निर्भीकताका साथ मतदान गर्ने वातावरण निर्माण गर्न जोड

गोरक्ष समाचारदाता
दाङ, १९ फागुन । आसन्न निर्वाचनमा निर्भीकताका साथ मतदानको वातावरण निर्माण गर्न सरोकारवाला पक्षसँग आग्रह गरेका छन् । घोराहीमा सोमवार भएको एक कार्यक्रमका सहभागीले निर्वाचनलाई लोकतन्त्रको महत्वपूर्ण पिलरका रूपमा चर्चा गर्दै नेपालको लोकतन्त्रलाई सवल बनाउन र अहिले युवासहित आमनागरिकबाट उठेका सवालहरूलाई सम्बोधन गर्ने वैधानिक मार्ग निर्वाचन भएको बताएका थिए ।

पत्रकार महासंघको सभाकक्षमा भएको छलफलमा बोल्दै द्वन्द्व व्यबस्थापन तथा सुरक्ष विज्ञ शोभाकर बुढाथोकीले अहिल नागरिक स्तरमा देखिएको निराशालाई सम्बोधन गर्ने मार्गका रूपमा निर्वाचनलाई चित्रण गरेका थिए । ‘नागरिकले निर्धक्कका साथ मतदानको वातावरण गर्न सक्ने अवस्था निर्माण भए मात्र भोलिका दिनमा देशले गति पाउँछ’, उनले भने, ‘निर्वाचनको निष्पक्षता र मतदातालाई विवेकपूर्ण मतदानको सुनिश्चितता भए नभएको हेर्न यो निर्वाचनमा अनुगमनको निकै महत्व रहनेछ । यसकारण हामी अनुगमनका लागि समेत तयार हुनु परेको छ ।’

यसैगरी मानव अधिकारवादी कृष्णप्रसाद गौतमले निश्चित सीमाभित्र रहेर गरिने अनुगमनले निर्वाचनको महत्व बढाउने र मतदातामा आत्मविश्वास बढ्ने विश्वास व्यक्त गरे । मतदातपूर्व, मतदानको दिन र मतगणना तथा परिणाम सार्वजनिक हुँदासम्म अनुगमनको काम गर्ने तयारीमा आफूहरू जिल्लामा आएको बताउँदै गौतमले निर्वाचन प्रक्रियामा पहिलेको तुलनामा केही सकारात्मक परिवर्तन भएको चर्चा गरेका थिए तर नयाँ चुनौती देखिएका छन्, सबैलाई गम्भीरतापूर्वक सम्बोधन गर्दै शान्तिपूर्ण र त्रासरहित निर्वाचनको वतावरण बनाउन सबै लाग्नु पर्ने बताए ।

नेपाल पत्रकार महासंघका निर्वातमान अध्यक्ष विपुल पोख्रेलले निर्वाचनमा होमिएका नयाँ पक्षको अपरिपक्वता र पुराना पक्षको दम्भले यो निर्वाचनमा नयाँ चुनौती त थप्ने हैन भन्ने प्रश्न उठाए । उनले निर्वाचनसँग जोडिएका राज्यका संरचनाको जिम्मामा मात्र सबै कुरा छाड्न नहुने चर्चा गर्दै नागरिक समाज, अधिकारकर्मीले निर्वाचन सम्पन्न गर्ने सवालमा नागरिकको दायित्व के हुने भन्ने कुरामा समेत छलफल गर्नु पर्ने बताएका थिए ।

उनले निर्वाचनको समयलाई मुद्दामाथिको बहसका लागि उपयुक्त समयका रूपमा लिन आग्रह गरे । पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासनले पत्रकारिता क्षेत्रले निर्वाचनको सन्दर्भमा सचेतना र खबरदारी गरी दुवै भूमिका निर्वाह गर्दै आएको बताए । उनले भने अस्थिर सरकार अहिलेको समस्या भएको भएको चर्चा गर्दै निर्वाचनका समयमा स्थिर सरकार दिनसक्ने उपायमाथि पर्याप्त बहस हुनु पर्ने बताएका थिए ।

छलफलमा नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सन्तोष सुवेदीले जिल्लामा पत्रकारमाथि केही धम्की आए पनि महासंघको सहजीकरणमा त्यसलाई निरुपण गरिएको जानकारी दिदै मतदाता शिक्षा र मतदाता सुरक्षाका सन्दर्भमा अझै काम गर्नु पर्ने बताए । अधिकारकर्मी प्रकास ज्ञवालीले मतदाताको आत्मविश्वास बढाउने र विवेकपूर्ण मतदानको वातावरण बनाउने सन्दर्भमा निर्वाचन पर्यवेक्षक र पत्रकारले अझै खबरदारी गर्नु पर्ने बताए ।

नागरिक समाज दाङका सचिव नारायाणप्रसाद श्रेष्ठले अशक्त मतदाताका सन्दर्भमा राज्य अझै उदार हुन नसकेको पाइएको बताए । महिला मानव अधिकार सञ्जालका अध्यक्ष अनिता पोख्रेलले मानव अधिकारको पक्षबाट मतदाताको सुविधा र सहजताका लागि अझै काम गर्न बाँकी रहेको बताइन् । पत्रकार आभाष बुढाथोकीले चुनावका समयमा सत्ता प्राप्तिको अपेक्षा गर्ने र सत्ता गुमाउने पक्षबिच द्वन्द्व हुन सक्नेतर्फ सचेत हुनु पर्ने बताए । मानव अधिकारकर्मी विनोद केसीले कार्यक्रमको सहजीकरण गर्दै निर्वाचनको समयमा अनुगमनको महत्व र अनुगमनकर्ताको दायित्वबारे चर्चा गरेका थिए ।