Goraksha

National Daily

कृषिको आवश्यकता पहिचान कार्यक्रम, ‘कृषि’ सुन्न फुर्सद छैन जनप्रतिनिधिलाई

अमरराज आचार्य
दाङ, २२ चैत । लुम्बिनी प्रदेश सरकारको वार्षिक स्वीकृत कार्यक्रम अनुसार किसानको आवश्यकता पहिचान गर्ने उद्देश्यले लुम्बिनी प्रदेश कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय, कृषि ज्ञान केन्द्र दाङ र भेटनरी अस्पताल तथा पशु विज्ञ केन्द्रको आयोजनामा निर्वाचन क्षेत्रगत अन्तरक्रिया कार्यक्रम सुरु भएका छन् ।

हरेक प्रदेश निर्वाचन क्षेत्रका सांसदहरू, स्थानिय तहका जनप्रतिनिधि, स्थानीय सरकारका कृषि तथा पशुपंक्षी शाखाका प्रमुख तथा ती क्षेत्रमा व्यवसायिक कृषि पेसा अंगालेका किसानलाई आमन्त्रण गरिएको छ तर कार्यक्रममा कर्मचारी र किसानको मात्रै सहभागिता देखियो ।

कृषिलाई समन्नत बनाउने नीति निर्माण गर्ने जनप्रतिनिधि भने सो कार्यक्रममा उपस्थित भएनन् । शुक्रवार लमहीमा आयोजना गरिएको निर्वाचन क्षेत्र नं. १ क र ख दुवै प्रदेश क्षेत्रबाट अत्यन्तै न्यून संख्यामा जनप्रतिनिधि उपस्थित देखिए । लमहीको अन्तरक्रिया कार्यक्रममा राप्ती गाउँपालिकाकी उपाध्यक्ष कमलापति चौधरी र केही वडा सदस्य बाहेक अन्य पालिकाका प्रमुख उपप्रमुख, अध्यक्ष उपाध्यक्षको उपस्थिति रहेन ।

कृषि मन्त्रीलाई प्रमुख अतिथिका रूपमा आमन्त्रण गरिए पनि कृृषि मन्त्री सहभागि नभएर तालिम केन्द्रका प्रतिनिधिलाई पठाए । जिल्ला समन्वय समितिका प्रमुख नित्यानन्द शर्माको प्रमुख आतिथ्यमा भएको अन्र्तक्रिया कार्यक्रममा सहभागी व्यवसायिक किसानको सबैभन्दा बढी अपेक्षा भने स्थानीय सरकारसँगै पोखिएको देखिन्थ्यो ।

व्यवसायिक रूपमा केरा खेती थालिएको छ, तर औषधी स्प्रे गर्न निकै कठिन छ । उत्पादित कृषि उपजलाई स्टोर गर्न उपयुक्त कोल्ड चेनको व्यवस्था छैन । विषादिको सही प्रयोग गर्ने प्राविधिक ज्ञान किसानलाई छैन । बजारीकरणमा अलमल भइरहँदा विचौलियाको हातमा मुनाफा जाने परम्परा छ ।

लमहीको कार्यक्रममा यस्तै–यस्तै गुनासा पोखिए । यी सबै गुनासा सम्बन्धित क्षेत्रका जनप्रतिनिधिले सुन्नु पथ्र्यो र आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा किसानका गुनासा सम्बोधन हुन सक्थे । तर, जनप्रतिनिधि नै नभएपछि त्यो कार्यक्रम खाली औपचारिकतामा मात्र सीमित भयो । लमहीमा कृषि मन्त्रीसहित दुईजना प्रदेशसभा सदस्य तथा तीनवटै पालिकाका प्रमुख उपप्रमुखलाई बोलाइए पनि ती जनप्रतिनिधिलाई किसानका समस्या सुन्न फुर्सद भएन् ।

आयोजकले आफ्ना एजेण्डा र कार्यक्रमसहित किसानलाई प्रशिक्षण दिए, किसानका गुनासा टिपोट गरे अनि अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो । ठिक त्यही प्रकृतिको कार्यक्रम निर्वाचन क्षेत्र नं. २ प्रदेश क र ख का किसान र जनप्रतिनिधिलाई आमन्त्रण गरी शनिवार घोराहीमा सम्पन्न भएको छ ।

धन्न सो कार्यक्रममा एकजना प्रदेशसभा सदस्य लोकाकुमारी विश्वकर्मा, जिल्ला समन्वय समितिका प्रमुख नित्यानन्द शर्मा, घोराहीका उपप्रमुख हुमा डिसी, बंगलाचुली गाउँपालिकाका अध्यक्ष तुलसीराम पुन र उपाध्यक्ष भक्तबहादुर जिसी तथा न्यून मात्रामा वडाध्यक्षको उपस्थिति देखियो ।

सम्बन्धित कृषि पकेट क्षेत्रका वडाध्यक्षको समेत सो अन्तरक्रिया कार्यक्रममा उपस्थिति हुन सकेन । यो अवस्थाले समुन्नत कृषि वर्षैदेखि गुजारामुखी मै सीमित छ । कृषि तथा पशुपालन व्यवसाय निर्यातमुखी बन्न ठुलो चुनौती देखिएको छ । यी सबै चुनौतीलाई सम्बोधन गर्न आवश्यक नीति निर्माण गर्ने स्थानीय सरकारका जनप्रतिनिधिलाई भने कृषि सुन्न फुर्सद नै छैन ।

‘स्थानीय सरकारले नीति निर्माण गर्ने बेला भएको छ, कम्तिमा हाम्रा समस्या पनि सुन्न आएर नीति निर्माण गर्दा ती समस्यालाई सम्बोधन गर्न सहज हुन्थ्यो होला नि’, अम्बिकेश्वरी बहुद्देश्यीय कृषि संस्थाका सञ्चालक शंकर नेपालीले भने तर त्यहाँ उनले सुनाउनु पर्ने जनप्रतिनिधि भने थिएनन् ।

निर्वाचन क्षेत्र स्तरमा कार्यक्रम गरेर सुझाव संकलन गरेको हो । जिल्लाका तीन क्षेत्रमा कार्यक्रम गरेर सुझाव लिन थालिएको छ । कृषि ज्ञान केन्द्र दाङ, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र दाङको आयोजनामा शनिवार क्षेत्र नं. २ अन्र्तगत घोराहीमा आवश्यकता पहिचान सम्बन्धी अन्तरक्रिया कार्यक्रम गरिएको हो ।

कार्यक्रममा बोल्ने वक्ताहरूले उत्पादनमुखी पुँजी विकास हुनु पर्ने योजना बनाउनु पर्ने बताएका थिए । वितरणमुखी योजना मात्र हुँदा समस्या भएको उनीहरूको भनाइ छ । किसानले उत्पादन गरेको उत्पादनको बजारीकरणको ज्ञारेन्टी नीति कार्यक्रम बनाउनु पर्ने, सिँचाइलाई प्राथमिकता दिनु पर्ने बताए । बंगुरपालन व्यवसायी विरबहादुर चौधरीले बंगुरको क्षेत्रमा बजेट कटौती गरिएको बताए ।

महामारीको समयमा राज्यको निकायबाट राहात प्रदान हुन नसकेको भन्दै यसतर्फ योजना ल्याउन माग गरे । शक्तिराम डाँगीले ड्रायगन खेतीलाई प्रदेश सरकारले सूचीकृत गर्नु पर्ने बताए । सिँचाइको लागि लो भोल्टेज हुँदा समस्या हुने भन्दै यसतर्फ ध्यान दिनु पर्ने उनको भनाइ छ । माहुरी पालन दिनेश वलीले स्थानीय उत्पादन उपभोग गर्नु पर्ने नीति ल्याउनु पर्ने बताए ।

दाङमा माहुरी स्रोत केन्द्रको स्थापना गर्न प्रदेश सरकारले योजना ल्याउनु पर्ने उनको भनाइ छ । विमल अधिकारीले पशु पालनको लागि आवश्क पर्ने घामको बिउ उत्पादनलाई प्रोत्साहन गर्नु पर्ने बताए । जिल्लामा उत्पादन भइरहेको बसीम घाँसको बिउ उत्पादन गर्नु पर्ने उनको भनाइ छ ।

प्रदेश सभा सदस्य लोका विश्वकर्माले कृषिलाई प्राथमिकता दिइएको बताइन् । के कस्ता कार्य गर्न सकिन्छ भनेर सुझाव माग गर्न थालिको उनको भनाइ छ । तीनवटै सरकारले आ–आफ्नो क्षेत्रमा काम गरिरहेको उनले बताइन् । प्रदेशले विषादीसम्बन्धी कानुन निर्माण गर्न थालेको बताइन् । यसले बढ्दो विषादी नियन्त्रण गर्न सहयोग पुग्ने उनको भनाइ छ । जिल्ला समन्वय समितिका प्रमुख नित्यानन्द शर्माले गुजारामुखी खेतीबाट व्यवसायीतर्फ अगाडि बढेको बताए ।

घोराही उपमहानगरपालिकाका उपप्रमुख हुमा डिसीले नीतिको कार्यान्वन गरेर अगाडि बढ्नु पर्ने बताइन् । राज्यले प्रदान गरेको अवसरलाई नागरिकले सदुपयोग गर्नु पर्ने बताइन् । बंगलाचुली गाउँपालिकाका अध्यक्ष तुलसीराम पुन सुवासले कुन क्षेत्रमा के सभावना हुन्छ त्यस अनुसार ब्लक निर्माण गरेर अगाडि बढ्नु पर्ने बताए । बंगलाचुली गाउँपालिकाका उपाध्यक्ष भक्तबहादुर जिसीले किसानको समस्या बुझ्न नसक्दा समस्या भएको बताए । कृषिलाई प्राथमिकता दिए पनि बजेटमा प्राथमिकता नदिँदा समस्या हुने गरेको उनको भनाइ छ ।

कार्यक्रम कृषि व्यवसाय प्रवद्र्धन सहयोग तथा तालिम केन्द्र, बाँकेका कृषि प्रसार निर्देशक श्रीधर ज्ञवालीको अध्यक्षतामा भएको थियो । कार्यक्रमको सहजीकरण भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र दाङका सूचना अधिकारी कृष्णकुमार न्यौपानेले गरेका थिए । आइतवार निर्वाचन क्षेत्र नं. ३ मा यस्तै अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ ।