काठमाडौँ, ३ चैत । नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले प्रतिनिधिसभा सदस्य निर्वाचनबाट प्राप्त दुई तिहाइ नजिकको जनमतलाई राष्ट्रिय स्वतन्त्र पार्टीले गणतन्त्र, संविधान र सङ्घीयता जोगाउँदै देश बनाउने काममा उपयोग गर्न सक्नुपर्ने बताएका छन् ।
नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष विपुल पोखरेलद्वारा लिखित ‘सङ्कल्पन’ पुस्तकको मंगलवार काठमाठौंमा लोकार्पण गर्दै प्रथम राष्ट्रपति यादवले जेनजी युवाहरूको आन्दोलन, परिवर्तन र निर्वाचनको परिणामलाई सबैले स्वीकार गर्नुपर्ने र रास्वपाले त्यसलाई देश बनाउन सदुपयोग गर्न सक्नुपर्नेमा जोड दिएका हुन । ‘विसं २०१५ मा पनि नेपाली कांग्रेसले दुई तिहाइ ल्याएर विपी कोइराला प्रधानमन्त्री हुनुभएको थियो । त्यसले पूरा समय काम गर्न पाएन । हालको जनमत त्यसरी खेर नजाओस’, प्रथम राष्ट्रपति डा यादवले भने,“देश, संविधान, लोकतन्त्र, सङ्घीयता, धर्म निरपेक्ष, समावेशीता सबै बचोस् । संविधानको पालनाको काम होस्, तर आगामी निर्वाचनमा प्रतिपक्ष नरहने गरी आफू मात्रै जित्नुपर्छ भन्ने सोच कसैले राख्नुहुँदैन । प्रतिपक्षविना लोकतान्त्रिक प्रणाली बलियो हुनसक्दैन ।’
गोरक्ष राष्ट्रिय दैनिक प्रकाशक रहेको पुस्तकको लोकापर्ण कार्यक्रमलाई सम्वोधन गर्दै नेपाली कांग्रेसका नेता डा मिनेन्द्र रिजालले गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा बहुमत प्राप्त पार्टीले देशको निर्माणको नेतृत्व लिनुपर्ने र त्यसमा अरु सबै पार्टी र नागरिकले आ–आफ्नो जिम्मेवारी बहन गर्नुपर्नेमा जोड दिए । मुलुकमा विसं २०७४ यता ‘कारोबारी राजनीति’ र गठबन्धनको संस्कार चलिरहेकामा पछिल्लो जनमतले त्यसमा ‘ब्रेक’ लगाएको उल्लेख गर्दै उनले अब विगतका गल्ती नदोहो¥याउँदै मुलुक अगाडि बढ्नुपर्ने धारणा राखेका थिए । राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले लोकतन्त्रमा जिम्मेवारीमा रहेका सबै थप जिम्मेवार हुनुपर्नेमा जोड दिँदै जनताले अनुभूत हुने गरी लोकतन्त्रलाई आत्मसात गर्नुपर्नेमा जोड दिएका थिए । उनले पोखरेलद्वारा प्रकाशित पुस्तकले अखबारी लेखनले पनि विचार निर्माण गर्न सक्छ र कृति बन्नसक्छ भन्ने दृष्टान्त दिएको बताए ।
वरिष्ठ पत्रकार बबिता बस्नेतले ‘सङ्कल्पन’ पुस्तक लेखरूको सङ्ग्रह मात्रै नभएर समयको दस्तावेज पनि भएको टिप्पणी गर्दै युवाहरूको भावना र लोकतन्त्रको सबलीकरणबारे लेखकले दूरदृष्टि प्रस्तुत गरेको बताएकी थिइन । लेखक पोखरेलले समकालीन राजनीति, समाज, लोकतन्त्र, विचार र पत्रकारिताका विषयमा आफूले देखेका समय र सन्दर्भलाई सङ्कलन गरेर पुस्तकका रूपमा ल्याएको बताएका थिए । गोरक्ष दैनिकका सम्पादक पोख्रेलको ‘संकल्पन’ तेश्रो पुस्तक हो । यसअघि पोखरेलको कविता संग्रह ‘बाको अनुहार’ र नेपाली कांग्रेस को इतिहास सम्वन्धी ‘नेपाली कांग्रेसको यात्रा’ पुस्तक प्रकाशित छन् ।