दाङ,२९ फागुन । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय अर्थतन्त्रलाई सुदृढ बनाउन धार्मिक, सांस्कृतिक तथा खेल पर्यटनलाई प्राथमिकतामा राखेर प्रदेश सरकारले योजना निर्माण गरिरहेको बताउनुभएको छ ।
राप्ती गाउँपालिकाको नवौँ स्थापना दिवसका अवसरमा शुक्रबार देविकोटमा आयोजना गरिएको कार्यक्रमको उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले धार्मिक, सांस्कृतिक तथा खेल पर्यटन प्रवद्र्धनका लागि पूर्वाधार विकाससँगै सामाजिक विकासलाई पनि प्राथमिकतामा राखिएको बताउनुभएको हो । उहाँले देविकोट क्षेत्रको धार्मिक तथा ऐतिहासिक महत्व उल्लेख गर्दै यहाँ पर्यटकहरूको आवागमन बढाउन आवश्यक पूर्वाधार विकासमा प्रदेश सरकारले ध्यान दिने बताउनुभयो ।
‘यो ठाउँको महिमा धेरै छ । स्वस्थानी व्रतकथामा आधारित यो स्थान पवित्र भूमि हो । यहाँ पर्यटकहरूको आवागमन बढाउन सकिन्छ’,मुख्यमन्त्री आचार्यले भन्नुभयो,‘प्रदेश सरकारले यहाँसम्म आउने सडकलाई सधैं सञ्चालनयोग्य बनाउन बहुवर्षीय योजनामा राखेर काम गर्छ । साथै मन्दिरको जीर्णोद्धार र संरक्षणमा पनि विशेष ध्यान दिइनेछ ।’ कार्यक्रममा लुम्बिनी प्रदेशका युवा तथा खेलकुद मन्त्री सन्तोषकुमार पाण्डेले खेललाई पर्यटनसँग जोडेर प्रदेश सरकारले कार्यक्रम सञ्चालन गरिरहेको बताउनुभयो । उहाँले युवाहरूको चाहनाअनुसार खेल पूर्वाधार निर्माण, खेल सामग्री व्यवस्थापन तथा दक्ष खेलाडी उत्पादनका लागि प्रशिक्षण कार्यक्रमलाई तीव्रता दिइएको जानकारी दिनुभएको थियो ।
लुम्बिनी प्रदेशका पूर्वमन्त्री तथा प्रदेशसभा सदस्य इन्द्रजीत थारुले प्रदेश सरकार गठनपछि दुर्गम बस्तीहरूमा आधारभूत विकासका पूर्वाधार विस्तार भएको बताउनुभएको थियो । राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश बिष्टले कार्यशैली परिवर्तन गर्दै सेवा प्रवाहलाई अझ प्रभावकारी बनाइने बताउनुभयो । उहाँले कार्यसम्पादनका आधारमा राप्ती गाउँपालिका देश तथा जिल्लामै उत्कृष्ट रहेको उल्लेख गर्दै उक्त उपलब्धिलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।
देविकोट दर्शन दौडः पुरुषतर्फ बुढा र महिलातर्फ न्यौपाने प्रथम
यसैविच राप्ती गाउँपालिका स्थापना दिवसका अवसरमा आयोजना गरेको प्रथम खुला पुरुष तथा महिला क्रसकन्ट्री दौड प्रतियोगितामा पुरुषतर्फ डोल्पाका अर्जुन बुढा र महिलातर्फ जुम्लाकी पूर्णलक्ष्मी न्यौपाने प्रथम हुनुभएको छ । प्रतियोगितामा पुरुषतर्फ अर्जुन बुढाले २५ मिनेट ४४ सेकेन्डमा दौड पूरा गर्दै पहिलो स्थान हासिल गर्नुभएको हो । त्यसैगरी जुम्लाका चन्द्र रावत ३४ मिनेट ४१ सेकेन्डका साथ दोस्रो तथा जुम्लाकै युवकराज बुढा ३६ मिनेट ५१ सेकेन्डमा दुरी पार गर्दै तेस्रो स्थानमा हुन सफल हुनुभएको थियो ।
प्रतियोगिताम दाङ तुलसीपुरका विशालकुमार महत ४० मिनेट ४ सेकेन्डमा चौथो, गोरखाका सञ्जय श्रेष्ठ ४१ मिनेट १७ सेकेन्डमा पाँचौँ र दार्चुलाका अक्कल पाल ४१ मिनेट १७ सेकेन्डमा दौड पूरा गर्दै छैटौँ स्थानमा हुन सफल हुनुभएको थियो । प्रतियोगिता महिलातर्फ कर्णालीकी पूर्णलक्ष्मी न्यौपानेले ४८ मिनेट ३ सेकेन्डमा दौड पूरा गर्दै पहिलो हुन सफल हुनुभएको छ । त्यसैगरी जुम्लाकै कल्पना बुढा ५० मिनेट ३ सेकेन्डमा दोस्रो, जुम्लाकै सन्देवा बुढा ५२ मिनेट २४ सेकेन्डका साथ तेस्रो स्थानमा हुनुभएको हो । त्यसैगरी जुम्लाकी सुन्तली पाण्डे ५८ मिनेट १८ सेकेन्डमा चौथो, सुदूरपश्चिमकी सरस्वती भट्टराई ५८ मिनेट ६ सेकेन्डमा पाँचौँ र जुम्लाकी अन्तिमा बुढा ५९ मिनेट २१ सेकेन्डमा दुरी पार गर्दै छैटौँ स्थानमा हुन सफल हुनुभएको थियो ।
प्रतियोगितामा प्रथम हुनेलाई ५० हजार, द्वितीय हुनेलाई ४० हजार र तृतीय हुनेलाई ३० हजार र अन्यलाई पाँच हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको थियो । बिजेता खेलाडीलाई लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यलगायतले पुरस्कार वितरण गर्नुभएको थियो ।