Goraksha

National Daily

‘कक्षा कोठाबाट जीवनतर्फ’ लिटल एन्जलमा सिकाइ उत्सव

गोरक्ष समाचारदाता
दाङ, २५ चैत । घोराही स्थित लिटल एन्जल स्कुलमा मङ्गलवार केही फरक देखिन्थ्यो । विद्यालय परिसरभित्र प्रवेश गर्नासाथ रङ्गीन चार्ट, सजीव मोडेल, उत्साहित विद्यार्थीको चहलपहल र अभिभावकको जिज्ञासु नजर सबैले सङ्केत गरिरहेका थिए ।

लाग्थ्यो त्यहाँ केवल पढाइ मात्र होइन, सिकाइको उत्सव चल्दैछ । लिटल एन्जल स्कुलले आयोजना गरेको शैक्षिक प्रदर्शनीले कक्षा कोठाभित्र सीमित ज्ञानलाई खुला आकाशमा ल्याइदिएको थियो ।

कक्षा १ देखि ९ सम्मका विद्यार्थीले आफ्नो वर्षभरिको सिकाइलाई परियोजनाकार्यका रूपमा प्रस्तुत गर्न आतुर देखिन्थे । साना बालबालिकादेखि किशोरवयका विद्यार्थीसम्म, सबैमा एउटै ऊर्जा थियो ‘हामीले सिकेको कुरा देखाउन पायौँ ।’ एक कुनामा साना बालबालिकाले बनाएका रङ्गीन चित्रहरू थिए । जसले विद्यार्थीको कल्पनाशक्ति बोलिरहेका थिए ।

अर्को कुनामा विज्ञानका प्रयोग चलिरहेको थियो । पानीको चक्रदेखि सरल मेसिनसम्मका अवधारणालाई विद्यार्थीले आफ्नै शब्दमा व्याख्या गरिरहेका थिए । सामाजिक विषयका स्टलमा स्थानीय संस्कृति, इतिहास र परिवेशसँग जोडिएका सामग्रीले अवलोकनकर्तालाई सोच्न बाध्य बनाइरहेका थिए ।

विशेष गरी सामाजिक विषयका स्टलले सबैको ध्यान तानेका थिए । स्टलमा लोककथाका सजीव प्रस्तुति गरिएको थियो । जसले हाम्रो मौलिक संस्कृतिलाई नयाँ पुस्तासम्म पु¥याउने काम गरेको थियो । विद्यार्थीले परम्परागत कथालाई आधुनिक सन्दर्भसँग जोड्दै प्रस्तुत गर्दा दर्शक मोहित बनेका थिए ।

यसैगरी देशको वर्तमान अवस्थाको चित्रण गर्दै भावी नेपालको परिकल्पनासमेत परियोजना कार्यमार्फत् प्रस्तुत गरिएको थियो । कतै सुशासनको माग थियो, कतै स्वच्छ वातावरणको सपना त कतै प्रविधिमैत्री र समृद्ध नेपालको कल्पना ।

बालमस्तिष्कले देखेको देशको यथार्थ र भविष्यको चित्रले उपस्थित सबैलाई ‘हामी कहाँ छौँ र कहाँ जान चाहन्छौँ’ भनेर सोच्न बाध्य बनाइरहेको थियो । यो प्रदर्शनी केवल सामग्रीको प्रदर्शन मात्र थिएन । यो त विद्यार्थीको आत्मविश्वास, सहकार्य र सिर्जनशीलताको प्रत्यक्ष अभ्यास थियो ।

समूहमा विभाजन भई गरिएको कार्यले उनीहरूलाई एकअर्कासँग सिक्ने, बुफ्ने र सँगै समाधान खोज्ने सिप सिकाएको थियो । कक्षा कोठामा पढाइने सिद्धान्तहरू त्यहाँ व्यवहारमा रूपान्तरण भइरहेको दृश्य छर्लङ्ग हुन्थ्यो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पूर्ण गिरीको अध्यक्षतामा भएको कार्यक्रममा प्रिन्सिपल यादव गिरीले कार्यक्रमको उद्देश्यबारे स्पष्ट पारेका थिए । ‘हामी केवल परीक्षा पास गराउने शिक्षामा सीमित छैनौँ, जीवनोपयोगी सिप विकास गर्ने शिक्षातर्फ अघि बढिरहेका छौँ’, प्रिन्सिपल गिरीले भने ।

उनको विद्यालयको दृष्टिकोण झल्काउन र पाठ्यपुस्तक भन्दा बाहिरको संसारसँग विद्यार्थीलाई जोड्ने प्रयास रहेको बताए । अभिभावकको उपस्थितिमा उद्घाटन गरिएको कार्यक्रममा सहप्रिन्सिपल बिमल रोकाले स्वागत मन्तव्य राख्दै विद्यालय र घरबिचको सहकार्यलाई बलियो बनाउन यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने बताए ।

अभिभावकहरू आफ्ना छोराछोरीको प्रस्तुति हेर्दा खुसी भएको देखिन्थे । कतिपयले मोबाइलमा तस्बिर कैद गरिरहेका थिए त कतिपयले आफ्नै सन्तानसँग प्रश्न सोध्दै उनीहरूको बुझाइ परीक्षण गरिरहेका थिए ।