बिजौरी, २ जेठ । तुलसीपुर उपमहानगरपालिका–१९ को थानगाउँमा लटरम्म फलेका कागती पाक्न नपाउँदै बतिलैमा बिक्री भइसकेका छन् । कोरोना संक्रमणको प्रतिरोधात्मक क्षमता बढाउन कागती सेवनको चर्चासँगै लकडाउनको करिब डेढ महिनाको अवधिमा कम्तीमा ६ क्वीन्टल कागती नपाक्दै बिक्री भएको सूर्य जैविक कृषि केन्द्र प्रालिका सञ्चालक रामचन्द्र खड्काले बताएका छन् ।
खड्काले वि.सं. २०७४ सालदेखि थानगाउँमा करिब २२ कठ्ठा जग्गा लिजमा लिएर उन्नत जातको व्यावसायिक कागती खेती गरेका थिए । उनले लगाएका हाइब्रिड जातका कागतीले ६ महिनामै फल दिन थालेका थिए । बर्षमा तीन पटक पाक्ने कागती स्थानीय कागतीभन्दा धेरै रस भएका कारण बजार लैजान नपाउँदै बोटमै बिक्री हुने गरेका थिए । नपाक्दै उपभोक्ताहरु कागती किन्न घरमै आउन थालेपछि उनलाई यो व्यवसायबाट केही घाटासमेत भएको बताएका छन् । यो अवधिमा उनले जम्मा २६ क्वीन्टल कागती बिक्री गरेको बताए ।
‘पाकेर बजारमा लगेर बेच्न पाएको भए प्रतिकिलो १ सय ५० रुपैयाँमा बिक्री हुन्थ्यो, बोटमै नपाक्दै बिक्री गर्दा १ सय २० रुपैयाँमै बेच्नुप¥यो’, सञ्चालक खड्काले भने । एक÷दुई किलो भनेर घरमै किन्न आउने उपभोक्तालाई फर्काउन नमिल्ने भएकाले अहिले बोटमा फूल मात्र रहेको उनको भनाइ थियो । कागतीको बढ्दो मागसँगै उनले थप १० कठ्ठा जग्गा भाडामा लिएर आफ्नो व्यवसाय विस्तार गरेका छन् । हालसम्म ८० लाख रुपैयाँ यो फार्ममा लगानी गरिसकेको बताउने खड्काले अब बेर्ना पनि कलमे बनाएर बेच्ने तयारीमा छन् । बजारमा कागतीको यति धेरै माग भएको अवस्थामा अन्य बेरोजगार युवाहरुले पनि यो व्यवसाय गरुन् भनेर बेर्ना तयार गर्न थालेको पनि उनको भनाइ थियो । स्थानीय सानो जातको कागतीभन्दा यो कागतीमा कम्तीमा चार गुणा बढी रस हुने बताउँदै उनले यसलाई सलाद र अचारका रुपमा पनि उपयोग गर्न सकिने बताएका छन् । सञ्चालक खड्काले आफ्नो व्यवसायलाई राज्यले कुनै अनुदान तथा सहुलियत ऋण सहयोग भने नदिएको बताए ।
बजारमा अर्गानिक बस्तुहरुको माग बढेसँगै उनले पनि अर्गानिक कागती खेती शुरु गरेको बताए । बाँझो जग्गा भाडामा लिएर उनले गाइभैसीको जैविक मल प्रयोग गरी व्यावसायिक कागती खेती शुरु गरेका हुन् । उनको कागती बारीमा सिचाईको पनि राम्रो सुविधा छ । कागतीले राम्रो फल दिँदै गएमा कागतीको जुस बनाएरसमेत बिक्री गर्ने योजना सुनाए । तर यो अभियानलाई कोरोनाले साथ दिएन । किनकि नपाक्दै कागती बिक्री भएपछि जैविक कागती जुस बनाउने उनको अधुरो योजना अर्को बर्षमात्र पूरा हुने बताएका छन् । कलमे बनाएर बेर्नासमेत बेच्ने गरेका उनले बजारमा भएको बेर्नाको मागलाई समेत थेग्न नसकेको बताए ।