Goraksha

National Daily

चारलेन सडक : ‘२२ स्थानमा बक्स कल्भर्ट, आवश्यकता अनुसार मात्रै युटर्न’

खेमराज रिजाल
दाङ, ६ चैत । विशेष परिस्थितिमा सम्पन्न भएको प्रतिनिधि सभा निर्वाचनको समयमा केही दिन सुस्त देखिएको घोराही–तुलसीपुर चारलेन सडक स्तरोन्नतिको काम पुनः तीव्र रूपमा सञ्चालन हुन थालेको छ । निर्माण कम्पनीले पछिल्लो समयमा कल्भर्ट निर्माणलाई प्राथमिकतामा राखेको छ । निर्माण कम्पनीका अनुसार घोराही–तुलसीपुर २१ दशमलव पाँच किलोमिटर सडक खण्डमा कम्तीमा २२ वटा बक्स कल्भर्टहरू निर्माण हुन थालेका छन् । यस अघि ती स्थानमा हिमपाइप बिच्छ्याएर काम चलाइएको थियो ।

निर्माण कम्पनी दिवा बन्दना भगवती जेभीका कन्ट्याक्ट मेनेजर इन्जिनियर सुनिल ढुङ्गानाका अनुसार प्रतिनिधि सभा निर्वाचनमा मतदान गर्न जानु परेकाले केही दिन काम रोकिएको थियो तर अब पूर्ववत अवस्थामा योजनाबद्ध रूपमा काम सुरु भएको छ । निर्माण कम्पनीको कार्यतालिका अनुसार अहिलेको समयसम्म सडक स्तरोन्नतिको भौतिक प्रगति १० प्रतिशतको लक्ष्य थियो तर निर्वाचनका कारण अहिले भौतिक प्रगति आठ प्रतिशत पुगेको छ ।

चुनावमा मत तान्नका लागि नेताको दबाबमा धमाधम काम गरिएको तर चुनावपछि काम सुस्ताएको केही जनगुनासोलाई निर्माण कम्पनीले सहज रूपमा लिएको छ । चुनावमा मत हाल्न जानु पर्ने भएकाले केही दिन काम रोकिएको हो तर कामको गतिले पुनः तीव्रता पाएको निर्माण कम्पनीको दाबी छ । ‘हो, निर्वाचनमा हामी सबै मत खसाल्न आफ्नो क्षेत्रमा पुग्नु परेकाले करिब दुई साता कामले गति लिन नसकेको यथार्थ हो तर नियतले काम रोकिएको होइन’, ढुङ्गानाले भने । कम्तीमा १५ दिन जति काममा अवरोध भएको कम्पनीले जनाएको छ ।

यो साता चारलेन सडक खण्डमा धमाधम कल्भर्ट निर्माणको काम सुरु भएको छ । २१ किमी क्षेत्रमा २२ वटा बक्स कल्भर्ट निर्माण गर्नु पर्दा ती क्षेत्रमा यातायात पास गराउन अस्थायी डाइभर्सन निर्माण गरिएका छन् । यद्यपि कल्भर्ट निर्माणको काम करिब एक महिनामा सक्ने निर्माण कम्पनीको लक्ष्य रहेको छ । ‘निर्वाचन लगत्तै हामीले अहिले कल्भर्ट निर्माणको कामलाई तीव्रता दिएका छौँ, घोराही–तुलसीपुर सडक खण्डमा एकै साथ २२ स्थानमा कल्भर्ट निर्माणको काम सुरु भइसकेको छ’, कन्ट्याक्ट मेनेजर ढुङ्गानाले बताए । यस अघिको डिजाइनमा हिमपाइप कल्भर्ट भए पनि अहिलेको डिजाइनमा भने बक्स कल्भर्ट निर्माण हुने निर्माण कम्पनीले जनाएको छ ।

अर्को जनचासोको विषय भनेको मेडियनसहितको चारलेन सडक खण्डमा सडक पार गर्न कति स्थानमा युटर्न हुने भन्ने पनि छ तर यसलाई निर्माण कम्पनी र सडक डिभिजनले खुलाउन चाहेका छैनन् । सडक डिभिजनका अनुसार करिब एक किलोमिटरको दूरीमा युटर्न हुनेछन् । कहाँ कहाँ युटर्न राख्ने भन्ने निर्णय सम्बन्धित विषयगत समितिले गर्ने डिभिजन सडक कार्यालयले जनाएको छ । आवश्यकताका आधारमा मात्र युटर्न हुने डिभिजन सडक दाङका प्रमुख दीपेन्द्र विष्टले बताए ।

कल्भर्ट निर्माण सम्पन्न भएसँगैे माटो फिलिङ भएको स्थानमा ग्राभेल भर्ने र रोलिङ गर्ने तयारी रहेको बताइएको छ । त्यससँगै आवश्यक स्थानमा नाला निर्माणको काम धमाधम हुने निर्माण कम्पनीले जनाएको छ । कामलाई छिटो छरितो बनाउन कम्पनीको साइट अफिस बेलझुण्डीमा रेडिमेट नाला निर्माणको काम भइरहेको छ । त्यही आधुनिक प्रविधिबाट निर्माण गरिएका पक्की नालाका ब्लकहरूलाई सडक किनाराको नाला राख्ने क्षेत्रमा व्यवस्थापन गरिनेछ ।

‘हामीले बेलझुण्डीको साइट अफिसभित्रै आधुनिक मेसिनको प्रयोग गरी करिब डेढ किलोमिटर सडक क्षेत्रलाई पुग्ने नाला निर्माण गरिसकेका छौँ, ग्राभेलको कामसँगै नाला पनि राखिने छ’, कम्पनीका कन्ट्याक्ट मेनेजर ढुङ्गानाले भने । यो काम हुन करिब एक महिनाको समय लाग्ने निर्माण कम्पनीले बताएको छ । सडक स्तरोन्नतिका लागि आवश्यक पर्ने ग्राभेललगायतका सामग्री पनि व्यवस्थापन भइरहेको छ । कम्पनीको साइट स्थलमै क्रसर मेसिन जडान गरी धमाधम काम भइरहेको छ ।

निर्माणको कामलाई तीव्रता दिन पछिल्लो समस्या भनेको समयमै रुख कटान आदेश नभएको कम्पनीको दाबी छ । यसैगरी सडक स्तरोन्नतिका क्रममा टुटफुट भएका खानेपानीका पाइपलाइन सम्बन्धित खानेपानी उपभोक्ता संस्थाले पुनः व्यवस्थापन गर्न तत्परता नदेखाएका कारण काममा समस्या भएको कम्पनीका आधिकारिक प्रतिनिधिले बताएका छन् । उपभोक्ता संस्थाहरूको अपेक्षा भनेको काटिएका पाइपलाइनको पुनः व्यवस्थापन सडकले गरिदिएहुन्थ्यो भन्ने देखिन्छ । यसैगरी कल्भर्ट निर्माण स्थलमा कहीँ कतै अप्टिकल फाइवर पनि पुनः व्यवस्थापन गर्न दूरसञ्चारले तदारुकता देखाउनु पर्ने अपेक्षा निर्माण कम्पनीको रहेको छ ।

खानेपानीका संरचना जोगाउन अधिक्तम प्रयासकको सहमति

यसैबिच घोराही–तुलसीपुर चारलेन सडक स्तरोन्नतिका क्रममा केही खानेपानी उपभोक्ता संस्थाका पानी वितरण प्रणालीमा पनि समस्या भएपछि बिहिबार यो विषयमा सरोकारवाला खानेपानी उपभोक्ता संस्थाका प्रतिनिधिहरू र निर्माण कम्पनीका प्रतिनिधिबिच जिल्ला प्रशासन कार्यालयमा छलफल भएको छ । छलफल कार्यक्रम प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालको समन्वयमा भएको थियो ।

सडक स्तरोन्नतिका क्रममा केही संस्थाका खानेपानी वितरणका लागि विच्छ्याइएका पाइपलाइनसमेत सामान्य क्षति भएको अवगत गराइएको थियो । यसरी काम अघि बढ्दै जाँदा खानेपानीका थप संरचनामा क्षति पुग्ने भन्दै खानेपानी उपभोक्ताले छलफलमा ध्यानाकर्षण गराएका थिए । छलफलमा प्रमुख जिल्ला अधिकारी अर्यालले सडक स्तरोन्नति पनि तोकिएको मापदण्डमै गर्नु पर्ने अनिवार्य भएकाले न्यूनतम क्षति हुने उपयुक्त विकल्प खोजेर पाइपलाइनको पुनः व्यवस्थापन गर्न निर्माण कम्पनीलाई आग्रह गरेका थिए । उपभोक्ता संस्थाले पनि टुटफुट भएका पाइपलाइनहरू सडकको क्षेत्र बाहिर वैकल्पिक रूपमा दीर्घकालीन व्यवस्थापनको बाटो खोज्न सुझाव दिइएको थियो ।