बरघरको अन्तर प्रदेश सम्मेलन हुने
गोरक्ष समाचारदाता
दाङ,१० चैत । दाङमा थारू समुदायको प्रथाजनित संस्था मटावाँ, बरघरहरूको सम्मेलन हुने भएको छ । मटावाँ, बरघर भलमन्सा संघको आयोजनामा चैत २६ र २७ गते दाङको चखौरामा अन्तरप्रदेश सम्मेलन आयोजना गर्न लागिएको हो ।
संघका केन्द्रीय अध्यक्ष एवम् लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री डिल्लीबहादुर चौधरीको अध्यक्षतामा बसेको बैठकले उक्त सम्मेलन गर्ने निर्णय गरेको हो । बैठकले विभिन्न जिल्लामा संगठन विस्तारलाई तीव्रता दिएको जनाएको छ । महासंघका अनुसार दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर र सुर्खेतलगायत जिल्लामा शाखा विस्तार भइसकेको छ ।
संघले स्थानीय तहदेखि प्रदेश सरकारसम्म मटावाँ तथा बरघरसम्बन्धी ऐन निर्माण गर्न दबाब दिँदै आएको छ । सम्मेलनमा लुम्बिनी प्रदेशका करिब पाँच सय मटावाँहरूको सहभागिता रहने आयोजकले जानकारी दिएको छ । सम्मेलनमार्फत् संगठन सुदृढीकरण, अनुभव आदानप्रदान तथा समुदायका मुद्दामा साझा धारणा निर्माण गर्ने लक्ष्य लिएको संघका केन्द्रीय अध्यक्ष चौधरीले जानकारी दिएका छन ।
