इन्द्र डिसी
दाङ, २ जेठ । शान्ति नगरगाउँपालिकाले कोरोनाबाट जोगाउन १५ बेडको क्वारेन्टाइन निर्माण गरेको छ । त्यस क्वारेन्टाइनमा बैशाखको तेस्रो सातासम्म आलोपालो गरेर ८० जना बसिसकेका छन् । यो संख्या अहिलेसम्म आइपुग्दा अझै थपिएको पालिकाले जनाएको छ । पालिकाले त्यहाँद्दस्थित एउटा विद्यालयको भवनलाई क्वारेन्टाइनका रुपमा तयार गरेर प्रयोग गरेको छ ।
त्यसैगरेर दंगीशरण गाउँपालिकाले १० बेडको क्वारेन्टाइन निर्माण गरेको छ । क्वारेन्टाइनमा शुक्रवारसम्म ३ जना बसेका छन् । तीमध्ये एकजना घर फर्किसकेका छन् भने २ जना अझै क्वारेन्टाइनमा छन् । त्यो संख्या शुक्रवार रातिसम्म फेरबदल हुने सम्भावना भएको पालिकाले जनाएको छ ।
कोरोना विशेष अस्पताल बेलझुण्डीका सूचना अधिकारी कमल चन्दका अनुसार जिल्लामा यस्ता २ सय ८८ क्वारेन्टाइन बेडहरु छन् । त्यसैगरेर कोरोना विशेष अस्पताल, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र राप्ती प्रादेशिक अस्पताल र केही निजी अस्पतालमा समेत आइसोलेसन बेडहरु छन् । कोरोना विशेष अस्पतालमा १ सय बेड, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १० बेड, राप्ती प्रादेशिक अस्पतालमा ३ र अन्यमा गरेर १ सय ६६ आइसोलेसन बेडहरु छन् । पालिकामा सबैभन्दा तुलसीपुर उपमहागरपालिकाले १ सय बेडको क्वारेन्टाइन सञ्चालन गरेको छ भने सबैभन्दा कम दंगीशरण गाउँपालिकाले १० वेडको क्वारेन्टाइन निर्माण गरेको छ । त्यसैगरेर घोराही उपमहागरपालिकाले १५ बेड, बबईले ३०, बंगलाचुलीले ३०, राप्तीले २५ गढवाले ११, राजपुरले २५, गढवाले ११ बेड र लमही नगरपालिकाले ३० वेडका क्वारेन्टाइन सञ्चालन गरेका छन् । यो समयमा जिल्लामा झण्डै ५ सय जना क्वारेन्टाइनमा बसेर घर फर्केका छन् ।
त्यसैगरेर राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना संक्रमणको परीक्षण गर्नका लागि पिसिआर ल्याब सञ्चालनमा आइसकेको छ र त्यहाँ शुक्रवारसम्म ४ सय ५८ जनाको पिसिआर जाँच भइसकेको छ । ती सबैको रिपोर्ट नेगेटिभ आएको छ । त्यसैगरेर जिल्ला बाहिरको ल्यावमा ८२ जनाको परीक्षण गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ पाइएको छ । यसरी शुक्रवारसम्म जिल्लाका ५ सय ४० जनाको पिसिआर जाँच भएको छ ।
यो तयारीले पुग्दैन
जिल्लामा निर्माण भएका क्वारेन्टाइन र आइसोलेसनको बेड संख्या आफैमा पर्याप्त छैन । बबई गाउँपालिकाले सञ्चालन गरेको क्वारेन्टाइन बेडको अभावमा एकजनाको परिवार भुईमा नै सुत्नु परेको थियो । साना बच्चासहितको परिवार भुँइमा नै सुत्ने गरेको अवस्था देखेपछि जिल्ला समन्वय समितिको अनुगमन टोलीले क्वारेन्टाइनमा सुधार्न पालिकालाई सुझाव दिएको थियो । समन्वय समितिको टोलीले क्वारेन्टानको अभाव भएमा होम क्वारेन्टाइनमा बस्न सुझाव दिएको थियो । ‘क्वारेन्टाइनमा बस्नेको संख्या धेरै भएमा होम क्वारेन्टाइनमा राख्ने वातावरण निर्माण गर्न पालिकालाई सुझाव दिएका छौं’, जिल्ला समन्वय समितिका प्रमुख जितेन्द्रमान नेपालीले भने । कोरोना विशेष अस्पतालका सूचना अधिकारी चन्दले पनि जिल्लामा कोरोनाको तयारी पर्याप्त नभएको बताए । क्वारेन्टाइन, आइसोलेसन र अन्य तयारी पर्याप्त छैन’, उनले भने– ‘कोरोनाले प्रकोपको रुप लिएमा अहिलेको तयारीले थेक्दैन ।’
बुधवार जिल्ला प्रशासन कार्यालय दाङमा पालिका प्रमुख तथा अन्य सरोकारवाला सहभागी भएको छलफलमा प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोख्रेलले पनि जिल्लामा निर्माण भएका क्वारेन्टाइन र आइसोलेसन बेड कम भएको भन्दै संख्या बढाउन पालिकाका प्रमुखलाई निर्देशन दिएका थिए । ‘यो संख्या आफैमा कम छ, भारतबाट आउने सीमामा आएर बसेका छन् । उनीहरुलाई पनि लिएर क्वारेन्टाइनमा राख्नुपर्छ । त्यसको लागि क्वारेन्टाइन क्षमता बढाउनुको विकल्प छैन’, मुख्यमन्त्री पोख्रेलले भने । क्वारेन्टाइनमा बस्नेहरुको संख्या बढेमा सामुदायिक क्वारेन्टाइन वडा तहमा बनाउन र घरबाट बिछ्यौना र खाना ल्याएर नमुना क्वारेन्टाइन बनाउन सकिने मुख्यमन्त्री पोख्रेलले सुझाव दिएकोसमेत छलफलमा सहभागी पालिका प्रमुखहरुले जानकारी दिएका छन् ।
जिल्ला प्रशासन कार्यालय दाङले सीमा नाका प्रयोग गरेर ६ हजार मानिस भित्रने आँकलन गरेको छ । ‘ती मानिसहरु आएमा उनीहरुको व्यवस्थापन गर्न क्वारेन्टाइनको संख्या बढाउने तयारी भएको छ’, प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले भने ।
यता, मानवअधिकारको क्षेत्रमा क्रियाशील संघसंस्थाले पनि पालिकाले निर्माण गरेको क्वारेन्टाइनको अनुगमन गर्दै क्वारेन्टाइनमा बस्ने प्रावधानलाई कडाइँ गर्न र बेड संख्या बढाउन सुझाव दिएका छन् । भारतमा अलपत्र अवस्थामा रहेका जिल्लावासीलाई सुरक्षितरुपमा ल्याई उनीहरुको स्वास्थ्य परीक्षण, क्वारेन्टाइनमा बस्ने प्रावधानलाई कडाइँका साथ लागू गर्न, क्वारेन्टाइन बेड थप, क्वारेन्टाइनमा रहेका मानिसहरुको लागि मौसम अनुकूलको ओढ्ने, ओछ्याउने, सरसफाइको लागि आवश्यक शौचालय, पानी, औषधि र खाद्यान्नको उचित प्रबन्ध गर्न सुझाव दिएको अनुगमनपछि जारी गरेको विज्ञप्तिमा उल्लेख छ । महिला मानवअधिकार रक्षकहरुको राष्ट्रिय सञ्जाल, महिला पुनःस्थापना केन्द्र (ओरेक नेपाल), मानवअधिकार सञ्जाल दाङ तथा संवाद समूहले जिल्लाका पालिकाले व्यवस्थापन गरेको क्वारेन्टाइन, राहत वितरण, स्वास्थ्य सेवा, लैङ्गिक हिंसा र समुदायमा यस बारेको सचेतनालगायतका विषयमा बैशाख ३० र ३१ गते अनुगमन गरेका थिए ।
उच्च सतर्कता
छिमेकी जिल्ला बाँके र कपिलवस्तुमा कोरोना संक्रमितको संख्या बढेसँगै जिल्लामा सतर्कता अपनाइएको छ । सीमा जोडिएका नाकाहरुमा विशेष चेकजाँच थालिएको छ । शुक्रवारसम्म बाँकेमा ३३, कपिलबस्तुमा ३९, बर्दियामा १ जना कोराना संक्रमित पुष्टि भएको छ । छिमेकी जिल्लामा कोराना संक्रमण बढेसँगै जिल्लामा सतर्कता अपनाएको प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले बताए । त्यसैगरेर भारतीय नाका जोडिएको गढवा र राजपुर गाउँपालिका विभिन्न नाकाहरुमा समेत सुरक्षाजाँच बढाएको प्रमुख जिल्ला अधिकारीले बताए । ‘भारतीय सीमा जोडिएका नाकाबाट कोही आएका छैनन्’ प्रमुख जिल्ला अधिकारी रिजालले भने– ‘लुकिछिपी आएकालाई क्वारेन्टाइनमा राखेर पिसिआर जाँचपछि मात्र घर पठाउने काम भएको छ ।’
शुक्रवारसम्म देशभर कोरोना संक्रमित हुनेको संख्या २६७ पुगेको छ । तीमध्ये ३ जना दाङका रहेका छन् । तीन मध्य २ जना गढवाका र एकजना तुलसीपुरका रहेको जनाइएको छ । तुलसीपुर ठेगाना भएका उनी काठमाडौमा रहेको बुझिएको छ । संक्रमित मध्य शुक्रवारसम्म ३६ जना निको भएर घर फर्किसकेका छन् ।
पाँच सय बढीलाई होल्ड
इलाका प्रहरी कार्यालय तुलसीपुरले ५ सय भन्दा बढीलाई शुक्रवार विहान प्रहरीले ‘होल्ड’ गरेको छ । कोरोना भाइरसको जोखिम बढेसँगै अत्यावश्यक कामबाहेक बाहिर निस्किने र सरकारले जारी गरेको आदेश उल्लंघन गर्ने ५ सयभन्दा बढीलाई प्रहरीले ‘होल्ड’ गरेर सचेतना कक्षा दिएको छ । प्रहरीले लकडाउन उल्लंघन गर्नेहरुलाई जहाँ भेटिन्छ त्यहाँ केही घण्टा होल्ड (रोकेर राख्ने) र सचेतना दिएर जहाँबाट आएको हो त्यतै फर्काएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक चक्रडम्वर पालले बताए । तुलसीपुरको बीरेन्द्र चोक, मदन–आश्रित चोक र बसपार्कमा एक घण्डा होल्डमा राखिएको थियो । केही दिनयता तुलसीपुर क्षेत्रमा लकडाउन खुकुलोजस्तै देखिएको थियो । बजारमा भीडभाड बढ्नुका साथै निजी सवारीका साधनहरु पनि धेरै मात्रामा सञ्चालन भएका थिए । शुक्रवार भने अत्यावश्यकबाहेका सवारी सधानहरु पनि सञ्चालनमा रोक लगाएको छ भने सुरक्षाकर्मीहरु प्रत्येक चोकमा खटाएको छ । अत्यावश्यकबाहेका सवारी साधनहरु पनि प्रहरीले नियन्त्रमा लिएको जनाएको छ । कोभिड–१९ को विश्वव्यापी महामारी फैलिएपछि नेपालमा हुने सम्भावित जोखिम रोक्न सरकारले चैत ११ गते बिहान ६ बजेदेखि लागू हुने गरी उक्त आदेश जारी गरेको थियो ।