घोराहीमा ‘सङ्कल्पन’ पुस्तकमाथि चर्चा
‘समाजलाई सही दिशा देखाउने महत्वपूर्ण कृति’
गोरक्ष समाचारदाता
दाङ, १५ चैत । नेपाल पत्रकार महासंघका केन्द्रीय निवर्तमान अध्यक्ष तथा गोरक्ष राष्ट्रिय दैनिकका सम्पादक विपुल पोख्रेलद्वारा लिखित पुस्तक ‘सङ्कल्पन’माथि घोराहीमा चर्चा–परिचर्चा गरिएको छ । चैत ३ गते काठमाडौंमा नेपालका प्रथम राष्ट्रपति डा.रामवरण यादवबाट लोकार्पण गरिएको पुस्तक ‘सङ्कल्पन’को शनिवार घोराहीमा चर्चा–परिचर्चा गरिएको हो ।
गोरक्ष दैनिकको आयोजनामा भएको पुस्तक चर्चा–परिचर्चा कार्यक्रममा बोल्ने वक्ताले विभिन्न समयमा लेखिएका लेखहरूको सङ्ग्रह पुस्तक भए पनि समाजलाई सही दिशा देखाउने महत्वपूर्ण कृति भएको बताएका थिए । लोकतन्त्रको विकल्प सुदृढ लोकतन्त्र नै हो भन्ने सन्देश पुस्तकले स्पष्ट रूपमा प्रस्तुत गरेको उल्लेख गर्दै वक्ताले लेखकले समसामयिक विषय, राजनीतिक परिवेश र पत्रकारिताको भूमिकालाई सरल र प्रभावकारी भाषाशैलीमा प्रस्तुत गरेर लोकतान्त्रिक विधि र प्रक्रियाको असल अभ्यास, सुसंस्कृत समाजको विकाससँगै समाजलाई सकारात्मक दिशातर्फ डो¥याउन पुस्तक उपयोगी हुने धारणा व्यक्त गरेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै लेखकका पिता तथा वीपी चिन्तन केन्द्रका अध्यक्ष विनोद पोख्रेलले विभिन्न समयमा लेखिएका लेखहरू पुस्तकमा समेटिएको भए पनि समय परिस्थिति अनुसार सान्दर्भिक लेखहरू भएको बताए । सङ्कल्पन पुस्तकलाई समयसापेक्ष कृतिका रूपमा व्याख्या गर्दै लेखक तथा साहित्यकारसमेत रहेका पोख्रेलले समसायिक विषयमा लेखहरू लेख्दै पत्रकारले समाजलाई सही दिशातर्फ डो¥याउन भूमिका खेल्नुपर्ने बताएका थिए ।
कार्यक्रममा संविधान सभा सदस्य अनिता देवकोटाले २०७२ सालको संविधान निर्माणका क्रममा भएका विभिन्न विषयसँगै लोकतन्त्रको व्याख्या गर्दै लेखिएका विचारहरूको पुस्तकले विगतको स्मरण गराउँदै लोकतान्त्रिक प्रक्रियालाई सुदृढ बनाउन भूमिका खेल्ने बताइन् ।
गोरक्ष दैनिकका प्रकाशक सूलोचना गौतमको अध्यक्षतामा भएको पुस्तकको चर्चा–परिचर्चा कार्यक्रममा गिरिराज अधिकारीले पुस्तकको समीक्षात्मक टिप्पणी गरेका थिए । साहित्यकार नारायण नेपाल, सकारात्मक सोच दाङका संयोजक एवम् उपप्राध्यापक सुन्दर गौतम, राजनीतिक विश्लेषक सर्जन गौतम, युवा लेखक विपिन आचार्यले पुस्तकका विभिन्न पक्षबारे आफ्ना धारणा राख्दै लेखकलाई समयसामयिक विषय, राजनीति र पत्रकारितासँगै अनुसन्धानमूलक लेखमार्फत् समाजलाई सही बाटोमा डो¥याउन भूमिका खेल्न आग्रह गरेका थिए ।
उनीहरूले लेखकले पुस्तकलाई चार खण्डमा विभाजन गरी समसामयिक विषय, लोकतान्त्रिक अभ्यास, पत्रकारिताको जिम्मेवारी र जेनजी आन्दोलनका विषयलाई गहिरो रूपमा प्रस्तुत गरेको चर्चा गरेका थिए । कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासन, राप्ती साहित्य परिषद्का पूर्वकेन्द्रीय अध्यक्ष पुरुषोत्तम खनाललगायतका वक्ताले लेखककलाई शुभकामना दिँदै सिर्जनात्मक लेखनका माध्यमबाट समाजलाई सुसंस्कृत बनाउन लेखनीलाई निरन्तरता दिन आग्रह गरेका थिए ।
गोरक्ष दैनिकका सल्लाहकार सम्पादक सुदीप गौतमको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण पत्रकार तथा साहित्यकार आदिम केसीले गरेका थिए । कार्यक्रममा लेखक विपुल पोख्रेलले पुस्तक लेखनका क्रममा भोगेका अनुभवहरू साझा गरेका थिए भने लेखक पोख्रेलले रचना गरेको भजन ‘सङ्कट मोचन’ गायक शरद समीपले कार्यक्रममा गाएर सुनाएका थिए । चार खण्डमा विभाजन गरिएको ‘सङ्कल्पन’ पुस्तकमा राजनीतिक सन्दर्भ, पत्रकारिता, नेपालको २०७२ को संविधान निर्माणका महत्वपूर्ण घटनाक्रम तथा जेन–जी आन्दोलनसँग सम्बन्धित विषय समेटिएका छन् ।
