अन्तर्राष्ट्रिय महिला दिवस : महिलाका लागि आँखा स्वास्थ्य महत्वपूर्ण

गोरक्ष समाचारदाता
तुलसीपुर, २५ फागुन । नेपाल नेत्रज्योति संघ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगन्जले ११६औँ अन्तर्राष्ट्रिय महिला दिवस मनाएको छ । ‘सबै महिला र बालिकाको लागि अधिकार, न्याय र कार्यसहितको अवसर’ भन्ने मूल नाराका साथ राप्ती आँखा अस्पतालमा कार्यक्रमको आयोजना गरी अन्तर्राष्ट्रिय महिला दिवस मनाएको हो ।

नेपाल नेत्रज्योति संघ दाङका सभापति कृष्णकुमार गिरीको अध्यक्षता भएको कार्यक्रममा ११६औँ अन्तर्राष्ट्रिय महिला दिवसको सन्दर्भमा आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगन्जका प्रमुख प्रशासक डा. सम्शेर थापाले महिला र आँखा स्वास्थ्य सेवा चुनौती र अवसर विषयक कार्यपत्र प्रस्तुत गदै महिलाको स्वास्थ्यका विभिन्न पक्षमध्ये आँखा स्वास्थ्य अत्यन्त महत्वपूर्ण भएको र स्वस्थ दृष्टिविना महिलाको शिक्षा, रोजगारी, परिवारको जीवन र सामाजिक सहभागिता प्रभावकारी रूपमा सम्भव हुन नसक्ने उल्लेख गरे ।

डा. थापाले विश्वव्यापी रूपमा हेर्दा महिला पुरुषका तुलनामा दृष्टिदोष तथा दृष्टिविहिनताबाट बढी प्रभावित हुने तथ्य विभिन्न अध्ययनले देखाएको प्रस्तुत गरेको कार्यपत्रमा उल्लेख छ । यही प्रवृत्ति नेपालमा पनि देखिएको तर सकारात्मक पक्ष विगतका वर्षमा महिलामा आँखा स्वास्थ्य सेवाको पहुँच र सहभागिता बढ्दै गएको उनले बताए ।

विश्वमा आँखा स्वास्थ्यको अवस्था चुनौतीपूर्ण रहेको र विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभर करिब दुई दशमलव दुई अर्ब मानिस कुनै न कुनै प्रकारको दृष्टिदोषबाट प्रभावित रहेको उनले बताए । ‘विश्वमा करिव एक अर्ब मानिस यस्ता छन् जसको दृष्टिदोष वा दृष्टिविहिनता रोकथाम गर्न सकिने वा उपचार गर्न सकिने भए तापनि आवश्यक उपचार नपाई दृष्टि समस्यासँगै जीवन बिताइरहेको अनुमान गर्न सकिन्छ’, डा.थापाले भने ।

विश्वव्यापी अध्ययनका अनुसार दृष्टिदोष भएका मानिसमध्ये झन्डै ५५ प्रतिशत महिला रहेका छन् । यसको प्रमुख कारणमा महिलाको औसत आयु बढी हुनु, स्वास्थ्य सेवामा पहुँच कम हुनु, आर्थिक निर्भरता तथा सामाजिक कारण रहेको उनले बताए । नेपालमा पनि आँखा स्वास्थ्य क्षेत्रमा उल्लेखनीय प्रगति भए पनि अझै धेरै महिला समयमै उपचार नपाइरहेको अवस्था र आँखा स्वास्थ्य सेवा सबैका लागि समान रूपमा उपलब्ध गराउनु आवश्यक रहेको थापाले बताए । विशेष गरी महिलाहरूका लागि समुदायस्तरमै आँखा जाँच, उपचार तथा सचेतना कार्यक्रम सञ्चालन गर्नु आवश्यक रहेको उनले बताए ।

नेपालको संविधान २०७२ ले प्रत्येक महिलालाई सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्यसहित गुणस्तरीय स्वास्थ्य सेवामा समान पहुँचको अधिकार सुनिश्चितता गरेको भए तापनि व्यवहारमा अझै महिलाहरू आर्थिक अवस्था, चेतनाको कमी, सामाजिक संरचना तथा स्वास्थ्य सेवामा पहुँचको अभावका कारण समयमै आँखा उपचार सेवा लिन नसकेको उनले बताए ।

कार्यक्रममा बोल्दै नेपाल नेत्रज्योति संघका केन्द्रीय सदस्यसमेत रहेका कृष्णकुमार गिरीले नेपाल नेत्रज्योति संघ अन्तर्गतको २८ वटा आँखा अस्पताल र दुई सय ५० बढी आंखा उपचार केन्द्रले देश र छिमेकी राष्ट्रका सेवाग्राहीलाई सेवा प्रदान गर्दे आएको बताए ।

आँखा उपचार सेवामा महिलाहरूको सहभागिता उल्लेखनीय देखिएको गिरीले बताए । नारीहरू आफँैमा शक्तिशाली भएको भन्दै नेपालको संविधान २०७२ ले महिलालाई समानुपातिक सहभागिता, सम्पत्तिमा समान हक र सकारात्मक विभेदका आधारमा विशेष अवसरको प्रत्याभूति गरेको बतउँदै गिरीले महिलाको शिक्षा, स्वास्थ्य, रोजगारी र सामाजिक सुरक्षामा विशेष हक, समान कामका लागि समान पारिश्रमिक र प्रजनन् स्वास्थ्यको अधिकार सुनिश्चितता गरिएको बताए ।

उनले पहिलेको समाज र अहिलेको समाज क्रमशः सुधार भएको बताए । ‘हिजो महिलाहरू घर बाहिर निस्कनु हुँदैन भन्ने थियो तर अहिले महिलाले राष्ट्रको महत्वपूर्ण जिम्मेवारी निर्वाह गरिरहनु भएको छ’, गिरीले भने ।

कार्यक्रममा नेपाल नेत्रज्योति संघ दाङ शाखाका कोषाध्यक्ष श्यामप्रकाश आचार्य, सहकोषाध्यक्ष प्रणवकुमार खड्का, सदस्यहरू सुरेन्द्रबहादुर खड्का, ताराप्रसाद पोख्रेल, राप्ती आँखा अस्पतालका मेसु सहायक प्राडा रन्जितकुमार शाह, नेत्र विशेषज्ञ डा. क्षमता सुवेदी, बरिष्ठ प्रशासकीय अधिकृत जसराज विश्वकर्मा, मूल्याङ्कन तथा अनुगमन अधिकृत शालिकराम गौतम, अस्पताल व्यवस्थापक शशि लामिछाने, नेत्रज्योति प्राविधिक शिक्षालयका लेखा तथा प्रशासन प्रमुख प्रेमाकुमारी सापकोटा, नेत्रसहायक चन्द्रकला अर्याल, सरिता केसीलगायले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । नेपाल नेत्रज्योति संघ दाङ शाखाका सचिव घनश्याम सुवेदीले स्वागतसहित अन्तराष्ट्रिय नारी दिवसबारे प्रकाश परेका थिए ।