दाङमा आर्थिक गणनाका लागि गणक तथा सुपरिबेक्षकलाई तालिम

दाङ, २६ चैत । राष्ट्रिय आर्थिक गणनाको तयारीका लागि दाङमा गणक तथा सुपरिबेक्षकलाई लक्षित गरी तालिम सुरु गरिएको छ । आगामी २०८३ साल बैशाख २ गतेदेखि असार ७ गतेसम्म सञ्चालन हुने आर्थिक गणनाका लागि गणक र सुपरीवेक्षकका लागि घोराहीमा पाँच दिने तालिम सुरु भएको हो ।

तालिम उद्घाटन गर्दै प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले आर्थिक गणना देशको अर्थतन्त्रको ऐना भएकाले यथार्थ र विश्वसनीय तथ्याङ्क संकलनमार्फत राज्यलाई सही सूचना उपलब्ध गराउन सहभागीलाई जिम्मेवार र इमान्दार भएर काम गर्न आग्रह गरेका थिए । जिल्ला आर्थिक गणना अधिकारी पोमनारायण पौडेलले देशको आर्थिक नीति निर्माण तथा सुधारका लागि आर्थिक गणना महत्वपूर्ण आधार हुने बताए । उनले गणनाबाट प्राप्त तथ्याङ्कले समग्र आर्थिक अवस्थाको यथार्थ चित्र प्रस्तुत गर्नुका साथै योजना निर्माणमा सहयोग पुग्ने बताए ।

आर्थिक गणनाका क्रममा आर्थिक गतिविधिमा संलग्न व्यक्ति, संघसंस्था, उद्योग व्यवसाय, औद्योगिक क्षेत्र, शिक्षा, स्वास्थ्य, मनोरञ्जन लगायतका क्षेत्रबाट घरदैलोमै पुगेर तथ्याङ्क संकलन गरिने छ । कार्यक्रममा तथ्याङ्क निर्देशक अरुण गौतम, नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सन्तोष सुवेदीलगायतले आर्थिक गणनामा आवश्यक सहयोग गर्न सरोकारवाला सबैमा आग्रह गरेका थिए । आर्थिक गणनाका लागि दाङका १० स्थानीय तहमा ७० जना गणक र ९ जना सुपरिबेक्षक खटिदैछन् ।