विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउन चार पालिकाले सहकार्य गर्ने
प्रिया स्मृती गजमेर
देउखुरी १८ चैत । देउखुरी उपत्यकाभित्रका स्थानीय तहबिचको अन्तर समन्वय बैठकले विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउने भएका छन् । राप्ती गाउँपालिकामा सम्पन्न बैठकमा लमही नगरपालिका, गढवा गाउँपालिका र राजपुर गाउँपालिकाका प्रतिनिधिको सहभागितामा भएको बैठकले विपद व्यवस्थापनलाई प्रभावकारी बनाउन सहकार्य गर्ने निर्णय गरेका हुन् ।
बैठकले देउखुरी क्षेत्रमा सम्भावित प्राकृतिक तथा मानवीय विपद्सँग जुध्न संयुक्त रूपमा अघि बढ्ने निर्णय गरेको हो । निर्णय अनुसार विपद् व्यवस्थापनका लागि आवश्यक सामग्रीका पहिचान गरी सबै स्थानीय तहले समन्वयमा राहत तथा उद्धार सामग्री खरिद गर्नेछन् । उद्धार कार्यमा प्रयोग हुने सामग्री नजिकका सुरक्षा निकायलाई हस्तान्तरण गरी प्रभावकारी परिचालनको व्यवस्था गरिनेछ ।
त्यसैगरी विपद्का समयमा सुरक्षित आश्रयका लागि खुला क्षेत्रको पहिचान र संरक्षण गरिनेछ भने सबै स्थानीय तहलाई सहज हुने कम्तीमा दुई स्थानमा संयुक्त प्रयासमा सुरक्षित आश्रयस्थल निर्माण गरिने भएको छ । राप्ती नदी तथा राजमार्ग क्षेत्र आसपास हुन सक्ने विपद्सँग सामूहिक रूपमा सामना गर्न पूर्वतयारी तथा प्रतिकार्य योजना तयार गर्ने निर्णय बैठकले गरेको छ ।
विपद्को समयमा प्रभावित नागरिकलाई तत्काल राहत उपलब्ध गराउन आश्रयस्थल, खाद्यान्न, कपडालगायतका अत्यावश्यक सामग्री व्यवस्थापनका लागि आवश्यक स्रोत र कोषको व्यवस्था प्रत्येक स्थानीय तहले गर्ने सहमति भएको छ । लमही नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्रबहादुर डाँगीका अनुसार विपद् व्यवस्थापनलाई थप प्रभावकारी बनाउन चार वटै स्थानीय तहबाट चयन गरिएका युवालाई कम्तीमा सात दिनको अभ्याससहितको तालिम प्रदान गरी स्वयम्सेवकका रूपमा तयारी अवस्थामा राखिनेछ ।
उनीहरूलाई आवश्यक सुरक्षात्मक सामग्रीसमेत उपलब्ध गराइनेछ । यसका अतिरिक्त देउखुरी उपत्यभित्रका स्थानीय तहबिच समन्वयलाई निरन्तर र व्यवस्थित बनाउन नियमित बैठक सञ्चालन गर्ने निर्णय गरिएको छ । बैठकले आगामी एक महिनाभित्र स्थानीय तहको नामका वर्णानुक्रम अनुसार पालैपालो बैठक आयोजना गर्ने व्यवस्था मिलाउने निष्कर्ष निकालेको छ ।
बैठकमा लमही नगरपालिका प्रमुख जोगराज चौधरी, राप्ती गाउँपालिका अध्यक्ष प्रकाश विष्ट, गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेल, लमही नगरपालिका उपप्रमुख लक्ष्मी योगी, राप्ती गाउँपालिका उपाध्यक्ष कमलापति चौधरी, लमही नगरपालिका प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्र बहादुर डाँगी, लमही नगरपालिका कार्यपालिका सदस्य सुनिता चौधरी, लमही नगरपालिका प्रशासन तथा विपद् शाखा प्रमुख गायत्री थापा, लमही नगरपालिका योजना शाखा प्रमुख सुनिता पोख्रेललगायतको सहभागिता रहेको थियो ।
