घोराहीमा निःशुल्क आँखा शिविर सुरु

दाङ,३ चैत । घोराहीमा निःशुल्क दुई दिने आँखा चेकजाँच शिविर सुरु भएको छ । त्रिभुवननगर जेसीज घोराही र रोटरी क्लब अफ दाङको आयोजनामा तथा तिलगंगा नेत्र विज्ञान संस्थान र द फ्रेड होलोज फाउन्डेसनको प्राविधिक सहयोग एवं घोराही–१५ वडा कार्यालयको समन्वयमा आँखा चेकजाँच शिविर सुरु भएको हो ।

शिविरको उद्घाटन गर्दै रोटरी क्लव अफ नेपालका डिष्ट्रिक गर्भनर विनोद कोईरालाले आँखाको स्वास्थ्यलाई प्राथमिकतामा दिएर लागेको बताए । रोटरीलाई आँखाको उपचार गर्ने सस्थाका रुपमा परिचत गराउने उद्देश्य अनुसार आफु लागेको बताए । उमेर बढ्दै जाँदा मानिसहरुमा मोतियाबिन्दुको समस्या बढ्दै जाने समस्या हुने गरेको भन्दै त्यसलाई रोक्नका लागि नियमित चेकजाँच आवश्यक रहेको बताए । उनले भने,‘उमेर बढ्दै जाँदा मानिसमा मोतियाबिन्दुको समस्या देखिने भएकाले निर्मुल पार्न सकिदैन । यसको रोकथामका लागि पहिचान गरेर उपचार गर्ने हो । त्यही कार्यक्रमअन्तर्गत अहिले घोराहीमा शिविर गरेका छौ ।’

रोटरीले एक हजार नागरिकलाई मोतियाबिन्दुको निशुल्क उपचार गर्ने लक्ष्य रहेको भएपनि अहिलेसम्म दुई हजार बढीलाई उपचार दिएको भन्दै डिष्ट्रिक गर्भनर कोईरालाले यसलाई ग्रामीण क्षेत्रसम्म लैजाने बताए । रोजगारीका कारण आफ्ना सन्तान विदेशमा रहँदा अज्ञानता एवं अस्पताल लैजाने कोही नहुँदा आँखाको समस्या बढिरहेकाले वडा वडामा आँखाका समस्या बिरामी पहिचान गर्ने र उपचार गर्ने गरि तिलगंगा अस्पताल, रोटरी क्लव, जेसीजलगायतका संघसस्था समन्वय गरेर वडा वडा शिविरको आयोजना गरिएको बताए ।

त्रिभुनवनगर जेसीजका अध्यक्ष मिनराज भाटको अध्यक्षमा भएको शिविरको उद्घाटन कार्यक्रममा घोराही उपमहानगरपालिका वडा नं. १५का अध्यक्ष रमेश पाण्डेले स्वास्थ्यप्रति सचेत रहन आग्रह गरे । पछिल्लो समय नागरिकले खानपिन र शारिरीक व्यायामप्रति सचेत नहुँदा विभिन्न खाले रोगको संक्रमण बढ्ने क्रम रहेको भन्दै नागरिकलाई स्वास्थ शरिरीका लागि खानपिनसँगै नियमित व्यायाम गर्न आवश्यक रहेको बताए ।

कार्यक्रमको बारेमा रोटरी क्लव दाङका अध्यक्ष रोशन दाहालले जानकारी गराएका थिए । कांर्यक्रम संयोजक आशिष उप्रेतीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा समिर वलीले आस्थापाठ गराएका थिए । कार्यक्रमको सहजीकरण महासचिव चुडामणि पाण्डेयले जानकारी दिएका छन् ।