Goraksha

National Daily

जलविन्दु रोगसम्बन्धी सचेतना

गोरक्ष समाचारदाता
तलसीपुर, २२ चैत । नेपाल नेत्रज्योति संघ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्जअन्तर्गत सञ्चालित राप्ती आँखा अस्पतालमा जलविन्दु रोगसम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ । जलविन्दुको उपचारसँंगै सचेतना दिने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा दाङ जिल्लासहित छिमेकी जिल्लाका सेवाग्राहीको उपस्थिति रहेको थियो ।

जलविन्दु विभागद्वारा आयोजित सचेतना कार्यक्रममा जलविन्दुका बिरामी र उनीहरूका परिवारका सदस्यमा जलविन्दु रोगको बारेमा जागरूकता बढाउन, जलविन्दु रोगको प्रकृति, यसको प्रकार र रोकथामका विषयमा जानकारी प्रदान गर्नका साथै नियमित चेकजाँच र औषधीको उचित प्रयोगको लागि बिरामीलाई प्रेरित गर्न यो कार्यक्रम आयोजना गरिएको राप्ती आँखा अस्पतालका मेडिकल डाइरेक्टर तथा जलविन्दु रोग विशेषज्ञ सहायक प्राडा रन्जितकुमार शाहले जानकारी दिए ।

नेपालमा हुने अन्धोपनाको दोस्रो कारणमा जलविन्दु रोग भएकाले यसको सचेतना आवश्यक रहेको डा. साहको भनाई छ । ‘रोग लाग्नुभन्दा लाग्न नदिनुनै उत्तम उपाय हो रोग लागि हाले पनि कसरी यसलाई न्यूनीकरण गर्ने र हेरचाह गर्ने भन्ने सचेतना आवश्यक पर्ने भएकाले यस्ता सचेतना कार्यक्रम आयोजना हामीले गरेका हाँै’, डा. शाहले भने । उपचारसँगै यसबाट कसरी बच्ने भन्ने विषयमा बिरामी र बिरामीका अभिभावकलाई सचेतना दिने गरेको उनले बताए ।

जलविन्दु रोग विशेषज्ञ सहायक प्राडा शाहले जलविन्दु रोग, लक्षण,रोगको उपचार पद्धति, यसबाट समयमै बच्ने उपायको विषयमा प्रशिक्षण दिएका थिए । औषधीको उचित प्रयोग फलोअपको महत्व र जीवनशैली र आहारविहार सल्लाह र यसमा परिवारको सहयोगको भूमिकाका विषयमा प्रशिक्षण साथै जानकारी दिएको थियो ।

सचेतना कार्यक्रममा नेपाल नेत्रज्योति संघ दाङका सहकोषाध्यक्ष प्रणवकुमार खड्का सदस्य ताराप्रसाद पोख्रेल, नेत्रविशेषज्ञ डा. क्षमता सुवेदी,बरिष्ठ अनुगमन तथा मूल्याङ्कन अधिकृत सालिकराम गौतम , व्यवस्थापक शसि लामिछाने, जलविन्दुको उपचार गराइरहेका विरामी र उनीहरूका आफन्त तथा अस्पतालका कर्मचारीको सहभागिता रहेको थियो ।

त्यस्तै कार्यक्रममा सहभागी वेदप्रसाद शर्माले यस्ता सचेतना कार्यक्रमले सबै नागरिक सचेत हुनुका साथै समयमै रोग पहिचान भई दृष्टिविहिन्ता हुनबाट बच्न सकिने भन्दै अस्पताललाई धन्यवाद दिए । त्यस्तै सेवाग्राही पदमबहादुर वलीले आफु रोल्पाबाट यस कार्यक्रममा सहभागी हुन आएको भन्दै धेरै कुरा थाहा भएको धारणा व्यक्त गरे ।

राप्ती आँखा अस्पतालमा जलविन्दु रोगसम्बन्धी उपचार सेवा सुरु भएसँगै नागरिकलाई सहज भएको छ । अस्पतालमा दैनिक १५ जनाभन्दा बढीले विशेषज्ञ सेवा लिने गरेका छन् । वार्षिक योजनाअनुसार जलविन्दुको शल्यक्रिया विभिन्न उपचारसँगै सचेतना कार्यक्रम गर्दै आएको वरिष्ठ अनुगमन तथा मूल्याङ्कन अधिकृत शालिकराम गौतमले जानकारी दिए ।