Goraksha

National Daily

नेपाल शिक्षक संघ दाङको २७ औं प्रतिनिधि सभा तथा शैक्षिक अन्तरक्रिया

हेमराज शर्मा
दाङ, २१ चैत । नेपाल शिक्षक संघ दाङको २७ औ प्रतिनिधि सभा तथा शैक्षिक अन्तरक्रिया कार्यक्रम शनिबार घोराहीमा सम्पन्न भएको छ ।

नेपाल शिक्षक संघ दाङका अध्यक्ष प्रकाश डाँगीको अध्यक्षता एवं नेपाल शिक्षक संघ केन्द्रीय कार्यसमितिका केन्द्रीय वरिष्ठ उपाध्यक्ष ईलमबहादुर शाहीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि शाहीले हाल सरकारले सबै संगठनहरु खारेजी गर्ने भन्दै संजालहरुमा आएको सूचना मिथ्या भएको भन्दै हाल नेपालमा मौजुदा ऐन नियमहरुको आधारमा संघ तथा संगठनहरु खारेजी नहुने भन्दै आत्मबल कमजोर बनाएर नबस्न संघमा आवद्ध शिक्षकहरुलाई आग्रह गरेका थिए ।

विश्वका थुप्रै देशहरु बंगलादेश,फिलिपिन्स,ईन्डोनेसिया, मलेसिया,भारतलगाएतका देशहरुमा पनि यसै किसिमका शिक्षक संगठनहरु रहेको हुँदा पञ्च्यायत व्यवस्थामा पनि स्विकार गरिएको संरचनालाई हटाउन खोजिनु लोकतान्त्रिक राज्यमा नसुहाउने बताए । संघ र संगठनहरु खारेजी गर्न खोजिएमा त्यसको डटेर सामना गर्दै कानुनी लडाईं समेत लड्ने व्यहोरा प्रष्ट पारेका थिए ।

संगठन चलायमान गराउनका लागि लेवि अनिवार्य भएको भन्दै सदस्यता नविकरण गर्न अनिवार्य भएकाले एकअर्काप्रति दोषारोपण गर्न नहुने बताए । शाहीले पेशागत हकहित र सुरक्षाको लागि संगठनको झण्डामुनि बस्न कुनै समस्या नरहेको तर पार्टीको झण्डामुनि रहेर चर्का चर्का भाषण भने गर्न नहुने बताउनुभयो साथै नेपालमा भएका शिक्षकहरुमध्ये नेपाल शिक्षक संघमा आवद्ध शिक्षकहरुको संख्या सबैभन्दा बढी भएकाले सामुदायिक विद्यालयहरुमा शैक्षिक गुणस्तर कायम गर्ने प्रमुख दायित्व पनि नेपाल शिक्षक संघमा आवद्ध शिक्षकहरुकै रहेको बताएका हुन ।

नेपाल शिक्षक संघ दाङकी महिला उपाध्यक्ष चित्रकला आचार्यको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा नेपाल शिक्षक संघ दाङका सचिब सुर्यबहादुर बस्नेतले संघको सांगठनिक प्रतिवेदन, नेपाल शिक्षक संघ दाङका सचिब अर्थ निशान्त आचार्यले संघको आर्थिक प्रतिवेदन र नेपाल शिक्षक संघ दाङकी महिला उपाध्यक्ष चित्रकला आचार्यले महिला संगठन विभाग प्रतिवेदन पस्तुत गरेको संघका जिल्ला सदस्य बालचन्द्र शर्माले जानकारी दिएका छन् ।

कार्यक्रममा संघको उद्धेश्य अनुरुप स्थानीय तहमा उत्कृष्ट कार्यसम्पादन गरेको भन्दै स्थानीय पालिकाहरुमध्येबाट उत्कृष्ट पालिकाको रुपमा राप्ती गाउँपालिका स्थानीय कार्यसमितिलाई सम्मान गरिएको थियो । कार्यक्रममा नेपाल शिक्षक संघका पूर्व संघिय उपाध्यक्ष अमरबहादुर खड्का, नेपाल शिक्षक संघ लुम्बिनी प्रदेशका उपाध्यक्ष रमेशकुमार पाण्डेय,नेपाल शिक्षक महासंघ दाङका अध्यक्ष एवं नेपाल शिक्षक संघ दाङका निवर्तमान अध्यक्ष युबराज बस्नेत, नेपाल शिक्षक संघ लुम्बिनी प्रदेशका सदस्यद्वय लेवेन्द्र केसी र ढकबहादुर वली, नेपाल शिक्षक संघ राप्ती गाउँपालिका अध्यक्ष मंगल चौधरीलगाएतले शुभकामना तथा मन्तव्य व्यक्त गरेका थिए ।

यसैगरी अन्तरक्रिया कार्यक्रमका सहभागीहरुले विशेषगरी सामुदायिक विद्यालयमा विद्यार्थीहरुको बाक्लो उपस्थिति भएमा मात्र शिक्षकहरुको वृत्ति र विकासले निरन्तरता पाउने भन्दै शैक्षिक वर्ष २०८३ देखि आफू कार्यरत रहेको विद्यालयमा शैक्षिक गुणस्तर कायम गर्नका लागि कटिबद्ध भएर लागिरहनुपर्ने साथै हाल संचालनमा रहेको, एसइई परीक्षालाई मर्यादित ढंगबाट सम्पन्न गर्न राज्यलाई सहयोग गर्नुपर्नेमा जोड दिएका थिए ।

नेपाल शिक्षक संघ दाङका उपाध्यक्ष दामबहादुर बुढाथोकीले धन्यवाद ज्ञापन गरेको कार्यक्रमको संचालन संघका सचिब सुर्यबहादुर बस्नेतले गरेका थिए ।