ । सो अवसरमा सहभागीले आफूले उपचारमा प्रयोग गर्ने जडिबुटीहरू रानी सिन्का भयँरको फूल, बोझो, तिलझार, पत्थरचट्टा, निम, दालचिनी, असुरोलगायतका थुप्रै जडिकुटीका नमुना आयोजकलाई दिएका छन् । कुन प्रकारको समस्यामा कुन जडिबुटी प्रयोग गर्ने भन्ने जानकारी सहभागी वैद्यले गराए ।

‘हामीलाई आफूले प्रयोग गर्ने जडिबुटीसहित आउन भनिएको थियो, हामीले प्रयोग गर्ने जडिबुटीसहित हामीले गर्ने तान्त्रिक उपचार पद्धतिका विषयमा उहाँहरूलाई जानकारी दिएका छौँ’, तालिममा सहभागी घोराही उपमहानगरपालिका–६ लेटारका झाँक्रीबाबा लेखबहादुर थापाले भने । आफूहरूले झारफुकसँगै जडिबुटी पनि प्रयोग गर्दा सही मात्रा पहिचान गर्न समस्या हुने भएकाले सरकारले यसलाई व्यवसायीकरण गर्न हामीलाई थप तालिम दिनु पर्ने उनको अपेक्षा थियो । उनी जस्तै थुप्रै सहभागी आयुर्वेद चिकित्सा पद्धतिको उपचारमा प्रयोग हुने जडिबुटीको उचित मात्राका विषयमा कम मात्रै जानकार रहेको र यसले गर्ने प्रतिअसरका विषयमा ज्ञान पाउनु पर्ने माग राखेका थिए ।

जडिबुटी प्रशोधन केन्द्र निर्माण गर्न प्रदेश सरकार आतुर : पूर्व मुख्यमन्त्री चौधरी

यसैबिच अभिमुखीकरण तालिमको बिहिबारै समापन गरिएको छ । प्रादेशिक आयुर्वेद चिकित्सालय बिजौरीका अस्पताल विकास समितिका अध्यक्ष हिमबहादुर डाँगीको अध्यक्षतामा भएको समापन कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका पूर्व मुख्य मन्त्री डिल्लीबहादुर चौधरीले आयुर्वेद चिकित्सा पद्धतिलाई थप प्रभावकारी रूपमा विस्तार गर्न आतुर रहेको बताए । ‘यो लुम्बिनी प्रदेशको एक मात्र प्रादेशिक आयुर्वेद चिकित्सालय हो, यसको स्तर वृद्धिदेखि विशेषज्ञ सेवा र यसलाई आयुर्वेद रिसर्च सेन्टरकै रूपमा विकास गर्न प्रदेश सरकार सधैँ तत्पर छ’, पूर्व मुख्यमन्त्री चौधरीले भने ।

यस अघि नै बिजौरीस्थित प्रादेशिक आर्युवेद चिकित्सालयमा औषधी प्रशोधन केन्द्र स्थापना गर्ने भनेर भवन निर्माणसमेत भइसकेको छ । यसका लागि प्रदेश सरकारले क्रमाङ्गत रूपमा बजेटसमेत विनियोजन गर्दै आएको छ । यद्यपि भवन हस्तान्तरण नहुँदा तथा जडिबुटीकै विषयमा पर्याप्त अध्ययन अनुसन्धान नहुँदा बनेको भवनसमेत उपयोगविहीन छ । जडिबुटीलाई जीवन पद्धतिसँग जोडेर लैजान सके मात्र यसले मानिसमा औषधोपचार मात्र नभएर रोग प्रतिरोधात्मक क्षमतामा समेत वृद्धि हुने उनको भनाइ थियो ।

जडिबुटीको उचित पहिचान र प्रशोधन हुन सके यहाँका जडिबुटीलाई विश्व बजार सामु लैजान सरकारले पहल गर्ने उनको अभिव्यक्ति थियो । सो अवसरमा नेपाल संस्कृत विश्वविद्यालय केन्द्रीय आयुर्वेद विद्यापप्ठका प्राचार्य प्राडा रामचन्द्र अधिकारीले आयुर्वेद उपचार पद्धति र वैद्य तथा धामी–झाँक्रीबाट गरिने जडिबुटी उपचार पद्धतिमा केही समानता रहेको बताउँदै उनीहरूलाई आयुर्वेदसँग जोडेर अनुसन्धान अघि बढाउन सुझाव दिएका छन् । कार्यक्रमको सहजीकरण राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रका डा जितेन्द्र श्रेष्ठले गरेका थिए ।