घरदैलोमै जन्म र मृत्यु दर्ताको प्रमाणपत्र

प्रिया स्मृती गजमेर
देउखुरी, ३ चैत । लमही नगरपालिकामा घरदैलोमै नागरिकलाई जन्म र मृत्यु दर्ताको प्रमाणपत्र वितरण गर्न सुरु गरिएको छ । ‘लमही नगर निर्माण महाअभियान’ अन्तर्गत नगरपालिकाले व्यक्तिगत घटना दर्तालाई सहज, छिटो र पहुँचयोग्य बनाउने उद्देश्यले घरदैलोमै पुगेर सेवा प्रदान गर्ने गरि अभियान सुरु गरेको हो ।

नगरपालिकाले जन्म, मृत्यु लगायतका व्यक्तिगत घटनाहरू समयमै दर्ता गराउन नागरिकलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ घरघरमै पुगेर सेवा दिन थालेको छ । अभियानमार्फत नागरिकलाई कार्यालय धाउनुपर्ने झन्झट कम हुने र घटना दर्ता प्रणालीलाई थप प्रभावकारी बनाउने लक्ष्य राखिएको छ । अभियानअन्तर्गत सोमबार लमही नगरपालिका वडा नं. ६ मा केही दिनअघि सवारी दुर्घटनामा परी निधन भएका दीपक पोख्रेल र देउपुर निवासी हरिराम चौधरीको मृत्यु दर्ता गरी परिवारलाई प्रमाणपत्र हस्तान्तरण गरिएको छ । सो अवसरमा दिवंगत पोख्रेलप्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनप्रति समवेदना व्यक्त गरिएको थियो ।

घटना दर्ता कार्यक्रममा नगर प्रमुख जोगराज चौधरी, उपप्रमुख लक्ष्मी योगी, प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्रबहादुर डाँगी तथा वडा अध्यक्ष श्यामनारायण चौधरी, वडा सचिव बिन्तिराम चौधरीलगायतको उपस्थिति रहेको थियो । मृत्यु दर्ताको प्रमाणपत्र हस्तान्तरण गर्दै नगर प्रमुख चौधरीले व्यक्तिगत घटना दर्ता नागरिकका आधारभूत अधिकारसँग प्रत्यक्ष रूपमा जोडिएको विषय भएको बताए । उनले जन्म, मृत्यु, विवाह तथा बसाइँसराइ जस्ता घटनाहरू समयमै दर्ता गराउनु आवश्यक रहेको बताए ।

घरदैलोमै पुगेर सेवा प्रदान गर्दा नागरिकलाई सहजता मिल्नुका साथै सबै नागरिकलाई घटना दर्ताको दायरामा ल्याउन सहयोग पुग्ने लमही नगरपालिकाका उपप्रमुख लक्ष्मी योगीले बताइन । उनका अनुसार हाल जन्म दर्ता र मृत्यु दर्ता सेवा घरमै पुगेर प्रदान गन सुरु गरिएको हो । लमही नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डाँगीका अनुसार नागरिकलाई घटना घटेको ३५ दिनभित्र सम्बन्धित वडा कार्यालयमा पुगेर अनिवार्य रूपमा दर्ता गराउन प्रेरित गर्ने उद्देश्यले अभियान सञ्चालन गरिएको बताए ।