सगरमाथामाथि चिनले दावी गर्दा माओसँग वीपीले भने,–‘यो भावनात्मक प्रश्न हो ।’

१८ मार्च १९६० मा चीन भ्रमणमा रहेका नेपालका तत्कालीन प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइराला र चिनियाँ नेता माओत्सेतुङ विच भेटवार्ता भएको थियो । भेटमा भएको वीपी र माओबीचको त्यो दुर्लभ वार्ता चीनको परराष्ट्र मन्त्रालयले आफ्नो पुस्तक ‘माओत्सेतुङ अन डिप्लोमेसी’ मा प्रकाशित गरेको छ । वीपी–माओ वार्ताको पूर्ण पाठको अनुवाद :

अध्यक्ष माओत्सेतुङ : भारतसँग हाम्रो सम्बन्ध खराब छ । तर चिन्ता नगर्नुस् । चाँडै यो समाप्त हुनेछ । हामी दुवैको साझा स्वार्थ छ, किनभने हामी दुवै अविकसित राष्ट्र हौँ । हामीले भारतमा आक्रमण गरेको भन्ने आरोप झुठो हो । हामी अर्काको जमिन एक इन्च पनि चाहन्नौँ । हामीसँग ९६ लाख वर्ग किलोमिटरको विशाल क्षेत्रफल छ, जसको ठूलो हिस्सा उपयोगविहीन छ । आफ्नो देश चाहीँ राम्ररी सञ्चालन नगर्नु अनि अरुको जमिन खोस्नु भनेको अपराध हो । के हामीले नेपालमा आक्रमण गरेका छौँ त ? हामीलाई नेपालको जमिन एक इन्च पनि चाहिँदैन । के हामी सीमा सन्धिमा हस्ताक्षर गरेर सीमा चिन्ह राख्न सक्छौँ ?

प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइराला : सक्छौँ । यसबारे मैले प्रधानमन्त्री चाउ एन लाइसँग छलफल गरेको छु ।

माओ : तपाईंहरुबीच सहमति भयो त ?

वीपी : आधिकारिक सीमा चिन्ह आवश्यक छ ।

माओ : सीमा निर्धारण गर्न आवश्यक छ । एक पटक सीमारेखा कोरेपछि गस्ती नगरिने क्षेत्र तोक्न सकिन्छ । सल्लाहमै दुवैतर्फ गस्तीमुक्त क्षेत्रको लम्बाई कायम गर्न सकिन्छ । भारत र पाकिस्तानबीच यस्तो सन्धि छ । तर दुवै देशबीच गस्तीमुक्त क्षेत्र एक किलोमिटर मात्रै छ । हामीले एक पटक भारतसँग त्यस्तो क्षेत्र २० किलोमिटर राख्ने प्रस्ताव गरेका थियौँ । त्यो क्षेत्रमा न हामी जान्छौँ, न उनीहरु जानेछन् । तर उनीहरु सहमत भएनन् । तपाईं चाहनुहुन्छ भने गस्तीमुक्त क्षेत्रको प्रावधान सन्धिमै उल्लेख गर्न सक्छौँ । सीमाको दुवैतर्फ २०(२० किलोमिटर राख्ने हो भने जम्मा ४० किलोमिटर गस्तीमुक्त क्षेत्र बन्छ । त्यसरी नै १०, २० जति पनि राख्न सकिन्छ । यो कुरा तपाईंको सुविधामा भर पर्छ । तपाईंको के विचार छ ?

वीपी : यो विचार गर्न लायक कुरा हो ।

माओः तपाईं यसमा सोच्न सक्नुहुन्छ । यसको हेरविचार गर्ने काम दुवै पक्षका स्थानीय नागरिकहरुले गर्न सक्छन् । स्थानीयबाटै केही प्रहरी र मिलिसिया गठन गर्न सकिन्छ । त्यहाँ औपचारिक सैन्य शक्ति राखिनुहुँदैन । यदि दुवै देशले आफ्नो सेनालाई सीमाक्षेत्रबाट टाढा राख्ने हो भने दुवै पक्ष सहज हुन सक्छन् । सीमा रेखा कोर्ने र गस्तीमुक्त क्षेत्र बनाउने कुरा सीमानामा शान्ति र मित्रता कायम गर्ने उद्देश्यले गरिएको हो । ताकि दुवै पक्ष आनन्दले बस्न सकून् र अर्कोले आक्रमण गर्ने हो कि भन्ने चिन्ताबाट मुक्त रहन सकून् । तपाईं इच्छुक हुनुहुन्छ भने हामीले बर्मासँग गरेजस्तै अनाक्रमण सन्धिमा हस्ताक्षर गर्न सक्छौँ । सन्धिमा हस्ताक्षर गरिसकेपछि त्यसको उल्लंघन ग¥यौं भने हामी गलत हुन जान्छौँ । हामी ठूलो देश भएकोले तपाईंहरुले आक्रमण गर्ने आशंका हामीलाई हुँदैन । तर तपाईंहरुलाई त्यस्तो आशंका हुनसक्छ । सन्धिमा हस्ताक्षर गरिसकेपछि त्यसलाई उल्लंघ गरे त्यो हाम्रो भयानक गल्ती हुनेछ ।

वीपी : हाम्रो कुराकानीमा प्रधानमन्त्री चाउ एन लाइले मैत्री सन्धिको मस्यौदा अघि सार्नुभएको थियो । त्यो मस्यौदालाई पहिले हामीले मन्त्री परिषदबाट पास गराउनुपर्छ । त्यसमा केही संशोधन हुनसक्छ । सायद यसमा प्रधानमन्त्री चाउ एन लाइको अप्रिल अन्तिममा भारतपछिको नेपाल भ्रमणका क्रममा काठमाडौँमा हस्ताक्षर हुनसक्छ ।

माओ : धेरै राम्रो । हामीले नेपालका दुई प्रधानमन्त्रीलाई स्वागत गरिसक्यौँ । त्यसैले यसलाई बराबरी बनाउन अब हाम्रो प्रधानमन्त्रीले नेपाल भ्रमण गर्नुपर्छ । हामी तपाईंहरुलाई धन्यवाद दिन्छौँ । यसैवर्ष तपाईंको राजधानीमा हामी दूतावास खोल्दैछौँ, जुन अत्यन्त राम्रो कुरा हो । तपाईंले पनि यहाँ धेरै मान्छे नराखी दूतावास खोल्न सक्नुहुन्छ । तीनचार वा सातआठ जना राख्दा हुन्छ । यो त्यति खर्चिलो हुनेछैन । ८० लाख मान्छेबाट त्यति मान्छे खोज्न गाह्रो पर्दैन ।

वीपी : हामी धेरै मान्छे पठाउँदैनौँ किनभने हामी धेरैको खर्च धान्न सक्दैनौँ ।

माओ : हामीले सुनेअनुसार हाम्रो देशसम्म तपाईंहरु सीधा राजमार्ग निर्माण गर्दै हुनुहुन्छ अरे ।

वीपी : होइन, हामी दुई वर्ष अगाडि चाहिँ त्यो राजमार्ग बनाउन चाहन्थ्यौँ । तर कोषको अभावका कारण काम अघि बढ्न सकेन । अहिले सोभियत संघका प्राविधिकहरुले पूर्व–पश्चिम राजमार्गको सर्वेक्षणमा सघाइरहेका छन् ।

माओ : अहिले हाम्रो देश आउनुप¥यो भने तपाईंले अर्को देश हुँदै आउनुपर्छ ।

वीपी : होइन । हामी नेपाल र तिब्बतबीचको हिमाल नाघेर आउन सक्छौँ । तर त्यो औपचारिक मार्ग होइन ।

माओ : एक वर्ष, दश वर्ष वा बीस वर्षमा ढिलो वा चाँडो हामीबीच सीधा सडक हुनैपर्छ ।

वीपी : हाम्रो देशमा हामीले आर्थिक विकासको सम्भावना भएको क्षेत्रमा सडक बनाइरहेका छौँ । देशभर हामीले ९ सय माइल (१३०० किमी) सडक निर्माणको योजना बनाएका छौँ ।

माओ : गज्जब ।

वीपी :  मैले जवाहरलाल नेहरु र प्रधानमन्त्री चाउ एनलाइलाई वार्ताका लागि हाम्रो राजधानी काठमाडौँमा निम्त्याएको थिएँ । तर उहाँहरु आउन सक्नुभएन ।

माओ : त्यस्तो किन भयो भने हाम्रो प्रधानमन्त्री उनकै राजधानी दिल्ली आउन् भन्ने नेहरुको चाहना थियो । पहिले हामीले रंगुनको प्रस्ताव ग¥यौं तर नेहरु सहमत भएनन् । अहिले हामी दिल्ली जान सहमत भएका छौँ, त्यसैले उनी नेपाल जान सक्दैनन् । तपाईंको हार्दिकताका लागि धन्यवाद । तपाईंको अभिप्राय धेरै राम्रो छ । बर्माका प्रधानमन्त्रीको आशय पनि राम्रो थियो, जो चीन र भारतका प्रधानमन्त्री रंगुन पुगेको हेर्न चाहन्थे । तर जब नेहरुले यो कुरा आफूलाई सुविधाजनक नहुने बताए, त्यति सुविधा हामीले उनलाई दिनै प¥यो । अहिले बर्माका प्रधानमन्त्रीले हाम्रो प्रधानमन्त्रीलाई रंगुन बोलाएका छन् । महामहिमले पनि आफ्नो देशमा बोलाउनु भएको छ । त्यसैले प्रधानमन्त्री चाउ एन लाइ पहिले बर्मा जानुहुन्छ, अनि भारत गएर त्यहाँका प्रधानमन्त्रीसँग वार्ता गर्नुहुन्छ । त्यसपछि तपाईंको देशमा जानुहुन्छ । उहाँले यसपटक भ्रमण गर्ने चौथो देश चाहिँ कम्बोडिया हो, जसले हामीलाई अनेक पटक निम्ता गरिसकेको छ । उहाँ पाँचौँ देश पनि जानुहुन्छ, त्यो हो चि मिन्ह (हो चि मिन्ह भियतनाम कम्युष्टि पार्टीका संस्थापक हुन्, जो पछि भियतनामको निर्वाचित राष्ट्रपति र प्रधानमन्त्री भए) को देश हो । एकैसाथ पाँच देशको भ्रमण । त्यसैले गतवर्षको चीनविरोधी तरंग बिस्तारै शान्त हुँदैछ ।
करिब एक वर्षजति भारतसँग हाम्रो झगडा भयो । तर हामी अझै पनि मित्र हौँ । साथीसाथी, पतिपत्नी र दाजुभाइबीच प्रायः झगडा भइरहन्छ । तपाईं, बर्मा, सिलोन (अहिलेको श्रीलंका) र कम्बोडियासँग हाम्रो झगडा छैन । संसारमा एक देशसँग मात्रै हाम्रो गम्भीर झगडा छ, त्यो हो अमेरिका । उसले हाम्रो ताइवान कब्जा गरेर हामीलाई नै ‘आक्रमणकारी’ भन्छ । हामीले पनि उसलाई आक्रमणकारी भन्नुपर्छ । हामीले अमेरिकाको जमिन कहीँ एक इञ्च पनि कब्जा गरेका छैनौँ । यद्यपि चीन र होनोलुलुबीच मिडवे आइल्याण्ड छ । न त हामीले जापान नै कब्जा गरेका छौँ । मलाई थाहा छैन, हामी आक्रमणकारी कसरी भयौँ । र अहिले एउटा देश छ, जो हामीविरुद्ध तपाईंहरुसँग ‘संयुक्त सुरक्षा’ निर्माण गर्न चाहन्छ । यसमा तपाईंहरु सहमत नभएको मैले थाहा पाएँ । यसबाट हामी आनन्दित भयौँ । चीन(भारतबीचको मुद्दा आपसमै सल्टिनुपर्छ र हामी हस्तक्षेप गर्दैनौँ भनेर तपाईंले भन्नुभयो । हामीले नेपालमा आक्रमण गरेको आरोप भारतले लगायो । तर तपाईंहरुले कुनै आक्रमण नगरिएको घोषणा गर्दै वक्तव्य निकाल्नुभयो । हाम्रो सेना तपाईंको देशमा घुसपैठ गरेको हल्ला छ । के कुनै घुसपैठ भएको छ त ?

वीपी : त्यस्तो भएको छैन, त्यसैले त हामीले वक्तव्य जारी ग¥यौं ।

माओ : हाम्रोजस्तो देशले आत्मनिर्भरतालाई मुख्य सिद्धान्त बनाउनुपर्छ । र विदेशी सहायतालाई गौण बनाउने प्रयास गर्नुपर्छ । हामीले विदेशी सहायता लिनै पर्छ । तर मुख्य कुरा के हो, त्यसमा विचार पुर्याउनै पर्छ । आफैँमा निर्भर योजनाहरुलाई तपाईं सहज सञ्चालन गर्न सक्नुहुन्छ ।
तपाईंहरुको नीति पनि हाम्रोभन्दा खास फरक छैन । १९५० देखि ५९ सम्म हाम्रा ठूला उद्यमहरु सोभियत संघको सहयोगमा डिजाइन र स्थापित गरिएका थिए । त्यो दश वर्षमा हामीले केही प्रगति ग¥यौं र अहिले आफैँमा निर्भर हुँदैछौँ । पहिलो पञ्चवर्षीय योजनाको अवधिमा हामीले हरेक कुरा सोभियत संघको नक्कल गर्नुप¥यो, किनभने हामीलाई यसबारे एकदमै कम मात्र थाहा थियो । दोस्रो पञ्चवर्षीय योजना अवधिमा हामीले नक्कल गर्ने काम छोड्यौँ र १९५८ तथा १९५९ मा आफ्नै विधि खोज्यौँ । तपाईंहरु पनि सायद यही प्रक्रियाबाट गुज्रिनुपर्ने हुनसक्छ । सुरुमा विदेशीबाट नक्कल गर्न र निश्चित अवधिपछि नक्कल गर्न बन्द गर्न आवश्यक छ । स्कुल पढ्दै गर्दा विद्यार्थीले शिक्षकको नक्कल गर्छन् । वर्षौँको शिक्षापछि उनीहरु आफैँ शिक्षक बन्छन् । कुनै न कुनै क्षेत्रमा तपाईं शिक्षक बन्नुहुनेछ । एक सय वा हजार वर्षसम्म कोही सिकारु मात्र भइरहँदैन । हामी विगतमा सिकारु थियौँ, अहिले पनि सिकारु नै छौँ ।
सोभियत संघ, अमेरिका र बेलायतसँग परिष्कृत विज्ञान र प्रविधि छ, हामीसँग छैन । हामीले उनीहरुबाट सिक्नु पर्छ । हरेक राष्ट्रका आआफ्ना सबल र दुर्बल पक्ष हुन्छन् । यही कुरा तपाईंको देश वा कम्बोडियामा पनि लागू हुन्छ । हरेक ठूला वा साना देशले अर्को देशको सबल पक्षबाट सिक्नुपर्छ । अन्य देशहरुसँग अनुभव साट्नु अत्यन्त राम्रो कुरा हो । हामी पूर्वीयहरुमा हीनताको भाव छ । हामी गोराहरुको सामुन्ने हीनताबोध गर्छौँ । यो त्यस्तो अन्धविश्वास हो, जसलाई तोड्न आवश्यक छ । यो अन्धविश्वास तोड्न पश्चिमबाट सिक्नजत्तिकै आवश्यक छ । अन्धविश्वास तोड्नुसँगै उनीहरुबाट सिक्नु विरोधाभाषी कुरा होइन । उदाहरणका लागि हामी उनीहरुको देशमा विद्यार्थी पठाउन र औजारहरु आयात गर्न सक्छौँ ।
म पश्चिमको हरेक कुराको विरोधमा छैन । साम्राज्यवादीहरुले गरेको अरुको शोषण र दमनको मात्रै विरोधमा छु । हामीले उनीहरुको संस्कृति र विज्ञानबाट सिक्न जरुरी छ । पूर्वीयहरुले पश्चिमबाट सिक्नुपर्छ तर त्यो सिकाइलाई अन्धविश्वासबिना ग्रहण गरिनुपर्छ ।

वीपी : नेपाल–चीन सीमाको विषयमा अझै फरक मत छन् । हाम्रो दृष्टिमा विगत ५० वर्षको ऐतिहासिक परिस्थितिलाई आधार मान्दा चार स्थानमा विवाद छ । अब विवाद टुंग्याउने समय हो ।

माओ : राम्रो ।

वीपी : प्रधानमन्त्री चाउ एन लाइसँगको कुराकानीमा हामीले अनेकौँ सिद्धान्तको कुरा ग¥यौं। पहिलो, परम्परागत रुपमा स्वीकार्य विद्यमान सीमा रेखा कोर्ने, दोस्रो, सीमाको दुवैतर्फबाट क्षेत्राधिकारीको व्यवहारिक परिस्थिति मूल्यांकन गर्ने, तेस्रो, केही स्थानमा विवाद समाधान गर्ने र विवाद समाधान हुन नसके संयुक्त समितिमा हस्तान्तरण गर्ने ।

माओ : त्यो राम्रो कुरा हो ।

वीपी : हामीबीचका खासखास स्थानमा विवाद भएकाले यी सिद्धान्तहरु ठीक छन् । विवादले हामीलाई असहज बनाएको छ । हाङझाउ जाँदा मैले प्रधानमन्त्री चाउ एन लाइलाई भनेँ, म असहज मनस्थिति लिएर हाङझाउ आएको छु । प्रधानमन्त्री चाउले मलाई पूर्ण रुपमा सहज महसुस गर्न भन्नुभयो ।

माओ : निश्चय नै तपाईंले सहज महसुस गर्नुपर्छ । बर्मा पनि हामीसँग डराएको थियो । अहिले हामीले उनीहरुको चित्त शान्त गरिदिएका छौँ । हाम्रो मुटु कस्तो छ भन्ने बर्मेलीहरुलाई अहिले थाहा भयो ।

वीपी : यहाँ आउनुअघि मैले प्रधानमन्त्री ने विन (बर्माका तत्कालीन प्रधानमन्त्री तथा रक्षामन्त्री) लाई भेटेको थिएँ । उहाँले अध्यक्ष माओ र प्रधानमन्त्री चाउ एन लाइसँग स्पष्टसँग कुरा गर्न भन्नुभएको थियो । त्यसैले मैले यी सबै कुराबारे खुलेर बोलेको छु ।

माओ : राम्रो । यी विवादहरु हल गर्न सजिलो छ । हिमालमा मान्छे बस्दैनन् । हिमालको विवाद हल गर्न एक संयुक्त समिति बनाउन सकिन्छ ।

वीपी : हाल विवादित स्थानहरु तपाईंका लागि महत्वपूर्ण छैनन् । तर हाम्रो लागि ती महत्वपूर्ण छन् । यो प्रतिष्ठको विषय हो ।

माओ : चिन्ता नलिनु, ती सबै हल हुन सक्छन् ।

वीपी : अर्को पनि प्रश्न छ, भावनाको प्रश्न । यसलाई हामी सगरमाथा भन्छौँ, पश्चिमाहरु एभरेस्ट भन्छन्, तपाईंहरु चोमोलोङ्मा भन्नुहुन्छ । यो स्थान सँधै हाम्रो सीमाभित्र छ । तर प्रधानमन्त्री चाउ एन लाइले यो तपाईंहरुको सीमाभित्र पर्छ भन्नुभयो ।

माओ : यो कुरामा तपाईंहरु अप्ठ्यारो नमान्नुहोस् ।

वीपी : यो भावनात्मक प्रश्न हो ।

माओ : दुवै पक्षलाई आधाआधा गरेर यसको समाधान गर्न सकिन्छ । दक्षिणी भाग तपाईंको, उत्तरी भाग हाम्रो ।

वीपी : हिमालको चुचुरो चाहिँ ?

माओ : त्यो पनि दुवै पक्षलाई आधाआधा । त्यसो गरे ठीक हुन्छ ? यदि अहिले यो कुरा समाधान गर्न सकिन्न भने यो कुरालाई स्थगित गर्न सकिन्छ । यो निकै अग्लो छ र यसले हाम्रो सीमालाई सुरक्षा दिनसक्छ । हामीमध्ये कुनै पनि पक्षले हार बेहोर्नुपर्ने छैन । यो सबै तपाईंहरुलाई दिँदा हामी दुःखी हुन्छौँ । यो सबै हामीलाई दिँदा तपाईंहरु दुःखी बन्नुहुन्छ । हामी यसको शिखरमा सीमा रेखा राख्नसक्छौँ ।

सूर्यप्रसाद उपाध्याय (नेपालका तत्कालिन गृहमन्त्री) : त्यो कसले गर्ने ?

माओ : साह्रै मुस्किल काम हगि ! यसको लिखित अभिलेख राख्न सकिन्छ । हाम्रा मान्छेले तपाईंको तर्फबाट आरोहण गर्न लाग्दा हामी तपाईंहरुलाई सूचना दिनेछौँ, तपाईंहरुको मान्छे हाम्रो तर्फबाट आरोहण गर्दा तपाईंहरुले हामीलाई सूचना दिनुहुनेछ ।

सूर्यप्रसाद उपाध्याय : विगतमा हिमाल आरोहीहरुले नेपाली भिसा लिनुपथ्र्यो ।

माओ : तपाईंको देशबाट तेस्रो देशको आरोहीले हिमाल चढ्न खोज्दा तपाईंको देशबाट भिसा लिन सक्छन् ।

पान जिली (भारत र नेपालका लागि तत्कालीन चिनियाँ राजदूत) : विगतमा तिब्बततर्फबाट हिमाल चढ्न चाहनेले स्थानीय सरकारबाट अनुमति लिनुपथ्¥यो ।

लुओ गुइबो (चीनको परराष्ट्र मन्त्रालयका तत्कालीन उपमन्त्री) : विगतमा विदेशी आरोहीले स्वीट्जरल्याण्डस्थित हाम्रो दूतावासबाट भिसा लिएका थिए ।

वीपी : होइन ।

माओ : लामो समयदेखिको प्रचलित अभ्यास के हो भने तिब्बततिरबाट हिमाल चढ्न चाहनेले स्थानीय सरकारबाट अनुमति लिनुपर्छ ।

वीपीः अरु विवाद पनि छन् ।

माओ : तिनलाई समाधान गर्न सजिलो छ । तपाईंसँग विवाद समाधान गर्न सजिलो छ । भारतसँगको विवाद जस्तो होइन यो । भारतसँग हाम्रो विवादित क्षेत्र हजारौँ वर्गकिलोमिटर छ ।

वीपी : हाम्रो त केही वर्गकिलोमिटर मात्रै हो ।

माओ : यो हिमालको नाम फेर्न सकिन्छ । हामीले यसलाई एभरेस्ट भन्नु हुँदैन । त्यो नाम पश्चिमाहरुले दिएका हुन् । न हामीले यसलाई सगरमाथा भन्नु हुन्छ, न चोमोलोङ्मा । यसको नाम चीन–नेपाल मैत्री हिमाल राखौँ । यो शिखर संसारकै सर्वोच्च शिखर हो, जुन ८ हजार ८ सय मिटरभन्दा बढी अग्लो छ । अमेरिका, सोभियत संघ र भारतसँग यति अग्लो हिमाल छैन । मात्र हामी दुई देशसँग छ । तपाईंहरु यसबारे आन्तरिक छलफल गरेर सुझाव दिन पनि सक्नुहुन्छ । यदि कुनै सहमतिमा पुगिएन भने यसलाई भविष्यमा समाधान गर्ने गरी राख्न सकिन्छ ।

वीपी : ठीक छ । अन्य पाँच विवादित स्थान छन् । जसमध्ये तीन स्थान मुख्य छन् ।

सूर्यप्रसाद उपाध्याय : प्रश्न भनेको एक माइल दक्षिणतिर वा एक माइल उत्तरतिर सीमा कोर्ने भन्ने हो ।

माओः त्यसलाई समाधान गर्न गाह्रो छैन । जनसंख्य नभएको स्थानमा यसको समाधान गर्न सहज छ ।

वीपी : बेइजिङको वार्तामा समाधान गर्न सकिएन भने यो कुरालाई हामी तपाईंसामु कसरी राख्न सक्छौँ ?

माओ : तपाईंले मसँग कुरा गर्नुपर्दैन । बरु प्रधानमन्त्री चाउ एन लाइसँगको कुरालाई निरन्तरता दिनुहोस् । उहाँले तपाईंको देश भ्रमण गर्दा पनि तपाईं यो कुरालाई निरन्तरता दिन सक्नुहुन्छ । टेलिग्राममार्फत् हामी सम्पर्कमा रहनुपर्छ । दुवै पक्ष संयुक्त समितिमार्फत् सहमतिमा पुग्नुपर्छ । यदि सहमत हुनुभएन भने तपाईंहरु जोड गर्नुहोस् । तपाईंले जोड गर्नुभयो भने हामी के गर्न सक्छौँ ? के हामी युद्ध लड्न सक्छौँ त ? हामी आशावादी छौँ ।

वीपी : हामी पनि आशावादी छौँ ।

माओ : हामी तपाईंबाट मित्रता चाहन्छौँ । तपाईंहरु पनि हामीबाट मित्रता चाहनुहुन्छ । यो कुराको सार यही हो । यसलाई केन्द्रविन्दु मान्दा हरेक कुरा आफ्नो ठाउँमा रहन जान्छ । त्यसै होइन त ?

वीपी : हो ।

सूर्यप्रसाद उपाध्याय  : हो ।

माओ : हामी आफ्नो मनस्थिति सहज बनाउन चाहन्छौँ, ताकि हामी चीनलाई आधुनिक उद्योग, कृषि, विज्ञान र राष्ट्रिय सुरक्षासहितको देश बनाउन सकौँ । तपाईंले पनि आफ्नो देशमा त्यस्तै गर्नका लागि सहज महसुस गर्न आवश्यक छ । यो राम्रो कुरा हो । होइन त ?

(नेपाल भारतवीचको सिमाका सम्बन्धमा समस्या देखिइरहँदा चिनसंगको विवाद मिलानका सम्बन्धमा भएका प्रयासहरुका बारेमा पाठकहरुलाई जानकारी दिनु सान्दर्भिक ठानेर माओ र वीपीवीचको यो सम्बाद प्रकाशन गरिएको हो । यो संवादको नेपाली रुपान्तरण हामिलाई पत्रकार सुदिप गौतमले उपलब्ध गराउनु भएको हो । सम्पादक)